सहरीकरणतर्फउन्मुख रामपुर नगरपालिका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको बीच भागमा पर्छ। मैदानसँगै आवश्यक पूर्वाधार निर्माण गर्न सके थुप्रै खेलाडी उत्पादन गर्न सकिने भलिबल खेलाडी कल्पना सिञ्जाली बताउँछिन
पाल्पा- चार जिल्लाको केन्द्रीय भागमा रहेको पाल्पाको रामपुरमा खेलकुदको प्रशस्त सम्भावना छ। यहाँका पूर्वाधारलाई व्यवस्थित गर्न सके राष्ट्रियस्तरका थुप्रै प्रतियोगिता सञ्चालन गर्न सकिन्छ। तर यहाँका खेल मैदान व्यवस्थित छैनन्।
सहरीकरणतर्फउन्मुख रामपुर नगरपालिका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको बीच भागमा पर्छ। मैदानसँगै आवश्यक पूर्वाधार निर्माण गर्न सके थुप्रै खेलाडी उत्पादन गर्न सकिने भलिबल खेलाडी कल्पना सिञ्जाली बताउँछिन्। उनले भनिन्, “भविष्यमा राम्रो खेलाडी बन्ने सपना छ, तर रामपुरमा खेल्ने वातावरण अझै बनिसकेको छैन।”
उनले बुटवल, नेपालगञ्ज, गोरखा, पोखरा, म्याग्दीलगायत ठाउँमा विभिन्न प्रतियोगिता खेलिसकेकी छिन्। “आफ्नै गाउँ ठाउँमा राम्रो खेल मैदान छैन, अभ्यास गर्ने वातावरण नहुँदा प्रतिस्पर्धा गर्न समस्या छ, खेलाडीलाई कहिँबाट प्रोत्साहन छैन, स्थानीय सरकारले राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्नसक्ने वातावरण बनाउनुपर्छ,” उनले भनिन्।
रामपुर क्षेत्रमा महिला खेलाडी भलिबलमा मात्रै सीमित बनेका छन्। पुरुषका लागि भने नगरस्तरबाट विभिन्न खेल प्रतियोगिता आयोजना हुँदै आएका छन्। खेलमा महिलाको आकर्षण भए पनि नगरमा भलिबल खेलमात्रै खेलाइने गरेको नगर खेलकुद विकास समितिका सचिव सञ्जु परियारले बताए।
“विद्यालय तहमा हुने विभिन्न खेलमा महिलाको सक्रियता राम्रो रहेको पाइएको छ, जिल्लास्तरमा भने महिला खेलाडी प्रतिस्पर्धात्मक रुपमा पुग्न सकेका छैनन्”, उनले भने। स्थानीयस्तरमा नै बलियो आधार खडा हुनुपर्ने र पुरुषजस्तै महिलाका लागि पनि विभिन्न प्रतियोगिता आयोजना गर्नुपर्ने उनको भनाइ छ।
खेल खेल्ने मैदान प्रशस्त छन्। पूर्वाधार विकास नहुँदा खेलकुदको विकास हुन नसकिरहेको जिल्ला भलिबल संघ सदस्य कमल राना बताउँछन्। “खेलमैदान व्यवस्थित छैन, तालिमको व्यवस्था छैन, खेलमा राम्रो गर्छु भन्ने दृढ इच्छा भए पनि वातावरण, पूर्वाधार नै व्यवस्थित नहुँदा सोंचेजति खेलाडी उत्पादन गर्न सकिएको छैन,” उनले भने।
यहाँबाट फुटबलतर्फ सी डिभिजन, भलिबलमा जिल्ला तथा प्रदेश र तेक्वान्दोमा राष्ट्रियस्तरका खेलाडी उत्पादन भएका छन्। हरेक पालिकामा क्षेत्रीय र प्रदेशस्तरका खेलकुदका कार्यक्रम हुने पूर्वाधार तयार पारियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादन हुने राना बताउँछन्।
“प्रोत्साहन नगरिँदा भविष्यमा राम्रो सम्भावना बोकेका खेलाडीलाई खेल खेलेरै केही हुँदोरहेछ भन्ने अनुभूति भएको छ, विधागतरुपमा स्थानीय सरकारले रकम विनियोजन गर्नुपर्छ, बर्सेनि मेयर कपलाई मात्रै एकमुष्ठ रकम छुटयाएर भएन, विभिन्न खेललाई प्राथमिकता दिइयो भने खेलाडीको मनोबल बढ्छ,” उनले भने।
खेलाडी उत्पादन गर्न विद्यालय तहमा एक खेल प्रशिक्षकको व्यवस्था, खेलमैदान व्यवस्थित, विधागतरुपमा खेल आयोजना, स्थानीयस्तरमा नै खेलसम्बन्धी प्रशिक्षणको व्यवस्था, बेला बेलामा प्रोत्साहनमूलक कार्यक्रम भएमा यसप्रति घरपरिवार, समाजबाटै आफ्ना सन्नततिलाई खेलमा लाग्न उत्साह मिल्ने रानको भनाइ छ।
यसवर्ष रामपुर नगरपालिकाले खेलकुदका लागि रु.१५ लाख छुट्याइएको छ। त्यसबाहेक वडा नं. ५ र ७ मा कभर्डहल निर्माणका लागि रु.८ लाख विनियोजन गरिएको मेयर रमणबहादुर थापाले जानकारी दिए।
रामपुर–५ स्थित मटेरी ठूलोटार खेल मैदानलाई क्षेत्रीय रङ्गशाला बनाउन डीपीआर निर्माण भइसकेको छ। रङ्गशाला निर्माणमा ठूलो रकम आवश्यक पर्ने भए पनि स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा काम अगाडि बढ्न नसकेको मेयर थापाले बताए।
“खेललाई प्राथमिकता दिएर बर्सेनि बजेट विनियोजन गरेको छु, दक्ष प्रशिक्षक ल्याएर खेलाडीलाई प्रशिक्षण दिने तयारी भइरहेको छ, विभिन्न प्रतियोगिताका लागि सहयोग गरिरहेको छु,” थापाले भने।
रामपुरका मटेरी, बेझाड, किसानबारी, विजयपुर, तिलकपुर, खयरबोट, गेझा, देविस्थानलगायतका विभिन्न स्थानमा खेलकुदका पूर्वाधार तयार गर्न सकिने प्रशस्त आधार छन्। यहाँको खेलमैदान व्यवस्थित नहुँदा खेलाडीलाई चोटपटक लाग्ने जोखिम उत्तिकै छ। स्तरीय खेल मैदानको अभावमा दर्शक पनि खेल अवलोकनबाट वञ्चित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
