नयाँ पार्टी खोल्ने छलफलमा प्रभु साह र अमरेश सिंह

प्रभु साह र अमरेश सिंह मिलेर नयाँ पार्टी खोल्ने विषयमा छलफल थालेका छन्।

काठमाडौँ– पूर्वमन्त्रीद्वय प्रभु साह र अमरेश सिंहले नयाँ पार्टी खोल्ने भएका छन्। मधेशकेन्द्रीत दलहरूको अवस्था खस्किँदै गइरहेको अवस्थामा दुई नेताहरूले नयाँ पार्टी खोल्ने विषयमा प्रारम्भिक छलफल गरेका हुन्।

आफूहरूबीच नयाँ पार्टी खोल्ने विषयमा छलफल भइरहेको सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सिंहले उकालोलाई बताए। मधेशमा पुराना पार्टीप्रति जनतामा वितृष्णा बढ्दै गएकाले आफूहरू नयाँ पार्टी खोल्ने विचार गरेको उनको भनाइ छ।

“पुराना पार्टीहरूप्रति जनतामा वितृष्णा बढ्दै गएपछि हामी नयाँ पार्टी खोल्ने विचारमा छौँ, छलफल भइरहेको छ”, सिंहले उकालोसित भने, “मधेशमा महन्थ ठाकुरको पार्टी सकियो, उपेन्द्र यादवको पार्टी पनि सकियो, कांग्रेस र एमालेको भोट पनि घटेको अवस्थामा हामीले नयाँ पार्टीको लागि छलफल थालेका हौँ।”

नयाँ पार्टीको आवश्यकताको पूर्तिकै लागि पार्टी निर्माणको प्रारम्भिक छलफल अगाडि बढाएको सिंहले बताए। तर, पार्टीको नाम के हुने अहिल्यै कुनै निर्णय नभएको उनको भनाइ छ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि सिंहले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यस्तै, साह पनि नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेर रौतहट ३ बाट निर्वाचित भएका थिए। एमालेले कारबाही गर्दै साहलाई पार्टीबाट निष्कासित गरेको छ।