दुई पटक फिफा विश्वकप जितेको अर्जेन्टिना पाँचौँ पटक फाइनल पुगेको छ। आठ वर्षपछि उपाधिका लागि मैदान उत्रिन लागेको दक्षिण अमेरिकी टोलीसँग मिल्ने पाँच संयोग यस्ता छन्।
कतारमा जारी फिफा विश्वकप फुटबल अन्तिम चरणमा पुगेको छ। लुसेल रंगशालामा आइतबार डिफेन्डिङ च्याम्पियन फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना उपाधिका लागि भिड्ने छन्।
पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले साविक उपविजेता क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गरेको थियो। यस्तै, दोस्रो सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोलाई २–० गोलअन्तरले पराजित गर्दै फ्रान्सले लगातार दोस्रोपटक फाइनलमा स्थान सुरक्षित गरेको छ।आइतबार हुने उपाधि भिडन्तमा अर्जेन्टिना फ्रान्ससँग बदला लिने लक्ष्यमा हुनेछ।
पछिल्लो विश्वकप (२०१८) को प्रि– क्वार्टरफाइनलमा फ्रान्सले लिओनल मेस्सी नेतृत्वको अर्जेन्टिनालाई ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो। अर्जेन्टिना तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ। अर्जेन्टिनाले सन् १९७८ मा घरेलु मैदान र १९८६ मा मेक्सिकोमा आयोजित विश्वकपमा उपाधि जितेको थियो।
यता, फ्रान्सले सन् १९९८ घरेलु मैदान र २०१८ मा रसियामा आयोजित विश्वकपको उपाधि उचालेको थियो। अर्जेन्टिना पाँचौँ पटक फाइनलमा पुगेको छ। अर्जेन्टिनासँग मिल्ने ५ संयोग यस्ता छन्:
स्पेनले जस्तै चमत्कारी नतिजा निकाल्ने दाउ
लिओनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना यस विश्वकपको समूह ‘सी’को आफ्नो पहिलो खेलमा एसियाली राष्ट्र साउदी अरबसँग २–१ गोलअन्तरले पराजित भएको थियो।
त्यसपछि अर्जेन्टिनाले पूनगरागमन गर्दै मेक्सिको र पोल्यान्डलाई समान २–० गोलअन्तरले हराउँदै प्रि– क्वार्टरफाइनलमा स्थान बनायो। प्रि– क्वार्टरफाइनलमा अर्को एसियाली राष्ट्र अस्ट्रेलियालाई २–१ गोलअन्तरले पराजित गरेको अर्जेन्टिनालाई क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्न पेनाल्टी सुटआउटको साहरा लिन परेको थियो। नेदरल्यान्ड्सविरूद्ध ४–३ गोलअन्तरको जित निकालेको अर्जेन्टिनाले फाइनल पुग्न क्रोएसियामाथि ३–० को सानदार जित निकालेको थियो।
सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकपमा स्पेनले पनि यस्तै नतिजा निकालेको थियो। पहिलो खेलमा स्विट्जरल्यान्ड्सँग १–० गोलअन्तरले पराजित भएको स्पेन त्यसपछि लयमा फर्किएको थियो। समूह ‘एच’मा रहेको स्पेनले दोस्रो खेलमा हेन्डुरसलाई २–० र अन्तिम खेलमा चिलीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रि– क्वार्टरफाइनलमा स्थान बनाएको थियो।
प्रि– क्वार्टरफाइनलमा पोर्चुगललाई १–० गोलअन्तरले हराएको स्पेनले क्वार्टफाइनलमा पाराग्वेसँग पनि सोही नतिजा दोहोर्याएको थियो। सेमिफाइनलमा तीनपटक विश्वकप जितिसकेको जर्मनीलाई १–० गोलअन्तरले हराउँदै स्पेनले उपाधिका लागि नेदरल्यान्ड्ससँगको भेट पक्का गरेको थियो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी सकिएपछि थप गरिएको अतिरिक्त समय (११६औँ मिनेट)मा आन्द्रेस इनिएस्टाले गोल गर्दै स्पेनलाई उपाधि दिलाएका थिए। स्पेन त्यतिबेला पहिलो खेलमा हार बेहोरेपनि उपाधि जित्ने पहिलो टोली बनेको थियो। अब अर्जेन्टिनासँग स्पेनको जस्तै उपलब्धि हासिल गर्ने मौका छ।
पेनाल्टी ‘मिस’
अर्जेन्टिनाका कप्तान मेस्सीले पोल्यान्डविरुद्धको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा पेनाल्टी मिस गरेका थिए। खेलको ३९औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। बल बचाउने क्रममा पोलिस गोलरक्षक वोजसिएक सेचेज्नीले मेस्सीको अनुहारमा हातले प्रहार गरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले पेनाल्टी दिएको थियो। तर, मेस्सी पेनाल्टीमा गोल गर्न चुके। उनको प्रहार सेचेज्नीले बचाए।
यसअघि सन् १९७८ र १९८६ को विश्वकपको विजेता बन्दा अर्जेन्टिनाले समूह चरणको खेलमा पेनाल्टी मिस गरेको थियो। सन् १९७८ मा घरेलु मैदानमा आयोजना भएको विश्वकपको समूह ‘ए’ मा रहेको अर्जेन्टिनाले हंगेरीविरुद्धको खेलमा पेनाल्टी पाएको थियो। तर, अर्जेन्टिनाका अट्याकिङ मिडफिल्डर तथा फरवार्ड मारियो केम्पेसले उक्त पेनाल्टीलाई सदुपयोग गर्न सकेनन्।
त्यसपछि सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकपमा बुल्गेरियाविरुद्ध समूह चरणको तेस्रो खेलमा फरवार्ड डिएगो म्याराडोनाले पेनाल्टी मिस गरेका थिए। उक्त प्रतियोगितामा पनि अर्जेन्टिना समूह ‘ए’ मै थियो।
प्रि–क्वार्टरफाइनलमा अस्ट्रेलिया पराजित
सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपमा एएफसी कन्फेडेरेसन कप खेल्ने ओशिनियाको टोली अस्ट्रेलिया पहिलोपटक प्रि–क्वार्टरफाइनलमा पुगेको थियो। समूह ‘एफ’मा रहेको अस्ट्रेलियाले पहिलो खेलमा एसियाली ‘पावर हाउस’ जापानलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा पाँचपटकको विश्वविजेता ब्राजिलसँग २–० ले पराजित हुन पुगेको थियो।
तर, तेस्रो तथा अन्तिम खेलमा क्रोएसियालाई २–२ गोलको बराबरीमा रोकेको अस्ट्रेलियाले प्रि–क्वार्टरफाइनलमा तीनपटक उपाधि जितिसकेको इटालीसँग भेट पक्का गरेको थियो। तर, इटालीले अस्ट्रेलियामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। क्वार्टरफाइनलमा युक्रेनमाथि ३–० को सानदार जित निकालेको इटालीले सेमिफाइनलमा जर्मनीलाई २–० ले हराउँदै उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको थियो।
फाइनलमा फ्रान्सलाई इटालीले पेनाल्टीमा ५–३ गोलअन्तरले हराउँदै चौथोपटक विश्वकप जितेको थियो। जारी विश्वकपमा पनि अर्जेन्टिनाले प्रि–क्वार्टरफाइनलकै खेलमा अस्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गरेको थियो।
मोरक्को, क्यानडा र बेल्जियम
कतार विश्वकप २०२२ मा मोरक्कन टोली समूह ‘एफ’मा पहिलो, बेल्जियम तेस्रो र क्यानडा चौथो स्थानमा रह्यो। यस्तै संयोग सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकपमा पनि भएको थियो। अर्जेन्टिना सन् १९८६ मा दोस्रोपटक च्याम्पियन बनेको थियो।
सो विश्वकपको समूह ‘एफ’ मा मोरक्को पहिलो, समूह ‘बी’ मा बेल्जियम तेस्रो र समूह ‘सी’ मा क्यानडा चौथो स्थानमा रह्यो। त्यतिखेर समूह ‘एफ’मा रहेको मोरक्कोले पोल्यान्ड र इंग्ल्यान्डससँग गोलरहित बराबरी खेलेको थियो।
तर, तेस्रो खेलमा पोर्चुगलमाथि ३–१ को सानदार जित निकाल्दै प्रि– क्वार्टरफाइनलमा पुगेको थियो। क्वार्टरफाइनलको लागि भएको भिडन्तमा मोरक्को तत्कालीन पश्चिम जर्मनीसँग १–० गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। त्यसयता तीनपटक समूह चरणबाटै बाहिरिएको मोरक्को चौथो प्रयासमा सेमिफाइनलसम्म पुग्न सफल भएको थियो।
क्वार्टरफाइनलसम्मको ५ खेलमा विपक्षी टोलीले एक गोल पनि गर्न नसकेको मेरक्कोविरुद्ध सेमिफाइनलमा फ्रान्सले २ गोल बर्षाएको थियो।
पेरिस सेन्ट जर्मन(पीएसजी)
मेस्सी हाल क्लब स्तरमा फ्रान्सेली लिग वान च्याम्पियन पीएसजीका मुख्य सदस्य छन्। सन् २०२१ मा क्याटलान क्लब बार्सिलोबाट उनी पीएसजी पुगेका थिए। उनी र पीएसजीबीच सन् २०२३ सम्मको समझौता छ।
सन् २००२ मा विश्व च्याम्पियन बनेका ब्राजिलियन स्टार आट्याकिङ मिडफिल्डर तथा विंगर रोनाल्डिन्हो पनि ब्राजिलियन क्लब ग्रेमियोबाट पीएसजी पुगेका थिए। दुई वर्षको सम्झौतामा पीएसजी भित्रिएका रोनाल्डोले त्यसको एक वर्षपछि नै ब्राजिलको राष्ट्रिय टोलीबाट विश्वकप उपाधि जित्न सफल भए। इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा २–१ गोलअन्तरको जित निकाल्दा दुवै गोल उनैले गरेका थिए।
त्यस्तै, प्रतियोगिताभर उनले ३ गोलका लागि असिस्ट दिएका थिए। जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको उक्त विश्वकपमा ब्राजिलले फाइनलमा जर्मनीलाई २–० गोलअन्तरले पराजित गर्दै पाँचौँ पटक उपाधि जितेको थियो। ब्राजिलले त्यसअघि सन् १९९४ मा अमेरिकामा आयोजित प्रतियोगितामा इटालीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै उपाधि जितेको थियो।
त्यसको चार वर्षपछि फ्रान्समा आयोजित विश्वकपको फाइनल खेलमा भने ब्राजिल घरेलु टोलीसँग ३–० गोलअन्तरले पराजित हुँदा उपविजेतामा सिमित भएको थियो। ब्राजिल विश्वकपको तीन संस्करणमा लगातार फाइनल खेल्ने दोस्रो टोली हो। यसअघि सन् १९८२ मा स्पेन, १९८६ मा मेक्सिको र १९९० मा इटालीमा आयोजित विश्वकपमा तत्कालीन पश्चिम जर्मनीले लगातार तीन संस्करणको विश्वकप खेल्दै कीर्तिमान कायम गरेको थियो।
यता, सन् २०१८ मा उपाधि जितेका फ्रान्सेली स्टार फरवार्ड केलियन एमबाप्पे पनि एक वर्षअघि मात्रै फ्रान्सकै अर्को क्लब मोनाकोबाट लोनमा पीएसजी गएका थिए। समूह ‘सी’अन्तर्गतको दोस्रो खेलमा पेरूविरुद्ध निर्णायक गोल गरेका उनले क्वार्टरफाइनल प्रवेशका लागि अर्जेन्टिनाविरुद्ध भएको खेलमा महत्त्वपूर्ण २ गोल गरेका थिए।
यस्तै, फाइनल खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दा उनले एक गोल गर्दै फ्रान्सलाई दोस्रोपटक उपाधि दिलाएका थिए। उनले उक्त विश्वकपमा ४ गोल र ६ असिस्ट गरेका थिए। जारी विश्वकपमा पनि एम्बाप्पेले ५ गोल गरिसकेका छन्। समूह चरणको अस्ट्रेलियाविरुद्धको खेलमा १ गोल गरेका उनले डेनमार्कविरुद्धको खेलमा २ गोल गरेका थिए।
यस्तै, प्रि–क्वार्टरफाइनलको पोल्यान्डविरुद्धको खेलमा पनि उनले २ गोल गर्दै फ्रान्सलाई सातौँ पटक क्वार्टरफाइनलमा पुर्याएका थिए। उनले जारी विश्वकपमा २ असिस्ट गरेका छन्। सन् २०२१ मा पीएसजीमा आबद्ध भएका मेस्सीले पनि जारी विश्वकपमा ५ गोल र ५ असिस्ट गरिसकेका छन्। उनले समूह चरणको खेलमा साउदी अरब र मेक्सिकोविरुद्ध गोल गरेका थिए।
प्रि–क्वार्टरफाइनलमा अस्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्डस्विरुद्ध पनि उनले गोल गरे। यस्तै, फाइनल प्रवेशका लागि क्रोएसियासँग भएको खेलमा भने उनले २ गोल गरेका थिए। जारी विश्वकपमा उनले ५ असिस्ट गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
