फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आउने करिब १०० घरधुरी जलारी समुदाय छन्। पोखरा महानगरले जलारीलाई माछा मार्न अनुमतिपत्र प्रदान गरेको छ।
पोखरा– फेवातालको किनारमा रहेका जलारी समुदायका लागि माछा मार्ने पेसा पुर्ख्यौली परम्परा मात्र होइन, जीविकोपार्जनको आधार पनि हो। तर, अहिलेका जलारी युवाहरूको रुचि भने पुर्ख्यौली पेसाभन्दा वैकल्पिक पेसा एवं रोजगारीतर्फ हुन थालेको छ।
जलारी पोखराको फेवाताल आसपास बसोबास गर्दै आएको परम्परागत माछा मार्ने समुदाय हो। उनीहरूले आफ्नो मुख्य पुर्ख्यौली पेसा माछा मारेर र बेचेर जीविकोपार्जन गर्दै आइरहे पनि माछा उत्पादनमा आएको कमी, बजार व्यवस्थापनमा चुनौती र आधुनिक जीवनशैलीप्रतिको आकर्षणले यो समुदायको युवाले पुर्ख्यौली पेसाप्रति कम रुचि देखाउन थालेका हुन्।
जलारी मत्स्य सहकारी संघका अध्यक्ष ज्ञानबहादुर जलारीले परिवर्तित समयसँगै जलारी युवा पनि अन्य क्षेत्रतर्फ आकर्षित हुँदै गएको बताए। “अहिलेका युवाहरू पढेलेखेको र यो बाहेकका पेसामा पनि आफ्नो भविष्य देख्न थालेपछि उनीहरूको पुर्ख्यौली पेसामा सीमित हुन चाहेका छैनन्, अर्कोतर्फ तालमा माछा उत्पादन घट्दै जान थालेपछि जीविकोपार्जनमा पनि समस्या हुन थाल्यो,” उनले भने। आफ्नो परम्परा र पुर्ख्यौली पेसामा नै आफ्नो समुदायका लागे हुन्थ्यो भन्ने लागे पनि पुस्ता हस्तान्तरण गरेर यसमा टिकाउन त्यति सहज नभएको उनको भनाइ छ। “आजका युवाहरूमा पुर्ख्यौली पेसाप्रति एक प्रकारको उदासीनता छ। तालको वातावरणीय संकट र पेसाबाट आउने आर्थिक समस्याका कारण उनीहरूले पुर्ख्यौली पेसामा रुचि देखाउन छाडेका छन्,” ज्ञानबहादुरले भने।
जलारी समुदायलाई पेसामा टिकाइराख्नको लागि राज्यस्तरबाटै व्यावसायिक प्रविधिको प्रयोग, ताल संरक्षण र सहकारीले माछा उत्पादनमा लगानी गर्नसक्ने दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ छ। “युवा पुस्तालाई ताल र समुदायसँग जोड्न तालको दिगो व्यवस्थापन र आर्थिक रूपमा लाभप्रद बनाउनेतर्फ ध्यान दिन सकिएमा मात्र यो पेसा दिगो रूपमा बचाउन सकिन्छ,” उनले भने। फेवाताल किनारमै जन्मे हुर्केर बाबुबाजेसँगै माछा मार्ने पेसालाई नजिकबाट नियालिरहेका २० वर्षीय राजीव जलारी अहिले वैदेशिक रोजगारीको तयारीमा छन्।
“मेरै बुबा–हजुरबुबाको पुर्ख्यौली पेसा भए पनि म यसमा राम्रो भविष्य देख्दिन, यो हाम्रो पुर्ख्यौली पेसा हो, माछा मारेर हाम्रो परिवारले पुस्तौँदेखि जीविकोपार्जन गर्यो तर अहिले म यसमा भविष्य नदेखेर विदेश जाने तयारीमा छु,” राजीवले भने, “माछा घट्दै गएको छ, ताल प्रदूषित छ, अनि तालमै निर्भर हाम्रो समुदाय आर्थिक रूपमा सक्षम हुन सकेको छैन।”
हर्पन फेवा मत्स्य सहकारी संस्थाका पूर्वअध्यक्ष एवं साइनो किचनका सञ्चालक शैलेन्द्र जलारीले आफ्नो समुदायको परम्परागत पेसालाई निरन्तरता दिन खोजे पनि आउने पुस्ताले रुचि देखाउन छाडेको बताए। “पुर्ख्यौली पेसाप्रति हाम्रो अगाध प्रेम र लगाव छ तर तालको संरक्षण र माछा उत्पादन बढाउन ठोस् कदम नहुँदा वैकल्पिक पेसातर्फ युवाको आकर्षण बढ्न थालेको छ।” समुदायको पेसालाई जोगाउन सरकारी तथा गैरसरकारी निकायबाट ताल संरक्षण र माछा उत्पादनको दीर्घकालीन योजना बनाइनुपर्नेमा जोड उनको जोड छ।
माछा उत्पादन बढाउन पोखरा महानगरपालिका र अन्य केही संस्थाले प्रयास गरे पनि ती प्रयास प्रभावकारी हुन नसकेको उनको भनाइ छ। “तालमा माछाका भुरा छोड्न केही प्रयास भए पनि समुदायले व्यावसायिक रूपमा माछा उत्पादनको विकास गर्न पर्याप्त स्रोत र सीप पाएका छैनन्। यो पेसा दिगो रहनका लागि व्यावसायिक उत्पादन, तालको उचित संरक्षण, र प्रविधिगत सुधार आवश्यक हुन्छ।” जलारी समुदायको परम्परागत पेसा जोगाउन जैविक विविधता, आर्थिक स्थायित्व र ताल संरक्षणका लागि दीर्घकालीन समाधान रणनीति आवश्यक रहेको उनको भनाइ छ। फेवातालमा परम्परागत माछा मार्ने पेसा कठिनाइसँग जुधिरहेको बताउँछन्, स्थानीय राजु जलारी। “मैले छ/सात वर्षदेखि माछा मार्न छोडेको छु। अहिले माछा खरिद गरेर विक्री वितरण गर्दै छु तर तालमा माछा उत्पादन घट्दा यो व्यवसाय गर्न पनि अझै गाह्रो हुँदै गएको छ,” उनले भने। उनका अनुसार कुनै समय दिनमै १५० किलो माछा मारेको अनुभव छ तर अहिले मुस्किलले एक/दुई किलो मार्न पनि समस्या छ।
आफ्नो २० वर्षीय छोराले पनि पुर्ख्यौली पेसामा भविष्य नदेखेपछि विदेश जान तयारीमा रहेको बताउनुभयो। “आर्थिक रूपमा सुरक्षित भविष्य नदेखेपछि नयाँ पुस्ताले वैकल्पिक पेसा रोज्न थालेका छन्, योसँगै जलारी समुदायको परम्परागत पहिचान हराउने खतरा पनि बढेको छ। ”आफ्नो पुर्ख्यौली पेसालाई आत्मसम्मानका साथ निरन्तरता दिन चाहे पनि पछिल्लो समय धेरै चुनौती थपिएको उहाँको भनाइ छ। नयाँ प्रविधि र व्यावसायिक दृष्टिकोणबाट माछा पालनलाई मजबुत बनाउन सकेमा जलारी समुदायको परम्परागत पेसा बच्ने र आत्मसम्मानका साथ नयाँ पुस्ताले अँगाल्ने बताउनुभयो। प्राकृतिक रूपमा माछा उत्पादन गर्ने क्षमतामा आएको कमी, वातावरणीय असन्तुलन, प्रदूषण यसका प्रमुख कारण हुन्। यसले गर्दा माछा मार्ने पेसाबाट निरन्तरता नपाइने भएकाले नयाँ पुस्ताका लागि यो पेसा आकर्षक नरहेको उहाँको बुझाइ छ।
मत्स्य अनुसन्धान केन्द्र, पोखराका वरिष्ठ वैज्ञानिक डा मोहम्मद अकबाल हुसेनले जलारी समुदायका युवाको अन्य पेसा व्यवसायप्रति रुचि बढ्नु स्वाभाविक भए पनि परम्परागत माछा पालनलाई आधुनिक र व्यावसायिक बनाउन सकेमा युवाहरू पुनः यस पेसातर्फ आकर्षित गराउन सकिने बताए। उनले भने, “जलारी समुदायको हितका लागि आधुनिक सीप र प्रविधि आवश्यक छ, परम्परा र आधुनिकतालाई समन्वय गरेर आर्थिक सशक्तीकरणसँगै दिगोपना खोज्न नयाँ पुस्तालाई परम्परागत पेसाप्रति सकारात्मक दृष्टिकोण बनाउनुपर्छ।”
पोखरा महानगर आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले जलारी समुदायको पुर्ख्यौली पेसा संरक्षण र उनीहरूको जीवनस्तर उकास्न महानगर तयार रहेको बताए। “जलारी समुदायका युवा पुस्ताको रुचि बढाउन र आवश्यक सीपका लागि तालिमको आवश्यकता समुदायले गरेमा महानगर साझेदारी गर्न तयार छ,” उनले भने। युवा पुस्तालाई तालसँग जोड्न माछा उत्पादन बढाउन, ताल संरक्षणमा ध्यान दिन र आधुनिक तरिकाबाट आर्थिक रूपमा लाभप्रद बनाउने उपायहरूको खोजी नै उत्तम विकल्प हुनसक्ने उनको भनाइ छ।
अहिले फेवातालमा माछा मारेर जीविकोपार्जन गर्दै आउने करिब १०० घरधुरी जलारी छन्। पोखरा महानगरले जलारी समुदायलाई माछा मार्न अनुमतिपत्र प्रदान गरेको छ। तोकिएको स्थानमा जलारी समुदायले माछा मार्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
