भोलिसम्म जरिवाना नबुझाउने उम्मेदवारको नाम समानुपातिक सूचीबाट हट्ने

बिदाका दिन पनि उम्मेदवारले जारिवानाबापतको रकम बुझाउन सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कार्यालय समयमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा जरिवानाबापतको रकम बुझाउन सकिने छ।

निर्वाचन आयोग।

काठमाडौँ- निर्वाचन आयोगले सार्वजनिक बिदाको दिनमा पनि उम्मेदवारले जरिवाना तिर्न सकिने जनाएको छ। आयोगले भोलि शनिबारका दिन पनि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा जरिवाना बुझाउन सकिने बताएको हो।

स्थानीय तहको उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाएर प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकको बन्दसूचीमा नाम रहेका उम्मेदवारलाई कात्तिक ५ गतेसम्म जरिवानाबापतको रकम बुझाउन समय तोकिएको थियो। सो दिन शनिबार परेको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिकको बन्दसूचीमा परेका उम्मेदवारले शनिबार पनि जरिवाना तिर्न सक्ने बताए। उनका अनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवानाबापतको रकम बुझाउन सकिने व्यवस्था मिलाइएको हो।

"कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ," वाग्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जरिवानाबापतको रकम नबुझाउने उम्मेदवारको बन्दसूचीबाट नाम हटाउने आयोगले चेतावनी दिएको छ। समानुपातिक प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिटका लागि ४८ दलले बन्दसूची बुझाएका छन्।