नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्ता गठबन्धनका नेताहरूलाई व्यवस्थापन गर्दा पार्टीका प्रभावशाली नेताहरूलाई टिकट नपाएको बताएका छन्।
काठमाडौँ- नेपाली कांग्रेसले सत्ता गठबन्धनका नेताहरूलाई मिलाउँदा पार्टीका प्रभावशाली नेताहरूलाई टिकट दिन नसकिएको प्रष्टीकरण दिएको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनका लागि आफ्नै पार्टीका प्रभावशाली नेताले टिकट नपाउनुको कारण गठबन्धन रहेको बताएका हुन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सत्तारूढ गठबन्धनका नेतालाई मिलाएर देशलाई विकासको दिशामा अग्रसर बनाउनुपर्ने भएकाले पार्टीभित्रका केही प्रभावशाली नेतालाई टिकट दिन नसकिएको बताए।
उनले गठबन्धनलाई मिलाउनुपर्ने कारणले धेरै ठाउँमा नेपाली कांग्रेसले उम्मेदवारी दिन नपाएको भनाइ राखे। "योग्य हुँदाहुँदै पनि कतिपय साथीहरूलाई हामीले टिकट दिन सकेका छैनौँ। गठबन्धनका कारणले धेरै ठाउँमा हाम्रो उम्मेदवार छैन," उनले भने।
निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने र त्यसको नेतृत्व पनि कांग्रेसले गर्ने उनले दाबी गरे। लोकतन्त्रलाई संस्थागत गर्ने, संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने, लोकतान्त्रिक संस्कृतिलाई जीवन पद्धति बनाउने कांग्रेसको लक्ष्य भएको उनको जिकिर छ।
प्रवक्ता महतले आगामी गठबन्धन सरकारले लोकतान्त्रिक मूल्य र मान्यता, कानूनी शासनको आधारशिलामा रहेर देशमा समृद्धि सिर्जना गर्ने, हरेक नागरिकलाई कुनै पनि वर्ग, समूह, क्षेत्र, समृद्धिको प्रकाशबाट कोही पनि वञ्चित हुन नदिने ग्यारेन्टी लिने बताए।
उनले गठबन्धन सरकारले आगामी निर्वाचन जितेको खण्डमा कुनै पनि नेपाली नागरिकलाई आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्यको आधारभूत अधिकारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाए। उनले नेपाली युवालाई देशभित्र रोजगारीप्राप्त नभएको कारणले विदेसिनुपर्ने अहिलेको बाध्यतालाई उल्ट्याएर स्थिर, जनताप्रति, अधिकारप्रति समर्पित सरकार निर्माण गर्ने बताए।
प्रवक्ता महतले देशभित्र नै रोजगारी सिर्जना गर्ने, लगानी वृद्धि गर्ने र उद्योगमैत्री वातावरण सिर्जना गर्ने र वातावरणमैत्री अर्थतन्त्रलाई अघि बढाइ देशमा रहेको ठूलो व्यापार घाटालाई कम गर्ने बताए। उनले पूर्वीय सभ्यता, संस्कृतिलाई कतिपय अवस्थामा बेवास्ता गरेको भन्दै आगामी दिनमा प्राथमिकतामा राखेर आफ्नै संस्कृति र सभ्यतालाई अघि बढाउने बताए।
प्रवक्ता महतले पार्टीमा अहिले सबै पक्षहरू सन्तुष्ट रहेको दाबी गर्दै अहिले सहमतिमा नै निर्वाचनमा गठबन्धन जिताउनका लागि लागिपरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
