विश्वकप फुटबलमा चार खेल हुँदै, अन्तिम खेलमा जर्मनी र स्पेन भिड्ने

फिफा विश्वकप फुटबलमा आइतबार समूह चरणअन्तर्गत समूह ‘इ’ र ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन्।

काठमाडौँ– कतारमा जारी फिफा विश्वकप फुटबलमा आइतबार चार खेल हुँदैछन्। समूह चरणअन्तर्गत समूह ‘इ’ र ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन्।

पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे शुरू हुनेछ। जापान दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा जापानले जर्मनीलाई पराजित गरेको थियो। कोस्टा रिका भने पहिलो जितको खोजीमा हुनेछ।

कोस्टा रिका पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो। दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ। उक्त खेल साँझ ६ः४५ बजे हुनेछ। पहिलो खेलमा बेल्जियमले क्यानडालाई पराजित गरेको थियो। मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो।

तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुनेछ। राति ९ः४५ बजे शुरू हुने खेलमा दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्। पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो। क्यानडा बेल्जियमसँग पराजित भएको थियो। त्यस्तै आजको चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ।

उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे शुरू हुनेछ। पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुनेछ। स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ।