दशैँ कति पुरानो?

अष्टमी, नवमी र दशमीलाई नेवार समुदायले दशैँ होइन, ‘मोहनी सिन्ह’का रूपमा मनाउँछन्।

डा. त्रिरत्न मानन्धर



सनातन हिन्दू नेपालीहरूको सबैभन्दा ठूलो र लामो चाड हो दशैँ। १५ दिनसम्म मनाइने यो चाड वर्षभरी मनाइने अन्य चाडपर्वको तुलनामा सबैभन्दा लामो हो। धार्मिकसँगै दशैँको सामाजिक तथा व्यवहारिक महत्व पनि छ। घरबाट टाढा रहेका प्रियजनहरू दशैँका बेला घर फर्केर आउँछन् किनकि दशैँमा आफ्ना मान्यजनहरूबाट टिका थापेर आशिर्वाद लिँदा सुख, समृद्धि र कल्याण हुने आम विश्वास छ। दशैँ १५ दिनसम्म चल्ने भए पनि अष्टमी, नवमी र दशमी गरी तीन दिन खास हुनेगर्छ। बडा दशमीपछिका पाँच दिन टिका र आर्शिवाद थाप्न आफन्तहरूकहाँ जानुपर्ने भएका कारण दशैँ पन्ध्र दिनसम्म लम्बिएको हो।



त्यस्तै, प्रतिपदाको दिन रोपिने जमरा हुर्कन ८–९ दिन लाग्छ। जमरा रोपेपछिका १० दिन गन्दा पनि दशैँ पन्ध्र दिनको हुन आएको हो। शिक्षण संस्थानहरूका हकमा घटस्थापनादेखि दिइने दशैँको विदा सरकारी कर्मचरीको हकमा भने फुलपातीदेखि सुरु हुन्छ। वर्षा–गर्मी सकिएर जाडो सुरु नभइसकेको समयमा दशैँ पर्नेगर्छ। झरी वादल नहुने र उज्याला दिन हुने हुनाले पहिले– पहिले काठमाडौं उपत्यकामा दशैँको मुख्य आर्कषण चङ्गा उडाउने हुने गर्थ्यो, जुन अचेल कम हुन थालेको छ।  



कहिलेबाट सुरु भयो दशैँ?



दशैँ प्राचिन कालदेखि नै सुरु भयो भन्ने अड्कलबाजीहरू छन्। यद्यपि, मध्यकालमा नेपाल आएका क्रिस्चियन मिसनरीहरूले आफ्नो बयानमा अष्टमी र नवमीको राति हनुमानढोकाको तलेजु मन्दिरमा कालरात्रीमा ८४ वटा राँगा र बलि बोका दिने उल्लेख गरेका छन्, जुन विशेषतः दशैँकै छेकोमा हुने गर्छ। क्रिस्चियन मिसिनरीहरूको काम नै घुम्ने र घुमेका ठाउँका बयान लेख्ने थियो। सोही आधारमा दशैँको अस्तित्व मध्यकालमा भएको अनुमान गर्न सकिन्छ।



दशैँलाई हिन्दू धर्मालम्बीहरूले रामले रावणलाई मारी असत्यमाथि सत्यको विजय प्राप्त गरेको उत्सवका रूपमा मान्छन् भने बौद्ध धर्मालम्बीहरूले राजा अशोकले हिंसा त्याग गरेको दिनका रूपमा मान्छन्। प्राचिन भारतका राजा अशोकले भयंकर युद्धमार्फत कलिङ्ग भन्ने देशलाई जितेका थिए। तर पछि आफूले जितेको देश हेर्न जाँदा उनले त्यहाँ सयौँ मानिस मरेका, विधवा भएका र बस्ती उजाड भएका देखे। र, त्यस्तो नरसंहारक युद्धको पश्चात गर्दै हिंसा त्यागी बौद्ध धर्म अवलम्बन गरे। यसरी, दशैँ पर्व बौद्धहरूका हकमा अहिंसाको पर्व हो, अस्त्रत्यागको पर्व हो।



त्यस्तै, बहादुर शाहको पालामा नेपाल आएका अग्रेज नागरिक कर्क प्याट्रिकले नेपालका बारेमा ‘यान अकाउन्ट अफ हिन्दु किङ्ग्डम अफ नेपाल’मा ‘नवरात्री’को उल्लेख गरेका छन्। त्यसमा प्याट्रिकले ‘दशैँ’ शब्दको भने उल्लेख गरेका छैनन्। दशैँका अघिल्ला ९ रातलाई ‘नवरात्री’ भनिएको हो। र, ९ दिनसम्म राती–राती विभिन्न नौ पीठ (देवीका मन्दिर) मा गई देवीको पूजा गर्ने गरिन्छ। नवरात्र अवधिमा काठमाडौँ उपत्यका मानिसहरू उपत्यकाभित्रका ९ तीर्थस्थल घुम्छन् भने पाटन र झक्तपुरका मानिसले आफ्नो क्षेत्रका शक्तिपीठमा नवरात्रीको उपासना गर्छन्।



दशैँको व्यवहारिक पक्ष



दशैँमा विशेषतः हातहतियारको पूजा हुने गर्छ। आफ्नो पेशा–व्यवसायसँग सम्बन्धित हातहतियारहरूले राम्रोसँग काम गरोस् र आफ्नो पेशा अझ राम्रोसँग चलोस् भनेर हातहतियारको पूजा गर्ने गरिएको हो। नवमीका दिन किसानहरूले खेतीपातीमा प्रयोग गर्ने कुटो, कोदाली, हँसिया तथा व्यापारीले प्रयोग गर्ने ढक, तराजु, माना, पाथीको पनि पूजा हुन्छ। त्यस्तै बाँडा (शाक्य)ले सुन–चाँदीसम्बन्धी औजारको पूजा गर्छन्। सिकर्मी र डकर्मी तथा श्रमिकहरूले पनि पनि आफ्ना–आफ्ना औजारहरूको पूजा गर्छन्। यसरी, कामलाई नै देवता मानेर पूज्ने चलन नेपाली समाजमा छ।



दशैँको खास रौनक सप्तमीबाट सुरु हुन्छ। तर, सप्तमीमा हुने फूलपाती भने आधुनिक नेपालको सुरुवातसँगै भएको हो। पृथ्वी नारायण शाहले राज्य जितिसकेपछि काठमाडौँमा गोरखा राज्यको आधिपत्य देखाउनको लागि उखु, केराका बोटलगायत पूजा सामग्री राखी ‘फूलपाती’ भित्र्याउने चलन सुरु गरे। र, अहिलेसम्म पनि गोरखाका मगर पूजारीले धादिङको जीवनपुरसम्म फूलपाती ल्याउँछन् भने त्यहाँदेखि वशन्तपुरसम्म बाहुन पूजारीले उक्त पूजा सामग्री ल्याउने प्रचलन छ। तर यो चलन मध्यकालसम्म थिएन। पृथ्वी नारायण शाहले यो चलन उपत्यका भित्र्याएसँगै राणाकाल हुँदै हालसम्म पनि फूलपाती भन्दै सरकारी तवरबाट मनाइने गरेको छ।



अष्टमीमा बाहुन–क्षेत्रीहरूले देवीका मन्दिरमा बोका तथा खसीको बलि दिने गर्छन् र बलि दिएको पशुकै मासुसँग मिसाएर भात तथा चिउरा खाने गर्छन्। नेवारको भने अष्टमीको राती ‘कुछि भ्वयः’ हुने गर्छ। नेपाल भाषामा कुछिको अर्थात् दुई माना र भ्वयःको अर्थ भोज हो। भन्नुको अर्थ नेवारहरूले अष्टमीको राती दुई माना बराबरको भोज खाने गर्छन्।  उक्त भोजमा विभिन्न परिकारहरू समावेश हुन्छन्। अष्टमीको राती भोज खाएपछि दशमीको दिनसम्म भोजबाहेक नियमित खाना खान मिल्दैन, खाने चलन छैन। नवमी र दशमीमा दिनदिनै पूजा गर्नु पने भएकाले त्यसका लागि तागत मिलोस् भनेर दुई माना भोज खाने चलन चलेको हो। नवमीको दिनलाई नेवारहरूले ‘स्याकु च्याकु’ भन्छन्। यस समुदायमा यस दिन सकेजति पशुबलि दिनु पर्ने मान्यता छ। बडा दशमीमा भने सबैले आफ्ना मान्यजनबाट टिका जमरा र आर्शिवाद ग्रहण गर्ने गर्छन्। पारिवारमा आपसी वैमनश्यता रहेको अवस्थामा समेत यस दिन टिका ग्रहण गरेपछि आपसी वैमनश्यता हट्ने मान्यता छ।



मोहनी सिन्ह र तान्त्रिक पक्ष



अष्टमी, नवमी र दशमीलाई नेवार समुदायले दशैँ होइन, ‘मोहनी सिन्ह’का रूपमा मनाउँछन्। नवमीको दिन बलि दिएको कुखुराको शिरलाई दुई पालामध्ये एउटामा बत्ती बालिन्छ। बत्ती बालेको पालामाथि अर्को पालाले छोपेर कालो धुवाँ जम्मा हुन्छ, जसलाई दशमीको दिनमात्र निकाल्न मिल्छ। धुँवा जमेर बनेको ध्वाँसजस्तो डल्लोलाई नै  मोहनी भनिन्छ। यसको तान्त्रिक मान्यता छ । कालो टिकामा तान्त्रिक शक्ति हुने कारण त्यसले शरीरमा उर्जा दिन्छ भन्ने जनविश्वास छ। मोहनी सिन्ह अर्थात कालो टिकालाई पातलो र ठाडो धर्काको रूपमा उनीहरू निधारमा लगाउँछन्। खसआर्य समुदायमा रातो टिका लगाइन्छ भने नेवारहरूले टिकाको सट्टा सुन्तला रंगको ‘भुः सिन्ह’ गोलाकार बनाएर लगाउँछन्। दशमीको विभिन्न ठाँउमा ‘पायो जात्रा’ अर्थात ‘खड्ग जात्रा’ समेत हुने गर्छ।



त्यस्तै, अर्को तान्त्रिक महत्वको पाटो थियो, अष्टमीका दिन नेवारहरूले आफ्नो घरको मूल ढोकामा टाँस्ने दुई आँखाको चित्र। चित्रकारले कागतमा कोर्ने यी आँखा २५–३० वर्षअघिसम्म पनि टाँस्ने गरिन्थ्यो। तर अहिले आएर यो प्रचलन हराएको छ। तान्त्रिक शक्ति प्रतिस्थापन गरी राखिने ती आँखा आफ्नो घरमा राखेमा उक्त घरमा कसैको नजर नलाग्ने जनश्रुति चलिआएको छ। दशैँसँग सम्बन्धित नभए पनि पञ्चमीका दिन ‘पचली भैरव’को र एकादशीका दिन ‘अशोक विनायक’को जात्रा हुन्छ।



८–१० वर्ष अघिसम्म धार्मिक र सांस्कृतिक भिन्नताका आधारमा गुरुङ, राई, लिम्बु समुदायले फरक–फरक ढंगले दशँै मनाउँदै थिए। तर, अचेल सनातनी हिन्दूहरूले झैँ दशैँ मनाउनेहरू समेत बढेका छन्। परापूर्व कालमा चारै ऋतुमा दशैँ मनाउने गरिएको थियो भनिएता पनि हालसम्म त्यसको यथेष्ट पुष्टि गर्ने आधार छैन। हाल असोज–कात्र्तिक महिनाको बीचमा पर्ने बडादशैँ र चैत्रमा मनाइने चैते दशैँ गरी दुई दशैँ छन्। चैते दशैँलाई जनमानसले खासै रुचिका साथ नमनाए पनि राजतन्त्र हुँदासम्म राज्यस्तरबाटै वशन्तपुरबाट गोरखासम्म औपचारिक ‘पूजा लाने’ चलन थियो।



(इतिहासकार डा. त्रिरत्न मानन्धरसँग गरिएको कुराकानीमा आधारित।)