१० गिद्ध स्थानान्तरण

सेतो रम्पेड जातका गिद्धलाई जटायु रेस्टुरेन्टमा केही दिन अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जंगलमै छाडिने छ ।

तस्वीर : रासस

नवलपरासी– गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेस्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ।

सेतो रम्पेड जातका ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्टमा ल्याइएको संरक्षणविज्ञ डिबी चौधरीले बताए। उनका अनुसार गिद्धलाई त्यहाँ केही दिन अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जंगलमै छाडिने छ।

कसराको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका ५९ गिद्धलाई जंगलमा छाडिसकिएको छ। यसरी छाडिएका गिद्धको गणना गर्न ढाड र खुट्टामा स्याटेलाइट ट्याग लगाउने गरिएको संरक्षणविज्ञ चौधरीले बताए। उनले भने, “यहाँबाट छाडिएका गिद्ध कहाँ र कुन अवस्थामा छन् दैनिक मनिटरिङ गरिन्छ।”

अहिले ल्याइएका गिद्धलाई आगामी मार्चमा जंगलमा छाड्ने तयारी छ। त्यसअघि तिनीहरूलाई प्रकृतिमा बाँच्न, आहारा खोज्न, मौसमअनुसार बस्न अभ्यस्त गराउने गरिएको छ। लोपोन्मुख गिद्धको संरक्षणका लागि २०६३ भदौमा कावासोतीको पिठौलीस्थित सामुदायिक वनमा गिद्ध रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको थियो।

रेष्टुरेन्टमा बुढ्यौली लागेका चौपाया आहारा दिएर गिद्धलाई लोभ्याइन्छ। नेपालको गिद्ध प्रजनन केन्द्र र जटायु रेस्टुरेन्ट परियोजना संसारमै सफल मानिएको छ। ४० जंगली गिद्ध समातेर स्याटेलाइट ट्याग लगाएर जंगलमै छाडिएको छ।

नेपालमा हाल नौ प्रजातिका १५ हजारको संख्यामा गिद्ध रहेको अनुमान छ।