डडेलधुराबाट आइतबार धनगढी झरेका कांग्रेस सभापति देउवा कैलालीका बागी उम्मेदवार तथा असन्तुष्ट कार्यकर्ता कसैलाई फकाउने र कसैलाई कारबाहीको चेतावनी दिएर कैलाली–५ मा नै किन केन्द्रित भइरहेका छन्?
धनगढी– गृहजिल्ला डडेलधुराबाट आइतबार साँझ कैलाली सदरमुकाम धनगढी पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार दिनदेखि कार्यकर्ता भेटघाटमा व्यस्त छन्। धनगढी पुगे लगत्तै उनले कैलाली–३(ख) मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीसँग भेटघाट गरे।
कैलाली–३(ख) का बागी उम्मेदवार जोशीलाई भेटे पनि उनको उद्देश्य कैलाली–५ मा कांग्रेस उम्मेदवारको जित सहज बनाउनु हो। त्यसैले उनी कैलालीका असन्तुष्ट कांग्रेसलाई धमाधम भेट गरिरहेका छन्।
कैलाली–५ मा २०७४ सालको आमनिर्वाचनमा देउवापत्नी आरजु उम्मेदवार थिइन्। उनी वाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन्। रानाले २७ हजार २०२ मत पाउँदा आरजुले २२ हजार ३३२ मत पाएकी थिइन्।
त्यति बेला आरजुलाई ‘टुरिष्ट उम्मेदवार’को आरोप लागेपछि देउवाले धनगढी उपमहानगरपालिका–४ वेहणीमा घर किनेका थिए। अहिले देउवा त्यही घरमा बसेर कार्यकर्ता भेटघाट गरिरहेका छन्। कैलाली–५ मा यसपटक कांग्रेसले डिल्लीराज पन्तलाई उम्मेदवार बनाएको छ। प्रदेशसभातर्फ (क) मा माओवादीका रमेश धामी र (ख) मा प्रकाश देउवा उम्मेदवार छन्। प्रकाश प्रधानमन्त्रीका भतिजा हुन्।
प्रधानमन्त्री देउवा भतिजालाई प्रदेशसभामा जिताउन पनि धनगढीमा ‘अड्डा जमाएर’ बसेको कांग्रेसका एक नेता बताउँछन्। त्यस्तै पाँच वर्षपछिको निर्वाचनमा प्रतिनिधिसभामा आरजुको लागि वातावरण बनाउन सो क्षेत्रबाट कांग्रेसलाई जिताउन देउवाले बल लगाइरहेको पनि ती नेताले बताए।
सो क्षेत्रमा प्रतिनिधिसभाका लागि कांग्रेसका पुराना नेता पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। २०७४ सालको निर्वाचनमा आरजुविरुद्ध लागेको आरोपमा उनलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। गएको स्थानीय निर्वाचनमा ओझाले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई समर्थन जनाएका थिए।
पाँच दलीय गठबन्धनका बावजूद कांग्रेस उम्मेदवार नृप वड पराजित भएका थिए। उपप्रमुखमा एमालेका कन्दकला कुमारी राना निर्वाचित भइन्। कांग्रेसभित्रकै असन्तुष्टिका कारण पराजित हुनुपरेको ती नेताले बताए।
त्यहीकारण कैलाली–५ मा कांग्रेसको जित सुनिश्चित गर्न देउवाले जोडबल गरिरहेका छन्। उनी गएको आइतबार डडेलधुराबाट धनगढी झरेका थिए। बुधबार बैतडी र दार्चुलामा सत्ता गठबन्धनले गरेको सभामा भाग लिन गएका उनी बुधबार नै धनगढी झरिसकेका छन्। उनी बिहीबार मात्र काठमाडौँ जाने कार्यक्रम छ।
“पार्टीभित्रको असन्तुष्टि र बागी उम्मेदवारीले गठबन्धन कमजोर बन्ने अवस्था देखिएपछि सभापतिज्यू आफैँ सक्रिय हुनुभएको छ”, कांग्रेस कैलालीका ती नेताले भने, “यो समस्या पहिले समाधान गर्न पटकपटक आग्रह गरिएको थियो। तर, चुनाव नजिकिँदै गर्दा छलफल गरेर समाधान कसरी होला?”
ती नेताका अुनसार देउवाले असन्तुष्ट कतिपयलाई निवासमा बोलाएर फकाइरहेका छन् भने कतिपयलाई कारवाहीको चेतावनी पनि दिइरहेका छन्। “कतिपय असन्तुष्ट र बागी उम्मेदवारलाई बोलाएर पार्टीले मूल्यांकन गर्ने भन्दै आश्वासन दिएर पनि फकाइरहनुभएको छ”, ती नेता भन्छन्, “अब धेरै ढिलो भइसकेकाले धेरै साथीहरू ब्याक हुन तयार देखिनुभएको छैन।”
क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा बागी उम्मेदवारी दिएका जोशीले आफूलाई पार्टी सभापतिले राष्ट्रियसभामा ल्याउने आश्वासन दिएको बताए। तर, अब ढिला भइसकेको आफूले जवाफ दिएको उनले बताए।
प्रतिनिधिसभामा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूको पक्षमा लागेकालाई समेत कैलाली कांग्रेसले स्पष्टीकरण सोधिसकेको छ।
ओझाको स्वतन्त्र उम्मेदवारीले त्रिपक्षीय भिडन्त
कैलाली–५ मा पुष्करनाथ ओझाको स्वतन्त्र उम्मेदवारीले यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा प्रतिनिधिसभातर्फ १० जनाको उम्मेदवारी छ।
एमालेबाट अघिल्लो निर्वाचनमा विजयी राना नै उम्मेदवार छन्। कांग्रेसभित्रको असन्तुष्टि र बागीका कारण राना विजयी हुने एमाले नेताहरू बताउँछन्। तर, धनगढीमा लोकप्रिय मानिएका ओझाको पनि राम्रो प्रभाव रहेको उनी निकट एक नेताले बताए। स्थानीय तह निर्वानमा स्वतन्त्र उम्मेदवार हमाललाई जिताउन ओझाको पनि भूमिका थियो।
२०७० सालको उपनिर्वाचनमा कांग्रेसबाट विजयी ओझा २०७४ सालमा पनि टिकटका आकांक्षी थिए। तर, आरजु उम्मेदवार बनेपछि उनी रूष्ट बनेका थिए।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पन्त तीन पार्टीको समर्थन भएकाले आफ्नो जित निश्चित भएको बताउँछन्। “संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि हाम्रो गठबन्धन बनेको हो। म साझा उम्मेदवार हुँ”, उनले भने, “स्थानीय तहजस्तो प्रतिनिधि र प्रदेशसभामा स्वतन्त्रले प्रभाव पार्न सक्दैनन्। दलीय व्यवस्था भएकाले दलहरूकै भूमिका हुन्छ। त्यो कुरा मतदाताले पनि बुझेका छन्।” पन्त २०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ निर्वाचित भएका थिए।
पन्त आफूले स्वास्थ्य संस्थाको सुधार, धनगढीलाई सुविधासम्पन्न शहर बनाउने, धनगढी–खुटिया–दिपायल सडक निर्माणलाई तीव्रता दिनेलगायतका अजेन्डा लिएर मत मागिरहेका छन्। स्वतन्त्र उम्मेदवार ओझाले सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, गेटामा मेडिकल कलेज सञ्चालन, प्रादेशिक विश्वविद्यालय स्थापनालगायतका अजेन्डा अघि सारेका छन्।
एमाले उम्मेदवार रानाले अघिल्लो कार्यकालका अधुरा कामलाई पूर्णता दिने प्रतिबद्धता जनाएका छन्। उनले धनगढी बजारलाई व्यवस्थित गर्ने, धनगढी विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल गर्नेलगायत चुनावी अजेन्डा लिएर मत मागिरहेका छन्।
नगढी उपमहानगरका १९ वडा, कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ पर्ने कैलाली–५ मा एक लाख पाँच हजार ७९३ मतदाता छन् । स्थानीय निर्वाचनको नतिजा हेर्दा यहाँ नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २२ हजार ७७९ मत पाएका छन्।
दोस्रो ठूलो दल एमालेका वडाध्यक्ष उम्मेदवारले १७ हजार ४२० मत पाउँदा माओवादीले आठ हजार १७६, एकीकृत समाजवादीले दुई हजार एक, राप्रपाका उम्मेदवारले एक हजार ७९७ मत पाएका छन्। वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा सत्तारुढ गठबन्धनसँग ३२ हजार ९५२ मत छ भने एमालेसँग १७ हजार ४२० मात्रै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
