दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता

दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्ग निर्माण सन् २०२२ मा शुरू भएको थियो।

चीनको दक्षिणी शहर शेन्जेनमा एउटा प्रमुख रेलमार्ग निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएका छन्। 

बाओआन जिल्ला विपत् व्यवस्थापन विभागका अनुसार शेन्जेन–जियाङमेन रेलमार्ग निर्माणस्थलको एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन्।

बेपत्ताको खोजी कार्य बिहीबार बिहानदेखि जारी रहेको र दुर्घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताइएको छ। विपत् व्यवस्थापन विभागका अनुसार अधिकारीहरूले नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।

उद्धारकार्यका लागि बिहीबार घटनास्थल नजिकका प्रमुख द्रुत रेलमार्ग बन्द गरिएको छ।

दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्ग निर्माण सन् २०२२ मा शुरू भएको थियो।

कमजोर नियमन र फितलो सुरक्षा मापदण्डका कारण हुने औद्योगिक दुर्घटनालाई चीनमा सामान्य रूपमा लिने गरिएको छ। गत अगस्टमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा भएको खानी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको थियो।