सोमबारको खेलमा ब्राजिलले नेयमारको स्थानमा अर्का युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीलाई मैदानमा उतार्ने तयारी गरेको छ।
घरेलु मैदानमा सम्पन्न विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोरेको पीडा भुलाउँदै ब्राजिलले टोली पुनर्निर्माणका लागि ८ वर्ष खर्चिसकेको छ।
मुख्य प्रशिक्षक टेटेले फरवार्ड नेयमारको प्रदर्शनमा मात्र निर्भर टोलीलाई यसबीचमा धेरै परिष्कृत गरिसकेका छन्। जसले दक्षिण अमेरिकी छनोटमा गरेको प्रदर्शनले पनि प्रमाणित गर्छ। ब्राजिल विश्वकप छनोट प्रतियोगिताको शीर्ष स्थानमा बस्दै कतारको टिकट काट्ने टोली बनेको थियो।
छैटौँपटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा होमिएको ब्राजिलका प्रशिक्षक टेटेको वास्तविक परीक्षण भने सोमबार स्वीट्जरल्यान्डविरुद्धको खेलमा हुनेछ।
इंग्लिस क्लब वाटफोर्ड र एभर्टन हुँदै टोटनह्याम पुगेका फरवार्ड रिचार्लिसनले ब्राजिलको टोलीमा बलियो उपस्थिति जनाइसकेका छन्। सन् २०१७ मा यू-१७ हुँदै ब्राजिलको सिनियर टोलीमा स्थान बनाएका रिचार्लिसनले समूह ‘जी’को पहिलो खेलमा सर्बियाविरुद्ध दुई गोल गर्दै आफूलाई प्रमाणित गरिसकेका छन्। उनले विश्वकप छनोट प्रतियोगिताका ८ खेलमा ६ गोल गरेका थिए।
‘‘जर्मनीलाई नतिजा सुम्पिँदा म निराश थिइनँ। त्यही टोलीमा परिवर्तन ल्याउँदै पुनः एकपटक विश्वकै बलियो टोलीका रूपमा उभ्याउन सकिन्छ भन्नेमा विश्वस्त थिएँ,’’ ब्राजिलका प्रशिक्षक टेटेको भनाइलाई उद्धृत गर्दै एपीले लेखेको छ, ‘‘कुनैपनि टोलीको गोल खडेरीबाट गुज्रँनु नकारात्मक होइन। यसले टोलीको उत्कृष्ट प्रदर्शन गर्ने मनोबल प्रष्ट पार्छ। हामीले त्यहीबाट पाठ सिक्यौँ।’’
ब्राजिलका मुख्य प्रशिक्षक टेटेले गत शुक्रबार सर्बियाविरुद्ध २-० को नतिजा निकाल्दा ४-२-३-१ को रणनीतिमा खेलाएका थिए। ब्राजिलले यसरी खेल्दा उनले रिचार्लिसनलाई अग्रपंक्तिमा खेलेका थिए। उनलाई भेनिसियस जुनिअर, नेयमार र राफिन्होले आक्रमणमा साथ दिएका थिए।
कासेमिरो र लुकास पाक्वेटाले मिडफिल्डमा जिम्मेवारी सम्हालेका थिए। रक्षापंक्तिमा ड्यानिलो, थियागो सिल्भा, मार्किन्हस, एलेक्स सान्ड्रोलाई उतारेका प्रशिक्षक टेटेले गोलरक्षकमा एलिसन बेकरलाई निरन्तरता दिएका थिए।
प्रशिक्षक टेटे सोमबार स्वीट्जरल्यान्डविरुद्धको खेलमा नेयमारको स्थानमा अर्का युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीलाई मैदानमा उतार्ने रणनीतिमा छन्। योसँगै ब्राजिलको यू-२३ टोलीमा खेलिसकेका मार्टेनेली स्वीट्जरल्यान्डविरुद्ध मैदानमा उत्रिँदै डेब्यु गर्नेछन्। नेयमार शुक्रबार सर्बियाविरुद्धको खेलका क्रममा घाइते भएका थिए। उनले समूह चरणका सबै खेल गुमाउने छन्।
डिफेन्डर मारक्विन्हसले नेयमार उपचारमा रहेको र पूर्ण निको भएर मैदानमा फर्कंन प्रयासरत रहेको बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘‘अहिले उनलाई गाह्रो भइरहेको छ। परीक्षण र उपचारपछि उनी फिजियोथेरापी गरिरहेका छन्। यसले पनि देखाउँछ, उनी टोलीमा फर्कंन चाहन्छन्। उनी ठ्याक्कै कहिले खेल्न सक्षम हुन्छन्, त्यो त हामी भन्न सक्दैनौँ तर चाँडो भन्दा चाँडो ठिक हुनेमा हामी विश्वस्त छौँ।’’
ब्राजिल उत्कृष्ट लयमा भएपनि स्वीट्जरल्यान्ड कठिन प्रतिद्वन्द्वी भएकाले सम्हालिएर खेल्नुपर्ने रिचार्लिसन बताउँछन्। ‘‘स्वीट्जरल्यान्डले कस्तो रणनीतिमा अपनाउँछ त्यो अनुमान लगाउन कठिन छ। यो खेल महत्त्वपूर्ण भएकाले हामी सम्हालिएर खेल्नुपर्छ”, उनी भन्छन्।
ब्राजिल र स्वीट्जरल्यान्डले हालसम्म ९ वटा खेल खेलेका छन्। ती खेलमा ब्राजिलले ३ खेलमा जित निकालेको छ भने ४ खेल बराबरी खेलेको छ। यता, स्वीट्जरल्यान्डले भने २ खेल मात्रै जितेको छ। यी दुई टोलीबीच चारवर्ष पहिले रसिया विश्वकपमा अन्तिम भेट भएको थियो। समूह ‘ई’ अन्तर्गतको पहिलो खेलमा यी दुई टोलीले १-१ गोलको बराबरी खेलेका थिए।
मुरत यकिनको प्रशिक्षणमा लगातार पाँचौँपटक विश्वकपमा छनोट भएको स्वीट्जरल्यान्ड ६८ वर्षपछि प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा छ। रसिया विश्वकपको समूह चरणको खेलमा ब्राजिलसँग १-१ को बराबरीमा रोकिएको स्वीट्जरल्यान्डले त्यसपछि सर्बियामाथि २-१ जित निकालेर ४ अंक जोडेको थियो। तेस्रो तथा अन्तिम खेलमा भने उसले कोस्टारिकासँग २-२ गोलको बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको थियो। तर, स्विडेनसँग भएको प्रतिस्पर्धात्मक खेलको ९४औँ मिनेटमा गोल खाँदै विश्वकपबाट बाहिरिएको थियो। त्यसअघि ब्राजिल विश्वकपमा पनि स्वीट्जरल्यान्ड अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग पराजित भएपछि स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा स्थान बनाउन चुकेको थियो।
युरोकप २०२० को क्वार्टरफाइनल पुग्नेक्रममा स्वीट्जरल्यान्डले फ्रान्सलाई पराजित गरेको थियो। त्यसपछि बिदा भएका भ्लादिमिर पेट्कोभिचको स्थानमा गतवर्ष अगस्टमा ४८ वर्षे यकिनलाई टोलीको जिम्मा दिइएको थियो।
खेल जीवनमा रक्षकको भूमिकामा रहेका उनले राष्ट्रिय टोलीबाट ४९ क्याप जितेका थिए। उनले स्वीट्जरल्यान्डमा ग्रासहोपर र बसेलबाट खेलेका थिए। यकिनले स्वीट्जरल्यान्डका धेरै क्लबलाई प्रशिक्षण दिनेक्रममा बसेलबाट दुई लिग उपाधि जिताएका थिए। उनको नेतृत्वमा स्विस टोलीले युरोकप विजेता इटालीलाई जिल्याउँदै कतार विश्वकप छनोट चरण पार गरेको थियो।
छनोट चरणका ८ मध्ये ५ खेलमा जित र ३ मा बराबरी खेल्दै विश्वकपमा स्थान पक्का गरेको स्वीट्जरल्यान्ड फिफा विश्व वरियताको १५औँ स्थानमा छ। स्वीट्जरल्यान्डले छनोट चरणमा गरेका १५ गोल १२ खेलाडीको नाममा रहेको थियो।
स्वीट्जरल्यान्डका लागि कतार विश्वकप छनोटमा ब्रेल एम्बोलोले सर्वाधिक ३ गोल गरेका थिए। मोनाकोबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी स्वीट्जरल्यान्डका मुख्य हतियार हुन्। २५ वर्षीय ब्रेलले यसअघि बुन्डेसलिगा क्लब बोरुसिया मुन्छेनग्लाडबाखबाट पनि खेलेका थिए। उनले उक्त क्लबबाट तीन सिजन खेल्दा ८८ खेलमा २२ गोल गरेका थिए। मोनाको आएपछि ब्रेलले १५ खेलमा ७ गोल गरिसकेका छन्।
ब्रेल सेन्टर फरवार्डसहित राइट विंगर र अट्याकिङ मिडफिल्डरमा पनि खेल्नसक्छन्। ब्रेलसँग स्विजरल्यान्डको यू-१६, २०, २१ बाट खेलेको अनुभव छ। यस्तै, सिनियर टोलीबाट ६० खेल खेल्दा उनले १२ गोल गरेका छन्।
दोस्रोपटक विश्वकप खेलिरहेका उनी ब्राजिलविरुद्ध खेल्न उत्साहित छन्। ‘‘पक्कै पनि सोमबार हाम्रा लागि सुखद् दिन बन्नेमा आशावादी छौँ”, उनले भने।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
