नेपाली चलचित्र क्षेत्रमा नयाँ पुस्ताको उपस्थिति उत्साहजनक देखिएको छ। पछिल्लो समय नेपाली सिनेमाप्रतिको आम बुझाइ पनि फेरिँदो छ।
काठमाडौँ- डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हाबी थिए। उनीहरूलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्थे।
उनीहरूको उपस्थितिले मात्र पनि निर्माताले मुनाफा आर्जन गर्न थालेपछि चलचित्रमा नयाँ पुस्ताको उपस्थिति बढिरहेको छ। अनमोल केसी, प्रदीप खड्का, धिरज मगरलगायत सर्वाधिक खोजिने अभिनेता बनेसँगै नयाँ पुस्ताले चलचित्रमा काम गर्ने इच्छा देखाएको पाइन्छ।
व्यावसायिक रेकर्ड राख्न सफल फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ मार्फत गौमाया गुरुङले डेब्यु गरे। बेलायतमा बसोबास गर्ने अभिनेत्री गुरुङले कलाकारितामा आफ्नो भविष्य देखेर नै नेपाल आएर अभिनय गरेका हुन्। उनले अभिनय गरेको ‘गोर्खा : विनिथ द ब्रेभरी’ समेत प्रदर्शन भइसकेको छ। युट्युब र सामाजिक सञ्जालमा ट्राभल ब्लग बनाउने गुरुङ नोटिस भएपछि डेब्युको अवसर पाएका हुन्। उनी भन्छन्, “नेपाली भाषा र संस्कृतिमा काम गर्दा आनन्द आउँछ। म नेपाली चलचित्रमै आफ्नो भविष्य देख्छु। अवसर आएसम्म सदुपयोग गर्नेछु।”
भारतमा मोडलिङ गरिरहेकी श्रद्धा क्षेत्रीले ‘कृष्ण लीला’ मार्फत डेब्यु गरिन्। यस अगाडि ‘हृदय भरी’ नामक चलचित्रमा काम गरे पनि निर्माण पूरा नभएपछि उनले दोस्रो अवसर पाएका थिए। क्षेत्री भन्छन्, “नेपाली चलचित्रमा काम गर्ने रहर थियो। यहाँ दर्शकमार्फत पाइने माया भिन्नै छ ।”
रङ्गमञ्चमा काम गरिरहेकी रेणु योगीले ‘प्रकाश’ मार्फत डेब्यु गरिन्। जुम्ली युवतीको भूमिकामा दर्शकले उनलाई स्वीकारे। “रङ्गमञ्चमा काम गरेपछि अडिसन दिएर चलचित्रमा अभिनय गरेकी हुँ। ठूलो पर्दाले मलाई थप अनुभव दिएको छ”, उनले भने।
यसैगरी ‘सम्हालिन्छ कहिले मन’ मार्फत सोनाम तोप्देन गायकबाट अभिनेता बने। कभर गीतमार्फत गायक बनेका तोप्देनले डेब्यु चलचित्रबाटै तारिफ पाए। उनी चलचित्र आफ्नो लागि नौलो अनुभव रहेको उल्लेख गर्दै गायन र अभिनयसँगै अगाडि बढाउने योजनामा छन्।
‘प्रेम गीत ३’ मार्फत अभिनेत्री क्रिस्टिना गुरुङले डेब्यु गरे। उनी अडिसनमार्फत छानिएका हुन्। दसैँमा प्रदर्शन हुने चलचित्र ‘बाबरी’ बाट प्रसिद्ध कलाकार तृप्ति नाडकरका छोरा धिरजले डेब्यु गर्दै छन्। भारतमै रहेर केही टेलिशृङ्खलामा समेत काम गरिसकेका धिरज नेपाली दर्शकमार्फत पाइरहेको मायाले उत्साहित छन्।
“मैले नेपालमा पाएको माया अद्भुत छ। मेरो आमाझैँ मलाई पनि स्विकार्नु हुन्छ भन्नेमा विश्वस्त छु। मैले इमानदार भएर काम गरेको छु”, उनले भने। ‘दुई नम्बरी’ चलचित्र मार्फत भुटानी अभिनेत्री उगेन छोदेनले डेब्यु गर्दै छन्। “नेपाली कलाकारको सहयोगले डेब्यु राम्रो भयो। म आउँदो दिनमा पनि चलचित्रमा अभिनय गर्नेछु”, उनले भने।
तिहारमा प्रदर्शन हुन लागेको ‘महापुरुष’ चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गर्दै छन्। दुवै जना अडिसन दिएर छानिएका हुन्। अरुणले ‘आइएम ट्वान्टी वान’ चलचित्रमा अभिनय गरिसकेका छन् भने अञ्जना मोडलिङ गरिरहेकी छन्।
‘परदेशी २’ बाट गायक प्रकाश सपुत, ‘लन्डन टु पेरिस’बाट गरिमा शर्मा र निश्चल खड्का, ‘वर एन्ड बधू’ बाट विवेक कर्माचार्यलगायतले चलचित्रमा डेब्यु गर्दै छन्। मेकिङ शैलीमा परिवर्तन आएसँगै हलमा नयाँ पुस्ता दर्शक बनेर बढेझैँ चलचित्रमा पनि आकर्षण देखिन्छ। उनीहरू सम्बन्धित विधाको अध्ययन गरेर नै काम गरिरहेका छन्। उनीहरूको उपस्थिति सकारात्मक रहेको निर्देशक प्रदीप भट्टराई बताउँछन्।
उनी भन्छन्, “नयाँपुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्ययन गरेर आउनुले चलचित्रको भविष्य उज्ज्वल रहेको सङ्केत गर्छ। उनीहरूको सक्रियतामा अझै परिवर्तन हुनेमा विश्वस्त छु। सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
