हाम्रा साथीहरू जिल्ला–जिल्लामा पुग्नुहुन्छ। हामीसँग लावालस्कर मोटर छैनन्, सार्वजनिक सवारीसाधनमै यात्रा गर्छाैं। हामीसँग जति बजेट छ, त्यहीअनुसार काम गर्छाैँ। जति गरेका छौँ, राम्रो गरेका छौँ।
पञ्चायत/बहुदलका चुनाव र अहिलेका चुनावमा धेरै फरक छ। उतिखेर निर्वाचनमा अहिलेजस्तो मनलागी पैसा खर्च हुन्नथ्याे। तर बिस्तारै खर्च गर्ने र चमकधमकपूर्ण चुनावी सभा गर्ने चलन बढ्दै गयो। हामी र हाम्रो पार्टीले वर्गको कुरा गर्दैगर्दा अरू पक्ष र पार्टीहरूले जात र भाषाका मुद्दा उठाउँथे। किसान केन्द्रित भएकाले होला, हामीलाई 'ज्यापु पार्टी' भन्थे। उपत्यकाबाहिरका जिल्लामा जाँदा 'अछुतको व्यवहार' गर्थे अन्य पार्टी र तिनका नेताले। उनीहरू 'ज्यापुलाई भोट नदेऊ, खर्पनेलाई भोट नहाल'समेत भन्थे। हामी भने 'संसार बनाएकै ज्यापुहरूले हो, उनीहरू भएनन् भने मान्छे भोकै मर्छन्' भन्थ्यौँ। 'किसान र ज्यामी नभए संसार चल्दैन। ज्यापुलाई भोट देऊ, खर्पनेलाई भोट देऊ' भन्थ्यौँ। किसानले अरू धेरै कुरा नबुझे पनि यतिचाहिँ बुझ्थे।
अरूहरू कति सङ्कीर्ण थिए भने हामीसँग धेरै नेवार जनमत भएकै कारण पञ्चायतको बेला उनीहरू हामीलाई 'जोगमेहर श्रेष्ठको मान्छे' भनिदिन्थे। आफूलाई कम्युनिस्ट भन्ने तर जातकै आधारमा नेवार र ज्यापुहरूलाई विभेद गर्ने विराेधाभासपूर्ण स्वभाव थियो। उनीहरू 'जहाँ नेवार, त्यहाँ फोहोर'समेत भन्थे। तर प्रजातन्त्र पुनः प्राप्तिपछि हामीले जितेका स्थानीय र संसदीय क्षेत्रमा हामीले साँच्चै राम्रो काम गर्यौँ। चिटिक्क परेका पार्टी र पौवामा बूढा मान्छेहरू बस्न थाले। अनि त हाम्रा विरोधीहरूले समेत 'यी पटुका कस्नेहरू जति सबै कम्युनिस्ट रहेछन्' भन्न थाले। ती नस्लवादीहरूका भाष्यलाई भने हामीले अन्ततः उल्टाइदियौँ। भक्तपुरका नेवार बस्तीहरू आज कति सफा र सुन्दर छन्, हेर्न आउनुहोस्।
पहिले हाम्रो पार्टीमा नेवार साथीहरू मात्रै हुनुहुन्थ्यो, तर बिस्तारै केन्द्रीय समितिमा तामाङहरू पनि आउनुभएको छ। तामाङ क्षेत्रमा उहाँहरू आफैँ जानुहुन्छ। हामीसँग बिस्तारै सबै ठाउँमा महिलाहरू पनि उत्तिकै सङ्गठित हुँदैछन्। जुम्लामा पनि महिलाहरूको सक्रिय सङ्गठन छ। १० वर्षपछि त नेमकिपालाई महिलाहरूले नै हाँक्छन् भन्ने विश्वास छ।
पुस्तान्तरणबारे
मान्छेहरू भन्छन् 'नयाँ पुस्ता अगाडि आउनुपर्यो।' म मात्रै कति सांसद बन्ने? सोही कारण २०७४ सालपछि चुनावी प्रतिस्पर्धामा आफूले भाग नलिने निर्णय लिएँ। संसद्मा धेरै पटक पुगेकाले मैले संसद्का कुराहरू बुझ्ने मौका पाएको छु। त्यसमाथि पार्टीका अरूअरू विषयमा ध्यान दिनुपर्ने भएकाले नयाँ पुस्तालाई अगाडि बढाउने विषय झनै सान्दर्भिक हुनगयाे।
म त अझ महिलालाई अघि बढाउनुपर्ने ठान्छु। हामीले मेहनत गरेर पढेलेखेका महिलाहरू, त्यसमा पनि किसानकै छोराछोरीलाई हाम्रो पार्टीमा अघि सारेका छौँ। संसद्मा बोल्न पनि नजान्ने र देश तथा दुनियाँबारे केही थाहा नपाएकाहरू आउनु ठिक भएन भन्ने अनुभवका आधारमा हामीले त्यस्तो निर्णय लिएका हौँ। सामन्ती र सम्भ्रान्त परिवारका पृष्ठभूमिबाट आएकासँग भिड्न त्यस्ता प्रतिनिधिहरू ल्याउनु आवश्यक हुन्छ। हाम्रो पार्टीमा पुस्तान्तरण भइरहेको छ।
कतिपयले नेमकिपा राष्ट्रिय पार्टी भएन भन्छन्। तर हाम्रो दृष्टिकोण नै अन्तर्राष्ट्रिय छ। हाम्रा साथीहरू जिल्ला–जिल्लामा पुग्नुहुन्छ। हामीसँग लावालस्कर मोटर छैनन्, हामी सार्वजनिक सवारीसाधनमै यात्रा गर्छाैं। त्यसले गर्दा हामीलाई गाह्रो छ। हामीसँग जति बजेट छ, त्यहीअनुसार काम गर्छाैँ। जति गरेका छौँ, राम्रो गरेका छौँ। भ्रष्टाचारको कुरा छैन।
हाम्रा कर्महरू
हामीले भक्तपुरमा ख्वप: अस्पताल बनायौँ। यदि, त्यो अस्पताल बनेको हुन्थेन भने धेरै नेपालीहरूको ज्यान जानेथियाे। अस्पतालको रेकर्ड हेर्ने हो भने भक्तपुरबाहिरका मान्छे एक तिहाइभन्दा बढी आउँछन्। योजस्तो जनताको सेवा के हुनसक्छ? हामीले स्थापना गरेका स्कुल र कलेजमा अन्यत्रका मान्छे आएर पढ्ने र सर्भ गर्ने गरेका छन्। तलैदेखि काम गर्दा जनतालाई सुख दिन सकिनेरहेछ भन्ने शिक्षा हामीले पाएका छौँ। हामीले जस्तै अरूले पनि काम गर्ने हो भने जनताले सुख नै पाउनेछन्।
२५ वर्षअघि सदन पुग्दादेखि नै मैले प्रत्येक वडामा शिशुशाला र किन्डरगार्टन बनाइदेऊ भनेर सरकारसँग झगडा गर्न थालेँ। हामीले कहिले पनि मन्त्री देऊ, हाम्रो मान्छेलाई जागिर देऊ भनेनौँ। शिशुशाला या किन्डरगार्टन बनाइयो भने बच्चाहरूको राम्रो हेरचाह हुन्छ र आमाहरूले समेत काम गर्न पाउँछन्। किन्डरगार्टनमा काम गर्ने केही लाख भाइबहिनीहरूले रोजगारी पाउँछन् भन्ने मेरो मत थियो।
अहिले भक्तपुर नगरपालिकाले त्यस्तो शिशुशाला बनाएको छ, त्यसको काम आएको छ। एउटा सहकारी संस्थालाई गुहारेर हामीले ज्येष्ठ नागरिकको निम्ति 'आदर निकेतन' बनाउँदैछौँ। जीवनभर काम गरेकालाई कमसेकम सहज मरण त दिनुपर्छ। छोराबुहारी काममा जानुपर्ने अवस्थामा बाआमालाई त्यत्तिकै छाड्न मिल्दैन। आदर निकेतनले बूढा बाआमाको हेरचाहमा भूमिका खेल्नेछ।
संघीय सरकारले यस्ता काम गर्न सक्दैन, आधाभन्दा बढी रकम त चुहावट हुन्छ। संघीय सरकार डोकोजस्तै हो, डोकोमा पानी अटाउन सम्भव हुन्न। त्यसैले जनताले नै जनताका लागि काम गर्ने मोडलिटी हो हाम्रो। हामीले कलेजहरू खोलेको छौँ। तर, केन्द्रले त्यसका लागि एक पैसा दिएको छैन। अरू नगरपालिकालाई ६०-७० करोड दिँदा हामीलाई एक पैसा छैन।
पहिले 'सय बेडको अस्पताल रहेनछ' भनेर सरकारले हाम्रो नर्सिङ कलेज नै बन्द गरिदियो। जबकि, त्यतिको बेडको अस्पताल बनाउने काम कठिन हो। तर सबै जनता मिलेर त्यसमा सहयोग गरे। कोरोनाकालमा अक्सिजन नभएर मान्छेकै ज्यान जाने अवस्था आउँदासमेत हामीलाई सरकारले पैसा दिएन। जनतासँग ६ करोडभन्दा बढी पैसा उठाएर व्यापारीमार्फत चीनसँग अक्सिजन किनेर घरघरमा पुर्याइदियौँ। सरकारले जुन कुरा गर्न सकेन, त्यो हामीले सक्यौँ। जनता मिलेर त्यो सबै गर्यौँ। जनताकै एकताका कारण काेराेनाकालमा धेरै मान्छेको ज्यान बच्यो। सेवा लिन भक्तपुरबाहिरका जनता पनि आए। हामीले उहाँहरूको जिल्लामा गएर काम गर्नुपर्थ्यो, हाम्रै जिल्लामा उहाँहरू आउनुभयो। यसरी हामी जनतासँग मिलेर निरन्तर जनताको सेवामा समर्पित छौँ।
फरक र इमानदार हुनाले पनि हामी कमजोर
नेपालमा प्रधानमन्त्री र मन्त्री हुने बित्तिकै आफ्नोमात्रै क्षेत्रमा पैसा ओइराउने चलन छ। तर नेताले खास क्षेत्र मात्रै बनाउने होइन, सिङ्गो देश बनाउने हो। मन्त्री भएर आफ्नो छोराछोरीलाई मात्रै सुविधा सम्पन्न काठमाडौँमा पढ्ने अवसर जुटाउने होइन, सबैका छोराछोरीका लागि हुने गरी विश्वविद्यालय खोल्ने हो। खासमा, हामी र अन्य दलमा भएको फरक नै त्यही हो। हामीलाई पहिले लाग्थ्यो, "अरू जिल्लाहरूमा कति धेरै राम्रा काम भइरहेका होलान्, हामी पछि परेका छौँ होला।" तर पछि थाहा भयो, हामी त धेरै विकसित रहेछौँ उनीहरूभन्दा।
त्यसो हुँदाहुँदै पनि हाम्रो दलको विस्तार अरूको जति सन्तोषजनक छैन। यसका अनेक कारण छन्। काठमाडौँमै समेत अन्य दलका उम्मेदवारहरूले पैसा बाँडेका कुरा मैले विगतका चुनावमा सुनेको छु। धेरैले त्यसरी पैसा बाँडेको हुनुपर्छ। धनपतिहरूले धन बाँड्ने हो, ज्ञानपतिहरूले ज्ञान। पैसा मात्रै भएका मान्छेहरूलाई टिकट बाँडेपछि हुने त्यही हो। सिद्धान्तहीन भएपछि पुगिने त्यहीँ हो। पैसा बाँड्ने कुरा हामी गर्दैनौँ। त्यस कारण पनि हामी विस्तारित हुनमा बाधा पर्यो। त्यसमाथि, नेमकिपा देख्नेवित्तिकै अन्य सबै दलहरू हामीविरुद्ध मिल्न थाले। अन्य दलहरूले कालिकोट, दैलेख, जुम्लामा पैसा खर्च गरेनन् भने हामीलाई हराउन सक्दैनन्। तर सबै मिलेर टन्न खर्च गरेपछि हाम्रो के लाग्छ?
हामीले चुनावमा पर्चा लगेर जनतालाई दिँदा उनीहरू भन्छन्, "तपाईंले कागज दिनुभयो, कागज खानुभएन, अरूले आएर खाना, माछामासु र लुगा दिन्छन्।" कतिपय दलहरूले त ग्यासका सिलिन्डरसमेत बाँड्दा रहेछन्। जबकि, त्यस्ता चीजहरू त कम्पनीहरूले उम्मेदवारमार्फत जनतालाई दिने हो। हाम्रा जनता साह्रै सोझा र इमानदार छन्। नुनको सोझो गर्नुपर्छ भन्ने ठान्छन्। जनता सोझा हुँदा पनि हामी पछि परेका छौँ। त्यसो हुँदाहुँदै पनि ५८ जिल्लाबाट समानुपातिक र प्रतिनिधिसभामा हामीले उम्मेदवार उठाएका छौँ।
कतिपयले जात र धर्मका आधारमा राजनीति र संगठन विस्तार गर्दा हामीले त्यसो गरेनौँ। हामीले विशुद्ध वर्गको कुरा गर्यौँ र गर्छाैं। त्यसो भएपछि तल्लो वर्गका मान्छेहरूसमेतलाई हामीले सांसद बनायौँ। यसो भएपछि सम्भ्रान्त वर्गका मान्छेहरू 'आफूहरूले हेला गरिरहेका मान्छेलाई यिनीहरूले सांसद बनाइदिए' भनेर रिसाए। 'हाम्रो जिल्लामा आएर हाम्रै इज्जत लुट्यो' समेत भने। यसरी खास वर्गका मान्छेहरू हामीविरुद्ध एक ढिक्का हुन थाले। हामी पेलानमा परेका हौँ।
अर्को कुरा, हामीले राज्यदाेहन गरेर सम्पत्ति कमाएका छैनौँ। जसका कारण हामीसँग चुनाव प्रचारकै लागि जानसमेत पर्याप्त रकम छैन। जबकि, उनीहरू मोटरसाइकल, हवाईजहाज, हेलिकप्टरलगायत सबै खालका साधन प्रयोग गरिराखेका छन्। पहिले पहिले तीन मोहर तिरेर हामी पार्टी विस्तारका लागि काठमाडौँबाट ट्रकमा वीरगन्ज जान्थ्यौँ। त्यसरी कम पैसाले यात्रा गर्थ्याैं। तर अहिले हजार रुपैयाँ गोजीमा नभएर घरबाट निस्कन असहज छ। उनीहरूसँग पैसा छ, सरकारसमेत छ। यस्तो अवस्थामा इमानदार र नैतिकवान् पार्टीहरूलाई गाह्रो भयो। जनताले हाम्रा कुरा बुझ्ने त्यो दिन पनि आउला।
(कुराकानीमा आधारित)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
