नेदरल्यान्ड्स र इक्वेडरको नजर अन्तिम १६ मा

नेदरल्यान्ड्स र इक्वेडर हालसम्म दुईपटक मात्रै आमनेसामने भएका छन्। सन् २००६ मा इक्वेडरविरुद्धको पहिलो खेलमा नेदरल्यान्ड्सले १-० को जित दर्ज गरेको थियो भने २०१४ को खेल १-१ को बराबरीमा सकिएको थियो।

नेदरल्यान्ड्सले सोमबार समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा सेनेगलविरुद्ध सुखद नतिजा निकाल्न धैर्य गर्नुपर्‍यो। बराबरीतर्फ उन्मुख देखिएको खेलको अन्तिम अन्तिम समयसम्म नै दुवै टोली गोलरहित बराबरीमा थिए।

यद्यपि, निर्धारित समयभन्दा ६ मिनेट अगाडि फ्रेकी डे जोँङको लामो पासमा हेडर गर्दै कोडी गाक्पोले डच टोलीलाई शुरूआती अग्रता दिलाए। त्यसपछि थप गरिएको इन्ज्युरी समयको आठौँ मिनेटमा मेम्फिस डिपाएको शुरूआती प्रहारलाई गोलरक्षक एडुवार्ड मेन्डीले विफल पारेपनि ‘रिबाउन्ड’मा डेभि क्लासेन गोल गर्दै टोलीलाई २-० को सानदार जित दिलाए।

नेदरल्यान्ड्सले आगामी मंगलबार आयोजक कतारविरुद्ध खेल्नुअघि शुक्रबार इक्वेडरको सामना गर्दैछ। खेल नेपाली समयअनुसार राति ९:४५ बजेबाट शुरू हुनेछ। चार वर्षअघि रसियाको टिकट काढ्न नसकेको नेदरल्यान्ड्सले पछिल्ला दुई विश्वकपमा प्रभावशाली खेल प्रदर्शन गर्दै उपाधि दाबेदारी प्रस्तुत गरेको थियो।

सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा तेस्रो हुनुअघि नेदरल्यान्ड्स सन् २०१० को प्रतियोगितामा फाइनल पुगेको थियो। नेदरल्यान्ड्स कतार विश्वकप २०२२ मा पनि त्यही गर्विलो इतिहासलाई दोहर्‍याउने लक्ष्यमा छ।

यदि लुइस भान गालको टोली समूह ‘ए’ को विजेता हुँदै अन्तिम १६ मा पुगे क्वार्टरफाइनल प्रवेश गर्न समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। जुन समूहमा इंग्ल्यान्ड, वेल्स, अमेरिका र इरान छन्।

तर, समूह ‘ए’ को शीर्षस्थानमा रहँदै नेदरल्यान्ड्स अन्तिम १६ मा पुग्छ भनेर अहिले नै अड्कलबाजी गरिहाल्नु पनि गलत साबित हुनसक्छ। उसले समूह चरणको पहिलो खेलमै आयोजक कतारविरुद्ध प्रतिभाशाली खेल प्रदर्शन गरेको इक्वेडरलाई पन्छ्याउन बाँकी नै छ। जो आइतबार उद्घाटन खेलमा आयोजक राष्ट्रको बाटोमा पिलर बनेर उभिएको थियो। 

कतारविरुद्धका दुवै गोल इंग्लिस क्लब वेस्टह्याम युनाइटेडका पूर्वफरवार्ड इनर भ्यालेन्सियाले गरे। १६औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई शुरूआती अग्रता दिलाए। उनले ३१औँ मिनेटमा अग्रता दोब्बर बनाए। उनको दुई गोलसँगै इक्वेडर सन् २००६ को विश्वकपपछि पहिलोपटक आफ्नो शुरूआती दुई खेलमा जित्न निकाल्ने योजनामा रहेको छ।

गुस्ताभो अल्फारोको नेतृत्वमा रहेको इक्वेडर ब्राजिल विश्वकपमा समान एक जित, एक हार र एक बराबरी खेल्दै समूह चरणबाट बाहिरिएको थियो। त्यसको चार वर्षपछि रसिया विश्वकप खेल्न इक्वेडर योग्य साबित भएन। 

तर, इक्वेडरको इतिहास भने यति कमजोर छैन। तीनपटक विश्वकपमा सहभागिता जनाइसकेको इक्वेडरले सन् २००६ को विश्वकपमा पोल्यान्ड र कोस्टारिकालाई २-० र ३-० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो। तर, क्वार्टरफाइनलको लागि इंग्ल्यान्डसँग भएको प्रतिस्पर्धामा इक्वेडर डेभिड ब्याकहमको निर्णायक गोलमा प्रतियोगिताबाट बाहिरियो।

इक्वेडरलाई यो सफलता दोहर्‍याउन अर्को मंगलबार सेनेगलसँग खेल्नुअघि नेदरल्यान्ड्सको सामना गर्नुपर्ने हुन्छ। यद्यपि, युरोपेली राष्ट्र नेदरल्यान्ड्सविरुद्ध इक्वेडरको रेकर्डले यो चुनौतीपूर्ण हुने संकेत गर्छ। 

दुवै टोली अहिलेसम्म दुईपटक मात्र आमनेसामने भएका छन्, त्यो पनि मैत्रीपूर्ण खेलमा। नेदरल्यान्ड्सले सन् २००६ मा इक्वेडरविरुद्धको पहिलो खेलमा १-० को जित दर्ज गरेको थियो भने सन् २०१४ को खेल १-१ को बराबरीमा सकिएको थियो।

तर, मंगलबार समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा साउदी अरबसँग प्रतियोगिताकै दाबेदार मानिएको अर्जेन्टिना २-१ ले स्तब्ध भएपछि इक्वेडरका गोलकिपर हर्नान गालिन्डेजमा हौसला थपिएको छ।

“अर्जेन्टिनाको हार यस विश्वकपको अन्तिम आश्चर्य हुनेछैन। नेदरल्याड्स जितको बाबजुद सेनेगलसँग अन्तिम अन्तिम समयसम्म बराबरी खेलेको थियो। अर्जेन्टिनालाई जस्तै नेदरल्याड्सलाई चोट पुर्‍याउने तरिकाहरू पक्कै छन्”, उनको भनाइलाई उद्धृत गर्दै स्पोर्ट्स टकले लेखेको छ,“यो खेल कठिन हुनेछ, तर नेदरल्यान्ड्सविरुद्ध सम्मानका जित निकाल्छौँ भन्नेमा म आशावादी छु।” 

नेदरल्याड्सका कप्तान भर्जिल भान डाइक सेनेगलविरुद्ध प्रदर्शनको मूल्यांकनमा गालिन्डेजसँग सहमति जनाएका छन्। नेदरल्यान्ड्सको टोलीले आगामी खेलहरूमा सुधार गर्नुपर्ने प्रशस्त ठाउँ रहेको उनी बताउँछन्।

“अगाडि बढ्दै जाँदा हामीले कहिलेकाहीँ जबरजस्ती गर्ने प्रयास गर्छौँ। सेनेगलविरुद्धको खेलमा पनि त्यही गर्ने कोशिस गर्‍यौँ। यो एक क्षेत्र हो जसमा हामीले सुधार गर्न आवश्यक छ”, उनले भने। 

क्याटलान क्लब बार्सिलोनाबाट व्यावसायिक खेल खेल्दै आएका फरवार्ड डिपे यस सिजन चोटका कारण मैदान उत्रिन सकेनन्। यसका बाबजुद विश्वकप छनोटमा गरेको (१२ गोल) उत्कृष्ट प्रदर्शनको आधारमा उनले कतार उत्रिएको नेदरल्यान्ड्सको २६ सदस्यीय टोलीमा सहजै स्थान बनाए। 

तर, सेनेगलविरुद्धको खेलमा उनी शुरूआती ११ मा अटाउन सकेनन्। उनले अन्तिम ३० मिनेट मात्रै मैदानमा बिताएका थिए। अन्तर्राष्ट्रिय स्तरमा ४२ गोल गरेका उनी इक्वेडरविरुद्धको खेलका लागि शुक्रबार शुरूआती ११ मा मैदान उत्रिने सम्भावना बढेको छ। 

यता, फरवार्ड भिन्सेन्ट जान्सेनको स्थानमा गाक्पो र स्टिभन बर्गविजनले अग्रपंक्ति सम्हाल्ने सम्भावना छ। त्यसबाहेक नेदरल्यान्ड्सको टोलीमा कुनै परिवर्तन हुने सम्भावना छैन। 

फ्रेन्की डी जोंग र स्टिभन बर्घुइसलाई मिडफिल्डमा र डेन्जेल डम्फ्रिज र डेली ब्लाइन्डलाई फुल ब्याकमा समावेश गर्दै नेदरल्यान्ड्सले ३-५-२ को सेट उतार्ने छ। 

सेनेगलसँगको प्रतिस्पर्धाअघि मिडफिल्डर मार्टेन डे रूनलाई चोट लागेको थियो। तर, पछिल्लोपटक उनी बेन्चबाट बाहिर देखिएका छन्। उनी फेरि प्रतियोगिताको कुनै खेलमा मैदान उत्रिने अपेक्षा गरिएको छ।

इक्वेडरका ३३ वर्षीय फरवार्ड भ्यालेन्सियाले कतारसँगको खेलमा घुँडाको चोट बोकेका थिए। तर, उनी नेदरल्यान्ड्सविरुद्धको खेलमा उपलब्ध हुने अपेक्षा गरिएको छ।

भ्यालेन्सियाले राष्ट्रिय टोलीका लागि ३७ गोल गरिसकेका छन्। उनी इक्वेडरका कीर्तिमानी गोलकर्ता हुन्। इक्वेडर आफ्ना ५ फरवार्ड साथ कतार उत्रिएको छ। इक्वेडरसँग भ्यालेन्सियाको विकल्प जोर्काइफ रेस्को, केभिन रोड्रिग्वेज र माइकल एस्ट्राडा हुन सक्छन्।

मुख्य प्रशिक्षक अल्फारोले कतारविरुद्धको पहिलो खेलमा आक्रामक लाइनमा एक मात्रै परिवर्तन गरेका थिए। उनले माइकलको स्थानमा जेरेमी सार्मिएन्टोलाई मौका दिएका थिए।  

यता, गोल गर्नसक्ने क्षमता राख्ने ३१ वर्षीय ‘सेन्ट्रल ब्याक’ रोबर्ट अर्बोलेडालाई प्रशिक्षक अल्फारोले कुनै मौका दिएका छैनन्। शुक्रबार नेदरल्यान्ड्सविरुद्धको खेलमा उनी ‘सप्राइज प्याकेज’को रूपमा मैदान उत्रिन सक्छन्।
-एजेन्सीको सहयोगमा