एनपीएलः सुदूरपश्चिमको दोस्रो जित, काठमाडौँ ७३ रनले पराजित

एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गरेको छ। 

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गरेको छ। 

राजधानीमा जारी प्रतियोगितमा सुदूरपश्चिमको यो दोस्रो जित हो। सुदूरपश्चिमले यसअघि विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो। काठमाडौँको भने यो दोस्रो पराजय हो। तीन खेल खेलेको काठमाडौँले यसअघि एक खेलमा विजयी भएको थियो।

बिहीबार दिनको दोस्रो खेलमा सुदूरपश्चिमले जितका लागि दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ १५.५ ओभरमा ९४ रन बनाउँदै अलआउट भयो।

काठमाडौँका लागि स्टिफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए। उनले ३३ बलमा १ छक्का र ५ चौका प्रहार गरे। सुमित महर्जनले १४, भीम सार्की र गेरहार्ड इरासमसले समान १०/१० र प्रतीक श्रेष्ठले ८ रन बनाए। 

काठमाडौँका लागि माइकल लेविटले ५, शंकर राणाले ३, रासिद खानले २ रन बनाउँदा कप्तान करण केसी, नाथन सोटर र शाहब आलमले समान १/१ रन मात्र बनाउन सके। यो खेलमा काठमाडौँले अतिरिक्त २ रन पायो। 

सुदूरपश्चिम रोयल्सका लागि नरन साउदले सर्वाधिक ५ विकेट लिए। अभिनास बोहोराले २ विकेट लिँदा ब्रान्डन म्याकमुलेन र सैफ जैबको नाममा समान १/१ विकेट लिए। 

त्यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनको अर्धशतक प्रहार गरे। उनले ३६ बलमा ४ छक्का र ३ चौकाको मद्दतले सर्वाधिक ५४ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले २५ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ४२ रन जोडे। 

यस्तै, विनोद भण्डारीले ३५, सैफ जैबले ११, रोहन मुस्तफाले ४ र आरिफ सेखले ३ रन बनाए। स्कट कुग्गेलिजनले ७ र इसान पाण्डेले १ रनमा अविजित रहे।

काठमाडौँका लागि रासिद खानले सर्वाधिक २ विकेट लिए। गेरहार्ड इरासमस, शाहब आलम र कप्तान करण केसीका नाममा १/१ विकेट रह्यो।