एनपीएलमा कर्णालीको पहिलो जित

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले पहिलो जित हात पारेको छ। शुक्रबार भएको खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो।

त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। १९.५ ओभरमा जिसन मक्सुदले चौका प्रहार गर्दै कर्णालीलाई जित दिलाए। उनी १२ रनमा अविजित रहे।

कर्णाली यसअघि जनकपुर बोल्ट्ससँग ८ विकेट र काठमाडौँ गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो। देव खनालले ३२ बलमा १ चौका र १ छक्कासहित २५ रन बनाए। शिखर धवनले ४१ बलमा ४ चौका र १ छक्कासहित ४५ रन जोडे। 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन बनाएको थियो। 

चितवनका रवि बोपाराले अर्धशतकीय पारी खेले। उनी  ४० बलमा ५९ रनमा अविजित रहे। कप्तान कुशल मल्लले २३ रन बनाए। विपिन रावल ११ रनमा आउट भए।

कर्णालीका आइकोनिक खेलाडी विपिन शर्माले ३ विकेट लिए। जिशान मकसुदले २ तथा सोमपाल कामी र नन्दन यादवले समान १-१ विकेट लिए।