सबैजसो पार्टीका नेताहरू नकमाएको सम्पत्तिमा बाँचिरहेका छन्। यो नै आजको क्रान्तिको अवरोध हो। नकमाएको सम्पत्ति खाने यो प्रक्रियालाई ध्वस्त पार्ने पार्टीमात्रै आजको क्रान्तिकारी पार्टी हो।
आजको समाजलाई अघि बढ्नबाट रोक्ने मुख्य अवरोध राजनीतिको भ्रष्टाचार हो। धेरै अघि देखिको निष्कर्ष हो यो मेरो। त्यस अर्थमा ‘भ्रष्टाचार गर्दिनँ’ भन्ने पार्टी नै आजको क्रान्तिकारी पार्टी हुन जान्छ। पैँसट्ठी सालमा एमालेको केन्द्रीय कमिटीमा आएदेखि पार्टीभित्र मैले त्यस विषयलाई निरन्तर उठाएँ। पहिले हामी सामन्तवादसँग लड्ने कुरालाई क्रान्तिकारी भन्थ्यौँ। ‘राजा सामन्तवादको नाइके हो र ऊसँग लड्ने कुरा गरेपछि हामी क्रान्तिकारी हुन्छौँ’ भन्ने हाम्रो बुझाई थियो। उतिखेर हामी हाम्रा सिद्धान्त, गतिविधि र राजनीति सबै सामन्तवादविरुद्ध नै केन्द्रित गर्थ्यौँ। ‘राजा मुर्दावाद’ भनेपछि सबै कुरा सकिन्थ्यो।
तर राजा पनि गइसकेपछि हामीले भन्यौँ, ‘अब जाने भनेको समाजवादतर्फ हो।’ तर समाजवादमा जान त लामो प्रक्रियाबाट गुज्रनुपर्छ। समाजवादलाई यदि निजी सम्पत्तिको उन्मुलनको अर्थमा लिने हो भने कम्तीमा चीन र भारतमा समाजवादी अवस्था बनेपछि मात्रै हाम्रोमा पनि समाजवाद आउने हो। र, त्यसका लागि हामीले जनताको सामान्य जीवनस्तरलाई माथि उठाउनुपर्छ। र, त्यसो गर्न मुख्य रूपमा रोक्ने शक्ति भनेको दलाल पुँजीवाद हो।
पसिनाबिनाको कमाइ
दलाल पुँजीवाद नकमाएको सम्पत्तिमा बाँच्छ। र, आजका हाम्रा पुँजीपतिहरू उद्यमविनाका पुँजीपति हुन् किनकि हामीसँग ठुला उद्योग छैनन्। आज हामीले गरेको त ‘एक्सचेन्ज’ मात्रै हो। हामीकहाँ उद्योग र उद्यमविनाका पुँजीपति र आयविनाका धेरै नेताहरू छन्। कुनै वैधानिक आयबिना नै राजनीति गर्नेहरूको लर्को अत्यन्त ठुलो छ। नकमाइकन मान्छेको पुँजी बढिराखेको छ, तर त्यस पुँजीले उद्योग र रोजगारी सिर्जना गरेको छैन। जबकि उद्यमशील–पुँजीवादमा पुँजीपतिको नाफा बढ्छ। उद्यमशील पुँजीवादले कुनै क्षेत्रमा लगानी गर्छ या त्यसले अर्को उद्योग जन्माउँछ। उद्योगले फेरि उद्योग जन्माउँछ। स्मरण रहोस्, त्यस उद्योगमा भएको लगानी अरूको (श्रमिकको) अतिरिक्त लाभबाट आएको थियो।
पुँजीवादले मजदुरहरूको अतिरिक्त नाफालाई अर्को उद्योगमा लगानी गरेर अरू मान्छेलाई रोजगारी दिन्छ। यसरी मजदुरहरूले अन्ततः अरू मजदुरहरूलाई रोजगारी सिर्जना गर्न मद्दत गरेका हुन्छन् भन्ने मार्क्सवादी व्याख्या छ। एउटा उद्योगले अर्को उद्योग जन्माउँछ, एउटा मजदुरले अर्को मजदुर जन्माउँछ। निश्चित पुँजीले निश्चित पुँजी जन्माउँछ। मैले सत्र–अठार वर्षअघिदेखि नै हाम्रो अर्थतन्त्रको चरित्र भने त्यस्तो छैन भनेर भनिराखेको छु।
भ्रष्टाचार विरोधीहरू नै क्रान्तिकारी
नकमाएको सम्पत्तिमा बाँच्ने समाज र अर्थतन्त्रले आफूजस्तै राजनीतिक प्रक्रिया र संरचना तयार गर्छ। त्यसो हुँदा हाम्रो राजनीतिक प्रक्रिया र संरचना पनि त्यसकै कब्जामा छ। सिधा भन्नुपर्दा आजका सबैजसो पार्टीका नेताहरू नकमाएको सम्पत्तिमा बाँचिरहेका छन्। र, यो नै आजको क्रान्तिको अवरोध हो। यो नकमाएको सम्पत्ति खाने प्रक्रियालाई ध्वस्त पार्ने पार्टी मात्रै आजको क्रान्तिकारी पार्टी हो।
ल्याटिन अमेरिका, अफ्रिकालगायतका मुलुकहरूका घट्नालाई हामी नियालौँ। पचास र साठीको दशकपछि त्यहाँ प्रजातान्त्रिक अभ्यास सुरु भए। ब्राजिल, चिली, उरुग्वे अथवा इन्डोनेसियामा अमेरिकीहरू आफैँ सोझै क्रियाशील भए। त्यहाँका बौद्धिक मानिसहरू लागे, सिधै सीआइए समेत लाग्यो। अरू कैयौँ ठाउँहरूमा चाहिँ स्वयं त्यही देशका दलहरू भ्रष्ट भइदिए। त्यही काम जुन भ्रष्ट सत्ताले गर्थ्यो, अथवा पिनोसेजस्ता डमीहरूमार्फत गराइन्थ्यो, अब त्यही काम अरूले गरिदिने भए।
यसरी, विगतमा क्रान्तिकारी या लोकतान्त्रिक आन्दोलन या स्वतन्त्रता सङ्ग्रामबाट आएका नेताहरू पनि पछि क्रमशः ‘नकमाएको खाने’ पुँजीसँग लहसिँदै जाँदा तत्–तत् देशका प्रजातन्त्रहरू सङ्कटमा फसे। हामीकहाँ पनि हाम्रा नेताहरू र यस्तो खालको पुँजीसँगको गठजोडले आज हाम्रो प्रजातन्त्र सङ्कटमा छ। र, संसारभर समाजको रूपान्तरणको मुख्य माध्यम राजनीतिक दलहरू हुन् भनेर मान्ने हो भने र, त्यो माध्यम आफैँ प्रतिगमनकारी र भ्रष्ट छ या आफैँ नकमाई कन खान्छ भने त्यसले नकमाएर खाने अर्थतन्त्रलाई कसरी तोड्न सक्छ? बरु त्यसले सजिलो बाटो लिन्छ। त्यही नकमाई कन खाने दलाल पुँजीवादसँग गठबन्धन गर्छ। त्यही गठबन्धनसँग एकाकार हुँदै जान्छ र यी दुवै मिसिएर अन्ततः एउटै बन्छन्।
कुनै पार्टीको मान्छेले भ्रष्टाचार गर्छ कि गर्दैन भन्ने कुराले ‘त्यस पार्टीले समाजलाई अघि बढाउँछ कि बढाउँदैन, समस्याको समाधान गर्छ कि गर्दैन, सबै मान्छेलाई रोजगारी दिन्छ कि दिँदैन, कृषिलाई संरक्षण गर्छ कि गर्दैन, कृषिको उत्पादकत्व बढाउँछ कि बढाउँदैन, हाम्रा कारखानाहरूलाई यसले बचाउँछ कि बचाउँदैन? सुशासन कायम राख्छ कि राख्दैन? शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिन्छ कि लिँदैन? सबै नागरिकलाई समानताका आधारमा व्यवहार गर्छ कि गर्दैन?’ भन्नेलगायतका कुराको सुनिश्चित गर्छ। त्यसैले भ्रष्टाचार नगर्ने पार्टी नेतृत्व र पार्टी चाहिएको हो। त्यस्तो नेतृत्व आफैँ त जन्मँदैन। स्वयं भ्रष्ट पार्टीबाट राम्रो नेता आउँदैन। त्यसैले अब गाउँमा काम गर्नेदेखि लिएर माथि प्रधानमन्त्रीसम्म जन्माउने खालको भ्रष्टाचार विरोधी पार्टी हामीलाई चाहिएको छ।
सम्भव छ त?
एकाउन्न/बाउन्न सालसम्म ‘‘मेरो पार्टीमा कसैले भ्रष्टाचार गर्छ’’ भन्ने कुरा म सोच्दैनथेँ। सामान्यतः आम मान्छेहरू हाम्रो पार्टीका बारेमा त्यस्तो सोच्दैनथे। पार्टीमा आज पनि अल्पमतमै सही, कतिपय मान्छेहरू भ्रष्टाचार गर्दैनन्। ‘पान पनि घुस खाने’ भनेर हाम्रो प्रशासन बदनाम छ तर त्यही ब्युरोक्रेसीमै पनि कैयौँ मान्छेहरू छन्, जो भ्रष्टाचार गर्दैनन्, नगर्ने कसम खाएका छन्। अतः हामीले यी सबै संस्था र समाजमा भ्रष्टाचार नगर्ने मान्छेहरू पनि छन् भनेर बुझ्नुपर्छ। र, हाम्रा लागि भ्रष्टाचार–विरोधी संस्कृति आयात गर्नुपर्ने कुरा होइन। हामीकहाँ सदाचारी बन्नुपर्छ या भ्रष्टाचार गर्नुहुन्न भन्ने संस्कृति पहिल्यै छ।
जसरी स्कुलको सिकाइले लामो समयसम्म बच्चाहरूमा प्रभाव रहन्छ, त्यसै गरी समाज तथा उच्चशिक्षा लिने क्रममा पनि सदाचार र नैतिकताका शिक्षाहरू पाए मान्छेहरू आदर्श र नैतिकवान् निक्लन्छन्। हामीले त्यस्तो देखेका छौँ। र, यो कुरा स्वयं हामीले पार्टी कस्तो बनाउँछौँ भन्ने कुरासँग पनि सम्बन्धित छ। हिजो घुस नखाने पार्टी हामीले बनाएका हौँ र आज घुस खाने पार्टी पनि हामीले नै बनाएका हौँ। समाजमा असाध्य नकारात्मक प्रभाव नपार्ने, त्यसैप्रति सधैँभर प्रतिबद्ध रहने, जनताको नखाने कुराहरू हिजो पार्टीभित्र आम शिक्षण, प्रशिक्षण र छलफल र अभ्यासको विषय थियो।
र, त्यो द्वन्द्वात्मक प्रक्रियाको कुरा हो। पहिले कुनै व्यक्तिले घुस लियो। लजाई–लजाई लियो, अप्ठ्यारो परेरै लियो होला या नचाहेरै लियो होला। तर पछि गएर हेर्दाखेरि त ‘घुस लिने कुरो त राम्रै कुरा रहेछ त।’ भन्ने ठान्यो त्यसले। घुस लिनेलाई नै त्यस्तो लाग्न थाल्यो। अतिरञ्जना पनि होला कि अहिलेका सबैजसो पार्टीका जिल्ला स्तरभन्दा माथिका नेताहरू, अझ पालिकासम्मका खास नेताहरूको ठुलो पङ्क्ति हिजोभन्दा आज र आजभन्दा भोलि भ्रष्ट हुँदै गइरहेको छ। राज्य दोहन गरेर बाँच्ने भए ती मान्छेहरू। तल खोला, खानी, वन, जङ्गल, भन्सार, ठेक्कापट्टा, राजश्व तथा माथि राजश्वको दर नै तलमाथि गर्नेदेखि तल हिसाब मिलाउने कारिन्दासम्मका फौज मिलेर आज राज्य दोहन गर्दै छन्।
एमाले पार्टीकै सदस्य ८ लाख छन् भनिन्छ। ३६ हजार त निर्वाचित हुने पद नै छ एमालेमा। एउटै पार्टीमा यति धेरै मान्छे छन्। त्यसो हुँदा सबै पार्टीका गर्दा पाँच सात लाख मान्छे त राज्य लुटेरै खाने र त्यसमै बाँच्ने होलान्। राज्यको वैधानिक तलब खाने ७ लाखको कुरा मैले गरेको होइन। काम नगर्ने, बेतलबी तर बडो आरामदायी जिन्दगी बाँचिरहेकाहरूको कुरा गरेको हुँ। तिनीहरू लाखौँ छन्, राजनीतिमै छन्।
सम्भव छ!
हामीले इमानदार प्रयत्न गर्ने हो भने सम्भव छ। राजनीतिक हिसाबले भन्ने हो भने माओवादी शान्ति प्रक्रियामा आउँदादेखि नै उ यस बाटोमा हिँडेको भए उसले पूर्ण रूपमा भ्रष्टाचारमुक्त राजनीतिको अभ्यास गर्न सक्ने थियो होला। र, त्यो पनि सापेक्षिक कुरा होला। र, एमालेको कुरा गर्ने हो भने नवौँ महाधिवेशन कालमा त्यस्तो सम्भावना थियो। त्यतिखेर हामी ‘कस्तो पार्टी बनाउनुपर्छ?’ भन्ने एउटा सन्नी कालमा थियौँ। उत्तिखेरसम्म हामी ‘नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन’ भन्दै थियौँ तर नवौँ महाधिवेशनमा आइपुग्दा त क्रान्ति सम्पन्न भइसकेको थियो। क्रान्ति भइसकेको अवस्थाको पार्टी मूलतः शासकीय र व्यवस्थापकीय हुन्छ।
र, शासकीय पार्टीको चरित्र र बनौट कस्तो हुन्छ भनेर छलफल गर्नुपर्ने बेला थियो त्यो। तर धेरै नेताहरूमा नै वैचारिक र सैद्धान्तिक रूपमा अस्पष्टता र अरुचि रहेको देखियो। किनभने त्यतिखेरसम्म एउटा पङ्क्ति नकमाएको सम्पत्तिमा बाँच्ने बनिसकेको थियो। र, त्यस पङ्क्तिलाई सिद्धान्त र विचारसँग कुनै चासो थिएन, बरु सिद्धान्त र विचारसँग उसको दुस्मनी थियो। र, नवौँ महाधिवेशनपछि एमालेको प्रजातन्त्र मर्दै गयो। जति लोकतन्त्र मर्दै जान्छ, उति–उति भ्रष्टाचार सङ्कटरहित हुँदै जान्छ। भोट मात्रै हाल्ने लोकतन्त्रको त अर्थ हुन्न तर वास्तविक लोकतन्त्रमा पार्टीका हरेक सदस्य पूर्ण रूपमा सुसूचित रहन्छन्। र, जो सुसूचित छन्, त्यस्ता मान्छेले नै बढी प्रश्न गर्छन्।
तर नवौँ महाधिवेशनपछि एमालेको पार्टी सञ्चालनमा आन्तरिक लोकतन्त्र साँघुरिँदै गयो। लोकतन्त्र साँघुरिनुले भ्रष्टाचार बढ्छ, संस्थागत हुन्छ। र, पछि लोकतन्त्रलाई स्वयं त्यस प्रक्रियाले मार्दै जान्छ। किनकि प्रारम्भका असावधानी र सानातिना स्वार्थहरूले लोकतन्त्रलाई सुषुप्त राखिदिन्छ। पछि लोकतन्त्र अलिकति अमान्यझैँ हुन्छ। भ्रष्टाचारले खुट्टाले टेकेपछि त त्यहाँ प्रवेश नै केबल भ्रष्टहरूको मात्र हुने दिन आउँछ।
सुधार र विकल्प
सबै पार्टीभित्र केही राम्रा मान्छेहरू छन्। तर सुधारका लागि ती पार्टीमा शक्तिशाली प्रयत्नको खाँचो छ। सामान्य प्रयत्नलाई त कच्याककुचुक पारेर गोडाले टेक्नै दिइन्न। र, आजका दिनमा त्यस्ता प्रयत्नहरू आफ्ना खुट्टामा उभिन सकेका छैनन्। भ्रष्टाचारलाई प्रतिरोध गर्ने संरचनाहरू बनिसकेका छैनन्। फ्रेन्च क्रान्तिताक ‘रानी भ्रष्टाचार छिन्’ भन्ने कुरा बलियो रूपले स्थापित भएको थियो। रसियाको फेब्रुअरी क्रान्तिमा पनि त्यस्तै चर्चा चलेका थिए। सोही कारण, चार सय वर्षे अर्थोडक्स चर्च लगायतले संरक्षण गरेको रसियन जारशाही हिँड्यो।
म हाम्रो प्रणालीमै सङ्कट देख्छु। नेपाल भूराजनीतिक हिसाबले पनि अप्ठ्यारो ठाउँमा छ। त्यसका स्वार्थहरू अहिले बढेर गएका छन्। हाम्रो विकासको स्तर पनि कमजोर छ। अरू ३–४ वर्षमा हामीले राजनीतिक पार्टीले ‘यो पार्टीका मान्छेले घुस नखाने भए’ भन्ने इम्प्रेसन दिने हो भने त्यस्तो पार्टीले मात्रै लोकतन्त्र बचाउँछ। नत्र ३–४ वर्षमै लोकतन्त्रमाथि खतरा देख्छु।
हुटहुटी र निष्कर्ष
भयंकर भोकमा युवा पुस्ताले के खाइराखेको छ? विष खाइराखेको छ नार्कोटिक? उनीहरूको आक्रोश, निन्दा र भर्त्सना देख्दा नयाँ पुस्ताका युवा पनि केबल घाँटीमाथि मात्रै बोलिरहेका छन्जस्तो लाग्छ। र, साँच्चै केही गरौँ भन्ने मान्छेहरू त्यहाँ पनि कमै देखिएका छन्। आम रूपमा, नाराका रूपमा त युवाहरूले राम्रै कुरा उठाएझैँ देखिन्छ तर उति राम्रो लक्षण मैले देखिराखेको छैन। नयाँ पुस्ताले साँच्चै हस्तक्षेप गरेर भ्रष्टाचार रोक्न प्रयत्न गरे भने त गजब हुन्थ्यो। विश्वव्यापी शिक्षा, सूचना र ज्ञानको पहुँच सजिलो छ। र, त्यस्तो फराकिलो र गहिरो अध्ययन कुरा राख्ने नेतृत्व भइदिए हुन्थ्यो। दायराको कुरा गर्दा पहिलाका विद्यार्थी आन्दोलनहरूबाट अत्यन्त राम्रा नेतृत्व आउँथे। २०६२ सालसम्म युवाहरूले जस्तो कुरा गर्थे र जुन विचार बोक्थे, त्यही स्तरका जिम्मेवार मान्छेहरू ‘स्वतन्त्र अभियान’हरूबाट आउन बाँकी छजस्तो लाग्छ।
र, कम्तीमा कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यले कम्तीमा अनुत्पादक लगानीबाट ब्याज नलगाउन्, मिटर ब्याज नलगाउन्। रोजगारी नदिने खालको व्यवसाय तिनले नगरुन् र भाडा खाएर नपालिउन्। र, अन्य निश्चित अनुशासनले ती बाँधिउन्। र, आजको हिसाबले अरू दस पन्ध्र वर्ष, केन्द्रीय कमिटीको मान्छेलाई अझै कस्नुपर्छ। केन्द्रीय सदस्य एउटा कसिलो प्रक्रिया र परीक्षणबाट गुज्रनुपर्छ। र, त्यो काम जोडदार ‘आइडलिजकल प्रयत्न’बाट मात्रै सम्भव छ। र, यसरी दुनियाँका अघि उभिएर ‘हाम्रो पार्टीमा कसैले घुस खाँदैन’ भन्ने अवस्था सिर्जना गर्न सकिन्छ। र, यस्तो पार्टी बनाउन लाग्नेबाहेक हामीसँग अरू कुनै उपाय छैन। र, हामीले त्यस्तो प्रयत्न गर्ने हो भने हाम्रो प्रयत्नले धेरै जनसमर्थन पनि पाउँछ।
भ्रष्टाचारमाथि संगठित हस्तक्षेपचाहिँ पार्टीले नै गर्ने हो। एउटा व्यक्तिले गर्न सम्भव कुरा होइन। असंठित प्रयासबाट त्यो सम्भव हुन्न। र, हस्तक्षेपकारी सङ्गठन भनेको राजनीतिक सङ्गठन नै हो। र, म सोच्छु कि हाम्रो लोकतन्त्र बहाल होस्। हिजो कम्युनिस्ट पार्टीका हरेक कमिटीहरू निर्वाचित हुने गर्थे। फेरि त्यो ग्यारेन्टी गर्नुपर्यो। त्यसअघि ‘रिक्रुटिङ’ नै गर्नु पर्यो। रिक्रुटिङको अर्थ वैचारिक शिक्षादीक्षा पनि हो। त्यस योग्यताका मान्छेहरू पार्टीको सदस्य बन्नुपर्यो।
जस्तो कि : बहुदल आउँदाखेरि, अग्र मोर्चामा नेतृत्व काँग्रेसले सम्हालेको थियो भने कार्यकर्ताहरूको हकमा अग्रमाेर्चामा माले पार्टीले थियो। र, बहुदल आउँदाखेरि माले पार्टीका मान्छेहरू एक हजार पनि थिएनन्। मालेका नेता–कार्यकर्ताको नैतिकताको स्तर त्यति उच्च थियो र तिनको प्रभाव बलजफती थियो। र, आम जनसमुदायमा तिनले जे बोल्थे, जे गर्थे, सङ्गठनकै शिक्षादीक्षाको प्रभाव थियो त्यो। हिजो पार्टीमा जो पायो छिर्नै सक्थेन, तर आज जो पायो त्यहीलाई हुल्न थालियो। इमानदार मान्छेलाई मात्र छिराउने प्रणाली विकास गर्न सकेनन् पार्टीहरूले।
त्यसका लागि वैचारिक शिक्षादीक्षाको ग्यारेन्टी गर्नुपर्यो। अर्को कुरा, हरेक कमिटीका नेताहरू चुनिएर आउँदा उनीहरू कुनै कार्यक्रमका साथ आउनुपर्यो। कोही किन नेतृत्वमा आउन खोजेको हो भन्ने कुरा लेखेरै बुझाउनुपर्यो। त्यसको सार्वजनिक सुनुवाइ हुनुपर्यो। र, एउटा तहसम्म हामीले सम्पत्तिको विवरण, तिनको खर्च र तिनको जीवनस्तर पारदर्शी हुनुपर्यो। र, सबै विशेषाधिकारहरूको अन्त्य हुनपर्यो। म आदर्शवादी सुनिन सक्छु तर त्यसो नगरीकन हुँदैन भन्ने लाग्छ मलाई।
(कुराकानीमा आधारित।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
