एशियाली राष्ट्र: सहभागिताभन्दा माथि उठ्न चुनौती

कतार विश्वकपमा ६ वटा एशियाली राष्ट्र सहभागी हुन लागेको यो पहिलोपटक हो। यीमध्ये पाँचवटा राष्ट्र छनोट चरण पार गरेर कतार पुगेका हुन्। कतार भने आयोजक राष्ट्रको हैसियतमा छ।

काठमाडौँ- आइतबारबाट शुरू भएको २२औँ संस्करणको कतार फिफा विश्वकपमा एशियाली राष्ट्रहरूका लागि सहभागिताभन्दा माथि उठेर उच्च खेल प्रदर्शन गर्ने चुनौती हुनेछ।

कतार विश्वकपमा ६ वटा एशियाली राष्ट्र (दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, अस्ट्रेलिया तथा इरान) सहभागी हुन लागेको यो पहिलोपटक हो।

फिफा विश्वकपको ९२ वर्ष लामो इतिहासमा एशियाली राष्ट्रहरूको प्रदर्शन उल्लेखनीय हुनसकेको छैन। २१औँ संस्करणको विश्वकपसम्म आइपुग्दा जम्मा १३ वटा एशियाली राष्ट्रले मात्रै सहभागिता जनाउन पाएका छन्। जसमा दक्षिण कोरिया सन् २००२ मा सेमिफाइनल (तेस्रो भएको) र उत्तर कोरिया १९६६ को विश्वकपको क्वार्टरफाइनलमा पुग्नु एशिया क्षेत्रका लागि सबैभन्दा ठूलो उपलब्धि हो।

२००२, २०१० मा दोस्रो र २०१८ मा अन्तिम विश्वकप खेलेको जापान छैटौँपटक विश्वकप खेल्ने तयारीमा छ। यता, इरानको पनि यो छैटौँ विश्वकप हो। तर, अहिलेसम्म इरान दोस्रो चरणमा प्रवेश गर्न सकेको छैन। साउदी अरबको पनि यो छैटौँ विश्वकप हो। तर, १९९४ मा अमेरिकामा आयोजना भएको १५औँ विश्वकपमा पहिलोपटक सहभागिता जनाएको साउदी अरब अहिलेसम्म दोस्रो चरणमा पुग्नसकेको छैन।

फुटबलको सर्वोच्च निकाय फिफाको एशियाली महासंघमा आबद्ध भएपछि अस्ट्रेलियाको यो चौथो विश्वकप हो। तर, यसअघिका तीनपटक भने पहिलो चरणबाटै बाहिरिएको थियो। २००२ मा अस्ट्रेलिया ओशिनियासँग सम्बन्धित भएर दोस्रो चरणमा प्रवेश गरेको थियो।

सफल उत्तर र दक्षिण कोरिया
१९३० मा पहिलोपटक विश्वकप आयोजना हुँदा यी दुई राष्ट्र विश्व फुटबलको सर्वोच्च निकाय फिफाका सदस्य थिएनन्। त्यसैले यी दुई राष्ट्रले विश्वकपका चार संस्करणसम्म सहभागिता जनाउन पाएनन्। यद्यपि, दक्षिण कोरियाले १९५४ देखि हालसम्म १० वटा विश्वकपमा सहभागिता जनाइसकेको छ। यता, २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकपको समूह चरणबाटै बाहिरिएको उत्तर कोरियाले पनि दुईपटक विश्वकपमा सहभागिता जनाउने मौका पाइसकेका छ।

१९६६ मा इंग्ल्यान्डमा आयोजना भएको ८औँ संस्करणको विश्वकपमा उत्तर कोरिया क्वार्टरफाइनलसम्म पुग्न सफल भएको थियो। समूह चरणको पहिलो खेलमा सोभियत संघसँग ३-० गोल अन्तरले पराजित भएको दक्षिण कोरियाले दोस्रो खेलमा चिलीलाई १-१ को बराबरीमा रोकेको थियो। तर, तेस्रो तथा अन्तिम खेलमा उत्तर कोरियाले इटालीमाथि १-० को जित निकाल्न सफल भयो।

तर, क्वार्टरफाइनलमा पोर्चुगलसँग ५-३ ले पराजित हुँदा उत्तर कोरिया प्रतियोगिताबाटै बाहिरियो। त्यसपछि द्वन्द्वमा परेको उत्तर कोरिया ४४ वर्षपछि २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको १९औँ विश्वकपमा फर्कियो। तर, पाँचपटकको विश्वविजेता ब्राजिलसँग २-१, पोर्चुगलसँग ७-० र आइभरी कोस्टसँग ३-० ले पराजित हुँदा उत्तर कोरिया समूह चरणबाट अगाडि भने बढ्न पाएन।

यता, ११औँ पटक विश्वकपमा सहभागिता जनाउन लागेको दक्षिण कोरियाको पनि यात्रा सुखद रहन सकेको छैन। १९५४ मा स्विट्जल्यान्डमा आयोजना भएको विश्वकपमा पहिलोपटक सहभागी भएको दक्षिण कोरियाले त्यसको ३२ वर्षसम्म खेल्न पाएन। यद्यपि, १९८४ मा मेक्सिकोमा आयोजना भएको विश्वकपमा दोस्रोपटक खेलेको दक्षिण कोरियाले त्यसको चार संस्करणसम्म समूह चरण कटाउन सकेन।

अन्ततः २००२ मा जापान आफ्नै घरेलु मैदानमा आयोजना भएको १६औँ विश्वकपमा भने सेमिफाइनलसम्म पुग्न सफल भयो। समूह चरणको पहिलो खेलमा पोल्यान्डलाई २-० ले हराएको दक्षिण कोरियाले दोस्रो खेलमा अमेरिकालाई १-१ को बराबरीमा रोकेको थियो। यस्तै, तेस्रो तथा अन्तिम खेलमा भने पोर्चुगललाई १-० ले पाखा लगाउँदै दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनायो। 

अन्तिम १६ मा तीनपटक विश्वकप जितिसकेको इटालीलाई २-१ ले हराउँदै आफ्नो क्षमता प्रस्तुत गरिसकेको दक्षिण कोरियालाई क्वार्टफाइनलमा स्पेनमाथि जित निकाल्न भने हम्मेहमे नै पर्‍यो। निर्धारित समय गोलरहित बराबरीमा सकिँदा दक्षिण कोरियाले पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले हराउँदै अन्तिम चारको बाटो खोल्यो।

यद्यपि, प्रतिस्पर्धात्मक सेमिफाइनलमा जर्मनीसँग १-० गोलले पराजित हुँदा उसले पहिलोपटक घरेलु मैदानमा उपाधि चुम्न भने सकेन। अन्तिम तथा तेस्रो स्थानका लागि भएको खेलमा भने दक्षिण कोरियाले टर्कीमाथि ३-२ को जित निकाल्यो। 

त्यसयता लगातार विश्वकपमा सहभागिता जनाइरहेको दक्षिण कोरियाले समूहचरण पार गर्न सकेको छैन। यद्यपि, विश्वकपमा एशियाली राष्ट्रहरूको यो उत्कृष्ट प्रदर्शन हो। 

जापानको औसत प्रदर्शन
उत्तर र दक्षिण कोरिया मात्रै होइन, छटौँपटक विश्वकपमा सहभागिता जनाउने तयारीमा रहेको एशियाली पावरहाउस जापान र अस्ट्रेलियाको यात्रा पनि सुखद रहन सकेको छैन। पहिलोपटक १९३८ मा फ्रान्समा आयोजना भएको तेस्रो संस्करणको विश्वकपबाट नाम फिर्ता लिएको जापान चौथो विश्वकपमा सहभागिता जनाउने तरखरमा रहँदा फिफाको निलम्बन बेहोर्नु परेको थियो। १९५४ मा स्विट्जल्यान्डमा आयोजना भएको पाँचौँ विश्वकपको लागि छनोट खेल्न थालेको जापानले ६० वर्षसम्म यो उपलब्धी हासिल गर्न भने सकेन।

११९८ मा फ्रान्समा आयोजना भएको १५औँ संस्करणको विश्वकपमा पहिलोपटक स्थान बनाएको जापानले त्यसयता लगातार सहभागिता जनाउँदै आएको छ। तर, पाँचपटक विश्वकप खेलिसकेको जापानले १७औँ, १९औँ र २१औँ संस्करणको विश्वकपमा मात्रै समूह चरण पार गर्नसकेको तितो इतिहास हामीसँग छ।

२००२ र २०१० को विश्वकपपछि दुई एशियाली टोली (दक्षिण कोरिया र जापान) सँगै दोस्रो चरणमा पुग्नसकेका छैनन्।

दक्षिण कोरिया र जापानमाथि आश
फिफाले दक्षिण कोरिया र जापानपछि एशियाली राष्ट्रलाई दोस्रोपटक विश्वकप आयोजनाको अधिकार सुम्पिएको छ। यसअघि सन् २००२ मा कोरिया र जापानले संयुक्तरूपमा विश्वकप आयोजना गरेका थिए। कतारले पहिलो पटक आयोजकका रूपमा विश्वकपमा प्रवेश गरेको छ।

दक्षिण कोरिया समूह 'एच' मा रहेको छ। यो समूहमा १९३० मा पहिलोपटक विश्वकपको आयोजना गरेर घरेलु मैदानमा उपाधि जितेको उरुग्वे, घाना, पोर्चुगल छन्। यस समूहलाई 'ग्रुप अफ डेथ' मानिएको छ। आठपटक कोपा अमेरिका जितिसकेको उरुग्वे आफ्नो युवा प्रतिभाबाट निकै अपेक्षा गरिरहेको हुनेछ। फेडे भालभर्डे र रोड्रीगो बेन्टानकुरसँगै डार्बिन न्युनेज आक्रमणमा व्यस्त हुनेछन्।

उरुग्वे सन् २०१० मा सेमिफाइनल पुगेको इतिहास दोहोर्‍याउन चाहन्छ। त्यसबेला घानालाई क्वार्टरफाइनलमा रोक्न अन्तिम समयमा हातले गोल रोकेका लुइस सुआरेज पुनः एकपटक घानाविरुद्ध देखिनेछन्। उनीसँगै एडिनसन कभानीको यो अन्तिम विश्वकप हो। त्यसैले उरुग्वे यी दुई स्टारको सुखद बिदाइ गर्ने तरखरमा छ।

यता, क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा उत्रने पोर्चुगल आफ्नो कप्तानलाई अन्तिम विश्वकपमा सफलता दिलाउन चाहन्छ। पोर्चुगलका खेलाडी आ-आफ्ना क्लबका लागि उच्च लयमा छन्। मैत्रीपूर्ण खेलमा पनि टोलीले राम्रो खेलेको छ।

घाना यसपटक निकै अपेक्षा गरिएको टोलीमा पर्छ। युरोपेली लिग खेल्ने ठूला स्टार समेट्दै टोली कागजमा बलियो देखिएको छ। इनाकी विलियम्सको उपस्थितिले आक्रमण थप सुदृढ हुने देखिन्छ।

यद्यपि, कोरियाका ८ खेलाडी युरोपेली क्लबबाट व्यावसायिक खेल खेल्दै आएका छन्। ती मध्ये इङ्लिस प्रिमियर लिग क्लब टोटनह्यामका स्टार फरवार्ड सन ह्युङ मिनमाथि धेरै आश गरिएको छ। उनीबाहेक डिफेन्डर किम मिन जे इटालियन क्लब नापोली र फरवार्ड ह्वाङ ही चानले प्रिमियर लिग क्लब उल्भरह्याम्प्टनबाट खेल्दै आएका छन्। यी तीन खेलाडी पुरै फिट भए जुनसुकै टोलीका लागि खतरा बन्न सक्छ।

यता, जापान समूह 'ई' मा रहेको छ। यस समूहमा जापानसँगै स्पेन, कोस्टारिका र जर्मनी छन्। जापान एक कठिन समूहमा छ। जापानका २२ खेलाडीमध्ये १८ हाल युरोपियन फुटबल क्लबहरूबाट खेलिरहेका छन्। ती मध्ये आर्सनलबाट खेल्ने ताकेहिनो तोमियाशु, ब्राइटनबाट खेलिरहेका कारू मितोमा र ब्रुगका उएडामाथि जापानले धेरै आशा राखेको छ।

दक्षिण कोरिया र जापानबाहेक अस्ट्रेलियाको टोलीमा १६ खेलाडी युरोपेली क्लबमा खेल्छन् भने इरानका ६ खेलाडी। जर्मन क्लब बायर लेभरकुसेनबाट खेल्ने सरदार अजमोन र पोर्चुगल क्लब पोर्टोका मेहदी तारेमी इरानका मुख्य खेलाडी हुन्। कतार र साउदी अरबका कुनै पनि खेलाडी हालसम्म युरोपेली क्लबमा देखिएका छैनन्।

-एजेन्सीको सहयोगमा