दौडँदादौडँदै हराए जुत्ता, ‘फिनिसिङ लाइन’मै ढले जितबहादुर

पहिलो अन्तर्राष्ट्रिय पदक जितेबापत जितबहादुरलाई सरकारले गोरखा दक्षिणबाहु तेस्रो दिने घोषणा गरेको थियो। तर, सेनाका उच्च अधिकृतहरूले ‘ओहोदा नमिल्ने’ भन्दै दरबारमा सिकायत गरे।

काठमाडौँ– यदि उनी ब्राजिलमा जन्मिएका भए, ‘फुटबल सम्राट’ पेलेजस्तै खेलकुदमन्त्री बन्न सक्थे। अर्जेन्टिनामा जन्मिएको भए फुटबलका ‘जादूगर’ डिएगो म्याराडोनाको जस्तै सालिक बन्न सक्थ्यो।

तर, जितबहादुर केसी नेपालमा जन्मिएर गुमनामजस्तै जीवन बाँचिरहेका छन्। चिन्नेहरू उनलाई ‘भूगोलले ठगेको खलाडी’ भन्छन्।

जितबहादुर तिनै ‘लिजेन्ड’ म्याराथन धावक हुन्, जसले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा देशलाई पदक दिलाएका थिए। अन्तर्राष्ट्रिय समुदायलाई नेपाल पनि खेल्नसक्छ भन्ने सन्देश दिएका थिए।

सन् १९७० को दशकमा उनले दौडन शुरु गर्दा नेपाल एसियाकै गरिब मुलुकमध्ये मानिन्थ्यो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकार नेपाल आएर कछाडको भरमा नदीनाला तर्दै गरेका नेपाली वा झिँगा भन्किएको खाना खाँदै गरेका बालबालिकाको तस्वीर खिच्थे र छाप्थे। त्यस्तो बेला नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने कल्पना कमैको हुन्थ्यो।

त्यो वर्ष सन् १९७३ थियो। फिलिपिन्सको राजधानी मनिलामा आयोजना भएको पहिलो एसियन ट्रयाक एण्ड फिल्ड प्रतियोगितामा जितबहादुरसँगै वैकुण्ठ मानन्धर र भक्तबहादुर थापा सहभागी हुन पुगे। नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने श्रेय भने जितबहादुरले पाए। उनले म्याराथन दौड २ घण्टा २८ मिनेटमा पूरा गर्दै कास्य पदक जितेका थिए। तर, यो सफलता नेपाली खेलकुदका लागि कति ठूलो थियो उनैलाई थाहा थिएन। 

जितबहादुरभन्दा अघि दौड पूरा गर्ने दुई कोरियन खेलाडीले स्वर्ण र रजत पदक जितेका थिए। उनले जापान, चीन, भारतजस्ता देशका खेलाडीलाई पछि पारेर कास्य पदक जितेका थिए। आर्थिक रूपमा सम्पन्न र खेलकुदका शक्ति राष्ट्रका लागि उनको पदक आश्चर्यको विषय थियो।

मनिला जानुअघि प्रतियोगिताका लागि उनले गतिलो तयारी गर्न पाएका थिएनन्। उनी सेनाका जागिरे थिए। तत्कालीन शाही नेपाली सेनाले प्रतियोगिताको लागि तयार रहन निर्देशन दिएको थियो। उनी ३/४ दिनको तयारीपछि नै मनिला प्रस्थान गरेका थिए। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि त्यो तयारी पर्याप्त छैन भन्ने उनलाई थाहा थियो। तर, राम्रो प्रदर्शन गर्ने आत्मविश्वास भने थियो।

प्रतियोगितापूर्व फिलिपिन्समा ठूलो वर्षा भयो। मनिलाका गगनचुम्बी भवनहरू पानीमा तैरिरहेझैँ देखिन्थे। शहर अस्तव्यस्त बनेको थियो। दौडिने ट्रयाक आँखाले ठम्याउन मुस्किल हुन्थ्यो। सडकमा बसेका पथ प्रदर्शकले दौडने बाटो देखाइरहेका थिए। “सडकमा कतै त घुँडाघुँडा आउने पानी थियो। बाटो देख्नै मुस्किल। पथ प्रदर्शकले देखाएतिर पानीमा झ्याम्ल्याङ झुम्लुङ गर्दै दौडिएका थियौँ,” उनी भन्छन्।

मनिलाको ट्रयाक नेपालको जस्तो थिएन, पानी रोकिएपछि स्वाट्टै सुक्थ्यो र खुट्टा भत्भत् पोल्न थाल्थ्यो। उनलाई दौडिन एकदम असहज भएको थियो। जुत्ता पनि थिएनन्। उनले यही प्रतियोगिताको लागि भनेर जापानमा बनेको ‘टाइगर छाप नाइलन’को जुत्ता पाएका थिए। त्यसअघि ४०० रूपैयाँ तिरेर बाँसबारी छाला उद्योगबाट लिएका जुत्ता त प्रशिक्षण गर्दा नै फाटेका थिए। त्यसबेला बाँसबारीले सामान्य जुत्ताचप्पल मात्रै उत्पादन गर्थ्यो।

उनकै लागि भनेर बाँसबारीले विशेष किसिमको हलुका जुत्ता बनाइदिने बताएको थियो। तर, दौडन उपयुक्त थिएन। प्रशिक्षण थालेको चार दिनमै जुत्ता फाटेका थिए। “४०० रूपैयाँ भनेको एकदमै ठूलो रकम थियो। त्यो पैसा राष्ट्रिय खेलकुद परिषद्ले तिरिदिएको थियो,” उनी भन्छन्, “बाँसबारी छालाजुत्ताले बनाएको जुत्तामा तलुवा छालाको हालेछन्। तीन–चार दिन दौडिँदा नै प्वाल परिहाल्यो। कामै लागेन।” पछि राखेपकै कर्मचारीले जापानमा बनेको टाइगर छाप ‘सेकेन्ड ह्यान्ड’ जुत्ताको बन्दोबस्त गरिदिएका थिए।

तर, मनिलामा उनले त्यो जुत्ता लगाएर धेरै बेर दौडिन पाएनन्। दौडिएर अलिक पर नपुग्दै एउटा खुट्टाको जुत्ता खुस्कियो र पानीको भेलमा बेपत्ता भयो। उनले अर्को खुट्टाको जुत्ता पनि खोलेर हुँइक्याइदिए। नयाँ ट्रयाकमा खाली खुट्टा दौडिन निकै सकस भयो। दौडिँदादौडिँदै खुट्टाबाट रगतको धारा बग्न थाल्यो। तर, उनी रोकिएनन्। 

“एकजना पहिलो भइसकेको थियो। मसँग दक्षिण कोरियाको खेलाडी दैडिरहेको थियो। म त्यहीँ लड्न पुगें। स्टेडियममा उपस्थित नेपाली दर्शकले ‘जितिसक्यौ तेस्रो भइसक्यौ’ भन्दै चिच्याइरहेका थिए। त्यही आवाज कानमा ठोक्किरहेको थियो,” उनी भन्छन्। त्यही आवाजबाट उनले हौसला पाए। अनि, ‘फिनिसिङ टच’ दिएरै छाडे। नेपालले पनि पदक जित्नसक्छ भनेर प्रमाणित गरे।

नेपाल उत्रिँदासम्म पनि उनलाई आफूले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको पत्तो थिएन। विमानस्थलमा उत्रिएपछि उनीसहित प्रतियोगितामा सहभागी तीन जनालाई नै छत खुला भएको गाडीमा राखेर काठमाडौं परिक्रमा गराइयो। त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगियो। “राखेप पुगेपछि मात्रै मैले पहिलो अन्तर्राष्ट्रिय पदक पाएको भनेर घोषणा भयो। बल्ल मैले पाएको पदकको महत्व थाहा पाएँ। त्यसपछि त यतै तान्छन्, उतै तान्छन्। फोटो खिच्नेको तानतान हुन थाल्यो,” उनी भन्छन्।

अघिल्लो वर्ष सन् १९७२ को म्युनिख ओलम्पिकमा नै जितबहादुरलाई पदक जित्नसक्ने खेलाडीको रूपमा हेरिएको थियो। त्यसको तयारीका लागि तीन महिनाअघि नै उनलाई जर्मनी पठाइएको थियो। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले पनि उनलाई पदक जित्ने खेलाडी भएको उल्लेख गर्दै समाचार दिएका थिए। त्यसको कारण, एसिया क्षेत्रको ‘ट्रयाल म्याराथन’मा पहिलो भएका थिए। अनि उनको पछि पश्चिमा मिडिया झुम्मिएका थिए। 

“ट्रायल म्याराथनमा सन् १९७० को ओलम्पिकमा स्वर्ण जित्ने रेजा भन्नेलाई पनि जितेर प्रथम भएको थिएँ। त्यतिखेर बीबीसीले समेत एसियाबाट मैले पदक जित्नसक्ने भनेर फुकिसकेको थियो। त्यहीकारण नेपालमा पदकको आशा गरिएको थियो,” उनी भन्छन्।

त्यो ओलम्पिक हिंसात्मक घटनाको चपेटामा पर्‍यो। ओलम्पिक भिलेजभित्र नेपाली खेलाडी बसेको अपार्टमेन्टको ठ्याक्कै अगाडि प्यालेस्टिनी विद्रोहीले इजरायली खेलाडीमाथि आक्रमण गरे। आक्रमणमा इजरायका ११ खेलाडीको मृत्यु भयो। पाँच आक्रमणकारी र एक प्रहरी पनि मारिएका थिए। यो घटनाले खेलाडीहरूमा त्रास र आतंक सिर्जना भयो। म्याराथन दौड निर्धारित समयभन्दा तीन दिन पछि सर्‍यो।

घटनास्थल नजिकै बसेका जितबहादुरले इजरायली खेलाडीको लत्पतलिएको रगत देखेका थिए। आक्रमणमा संलग्न दुई प्यालेस्टिनीलाई चौबाटोमै झुन्ड्याइएको पनि देखेका थिए। उनी यति विक्षिप्त भएका थिए कि, यसको असर उनको खेलमा पर्‍यो। म्याराथनको २२ किलोमिटरसम्म दौडदा उनी विश्वका अन्य सात खेलाडीसँगै पहिलो लेनमा थिए। तर, यसपछि एक्कासी उनको टाउकोमा कसैले हाने जस्तो भयो। भुईंमा डङ्ग्रङ्गै ढले। खुट्टाको मांशपेशी च्यातियो। अनि, दौडिनै नसक्ने भए। 

“त्रासले गर्दा नै होला ट्रयाकमा उत्रिदासम्म मुटु ढुकढुक भइरहेको थियो। कति खेलाडी त बिरामी नै भए। २२ किलोमिटर दौडिएपछि म ढलेँछु। दौडिहाल्छ कि भनेर १० मिनेटसम्म मलाई कसैले छोएनछन्। नउठेपछि अस्पताल लगेछन्,” उनी भन्छन्।

जर्मनीको अस्पतालमा खुट्टाको अपरेशन हुँदा धेरैले उनको खेल जीवन सकिएको आकलन गरेका थिए। तर, नेपाल फर्किएको दुई महिनाभित्रै मैदान उत्रिए। चोटबाट तंग्रिएपछि पनि उनी नेपालको ‘नम्बर वान’ म्याराथन धावक भइरहे। त्यहीकारण लगत्तै अर्को वर्ष मनिलामा हुने प्रतियोगिताका लागि छनौट भएका थिए।

मनिलाबाट फर्किएपछि सरकारले उनलाई काठमाडौँमा घर, तराईमा मौजा र दैनिक १० रूपैयाँ पोषण खर्च दिने घोषणा गरेको थियो। प्रशिक्षक मधुशमशेर राणाले पनि काठमाडौंमा एक टुक्रा जग्गा दिने आश्वासन दिएका थिए। हाल वृद्ध भइसकेका प्रशिक्षक राणाको आश्वासन त व्यक्तिगत थियो, सरकारले ४९ वर्ष भइसक्दा पनि घोषणा पूरा गरेको छैन। 

नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक जित्दा जितबहादुर तत्कालीन शाही नेपाली सेनाका खेलाडी थिए। त्यतिबेला सेनाले उनलाई भत्ता तथा विभिन्न सुविधावापत ८० हजार रूपैयाँ उपलब्ध गराउनुपर्ने थियो। अघिल्लो दिन उनलाई भत्ता र सुविधा बुझ्न कार्यालय बोलाइयो। भोलिपल्ट जाँदा ‘कानुनले नमिल्ने’ भन्दै फर्काइयो।

“म्युनिख ओलम्पिकमा सहभागिता जनाउँदा तीन महिनाको भत्ता नै ८० हजार पाउने रहेछ। त्योबेला ८० हजार भनेको अहिलेको ८० लाखजस्तो हुन्थ्यो होला। त्यो रकम पाउँछ भनेर तत्कालीन मेजर श्याम शाहले धेरैपटक आश्वासन दिनुभयो। तीन महिनासम्म ३०० ठाउँ धाइयो। कति जोर जुत्ता खियाइयो, तर अन्तिममा नमिल्ने भनियो,” उनी भन्छन्।

पहिलो अन्तर्राष्ट्रिय पदक जितेबापत उनलाई तत्कालीन पञ्चायत सरकारले गोरखा दक्षिणबाहु तेस्रो प्रदान गर्ने घोषणा गरेको थियो। तर, सेनाका उच्च तहका अधिकृतहरूले ‘ओहोदा नमिल्ने’ भन्दै दरबारमा सिकायत गरेछन्। अनि, उनको पदक गोरखा दक्षिणबाहु पाँचौँमा झारियो। उनले देशका लागि जितेको पदकलाई सेनाका उच्च अधिकारीले ओहोदासँग तुलना गरेका थिए। त्यसैले जितबहादुरले आफ्नो मात्र होइन, सारा खेलाडीको मानमर्दन भएको भन्दै पदक नलिने घोषणा गरे। सेनाले दबाब दिन थालेपछि बरु जागिर छाड्ने, तर पदक नलिने अडान राखे। लिएनन् पनि।

अर्को वर्ष सन् १९७४ मा दक्षिण कोरियामा भएको दोस्रो ‘एसियन ट्रयाक एण्ड फिल्ड’ प्रतियोगितामा पनि उनले देशलाई कास्य पदक दिलाए। तर, पञ्चायत ढलेर प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि देशले जितबहादुरलाई सम्मान दिन सकेन।

२०६२/६३ सालको जनआन्दोलनपछि गणतन्त्र आयो। जनयुद्ध लडेर आएको नेकपा माओवादीको कोटाबाट युवाराज लामा राखेप सदस्य—सचिव भए। उनकै पालामा खेलकुदमा विशिष्ट योगदान दिएको भन्दै वैकुण्ठ मानन्धर र दीपक विष्टलाई २५—२५ लाख रुपैयाँ दिइयो। पछि संगीना वैधलाई पनि २५ लाख रुपैयाँ नै उपलब्ध गराइयो। तर, देशलाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने जितबहादुरलाई यो सम्मानका लागि लायक ठानिएन। यद्यपि, म्याराथनका वैकुण्ठ मानन्धर उनीभन्दा कनिष्ठ हुन्।

उनको गुनासो अन्य खेलाडीलाई पुरस्कृत गरिएकोमा होइन, आफूलाई घोषणा भएको पुरस्कार पनि नदिइएकोमा छ। जितबहादुरजस्ता खेलाडीको सम्मान नहुँदा नयाँ खेलाडी कुन आशाले खेल क्षेत्रमा आउलान्?