सुदूरपश्चिमको तेस्रो जित, लुम्बिनी ४५ रनले पराजित

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रनमा समेटियो।

काठमाडौँ– लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा लगातार तेस्रो हार बेहोरेको छ। शनिबार भएको खेलमा सुदूरपश्चिम रोएल्ससँग ४५ रनले पराजित भएको हो। 

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रनमा समेटियो। लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए। उनी ५४ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै अविजित रहे। 

सन्दीप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलन र सैफ जैबले समान ३–३ विकेट लिए । स्कट कुगेलेइनका नाममा २ तथा अविनाश बोहराका नाममा १ विकेट रह्यो। 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो।

सुदूरपश्चिमका सैफ जैबले ९० रनको अर्धशतकीय पारी खेले। उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। कप्तान दीपेन्द्रसिंह ऐरी ३९ रनमा अविजित रहे। ब्रान्डन म्याकमुलनले २३ तथा विनोद भण्डारीले १७ रन बताए। 

लुम्बिनीका लागि भने रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले समान १–१ विकेट लिए।

सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको छ। यसअघि सुदूरपश्चिमले विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो। 

लुम्बिनी भने विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो।