तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माले घरमै अचार उद्योग स्थापना गरेकी छन्। अचार बिक्रीबाट हुने आम्दानीले परिवारकाे खर्च चलिरहेकाे उनले बताइन्।
म्याङ्लुङ– सानो घर। सानै परिवार। आर्थिक अवस्था भने कमजोर। बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर।
घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको परिवारलाई जहिल्यै गुजारा चलाउन मुस्किल हुने गरेको थियो। तर, वर्षदिनयता भने वासुकलाको दैनिकी फेरिएको छ। उनी व्यावसायिक रूपमा अचार उत्पादन गर्ने किसान बनेकी छन्।
अचार बनाउन र बेच्न भ्याइनभ्याइ छ। यसको आम्दानीले दैनिकी सहज बन्दै गएको उनले सुनाइन्। देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले उनलाई तालिम दिएका थिए।
“हातमा सीप नहुँदा ज्याला मजदुरी नगरी धर थिएन”, उनी भन्छिन्, “ताचलिममा अचार बनाउन सिकेँ । पोहोर मात्र थालेको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ।” घरायसी प्रविधिबाट अग्र्यानिक उत्पादन गरिरहेको उनले सुनाइन्। हातमा सीप नहुँदा छोराछोरी पढाउन निकै मुस्किल भएको उनका श्रीमान् सूर्यबहादुर विकले बताए।
“तालिमले सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ। यही अचार उत्पादनले परिवारको खर्च चलाउँदै आएका छौँ”, उनले भने, “थोरै लगानीमा शुरू गरेको हो। बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु।” वासुकलाका छोरा वैैदेशिक रोजगारमा छन्। श्रीमान् र बुहारी घरमा छन्।
व्यवसाय सञ्चालनमा श्रीमान् र बुहारीले साथ दिने गरेका छन्। अचार प्रतिकिलो हजार रुपैयाँ बिक्री हुने गरेको छ। उनको मेलिना अचार उद्योगमा खासगरी अकबरे खुर्सानीको अचार उत्पादन हुन्छ। श्रीमान् सूर्यबहादुर भन्छन्, “अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो। तर, राम्रो बजार पाउँदा उत्साह जागेको छ। बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन।”
अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन । ग्राहकले फोनमार्फत माग गर्दै आएका छन्। पूर्वका विभिन्न सहरका साथै काठमाडौँसम्म निर्यात हुने गरेको उनले सुनाइन्। अकबरेमात्र नभई काँक्रा, मेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
