इराकमा बम विस्फोट, ९ जना सुरक्षाकर्मीको मृत्यु

विस्फोटको कसैले जिम्मा लिएको छैन। घटनामा इस्लामिक स्टेट समूह संलग्न रहेको सरकारको आशंका छ।

तस्वीर :एपी

इराकको उत्तरी क्षेत्रस्थित किरकुक शहर नजिकै आइतबार बम विस्फोट हुँदा ९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। 

ग्रामीण चालल–अल–मतारनजिकै प्रहरी सवार ट्रकलक्षित आक्रमण भएको एएफपीले उल्लेख गरेको छ। विस्फोटअघि केही मानिसले गोली प्रहारसमेत गरेको स्थानीय इराकी न्युजले जनाएको छ। आक्रमणकारीहरूमध्ये एक जनाको प्रहरीको जवाफी कारबाहीमा मृत्यु भएको र बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

विस्फोटको जिम्मा कसैले लिएको छैन। सरकारले भने विस्फोटमा इस्लामिक स्टेट समूह संलग्न रहेको आशंका गरेको छ।

घटनास्थल किरकुक शहर राजधानी बगदाददेखि २९३ किलोमिटर टाढा पर्छ। यो क्षेत्र कच्चा तेलको खानीको स्रोतका लागि परिचित छ।
यसअघि बुधबार पनि बगदादनजिकै जमिनमुनि गाडेको बम विस्फोट हुँदा ३ जना इराकी सैनिकको ज्यान गएको थियो।

यस्तै, सन् २०१८ को सेप्टेम्बरमा पनि दुई पक्षबीच हिंसा भड्किँदा ७५ जना इराकी नागरिकको मृत्यु भएको थियो भने १७९ जना घाइते भएको इराकस्थित राष्ट्रसंघीय सहायता मिसन युएनएएमआइको तथ्यांक छ।

इस्लामिक अतिवादी समूह आइएसले पूर्वी इराकदेखि पश्चिमी सिरियासम्म फैलिएको ८८ हजार वर्ग किलोमिटर क्षेत्रफलमा बसोबास गर्ने ८० लाख मानिसहरूमा आफ्नो कट्टर कानून लागू गरेको थियो। तर इराकी बलले सन् २०१७ मा सो क्षेत्रलाई नियन्त्रणमा लिएपछि आइएस सिरियाली सीमा क्षेत्रबाट भागेको थियो। सोही स्थान नै आइएसको अन्तिम पकड क्षेत्र थियो।

त्यसपछि सन् २०१९ मा आइएसलाई पूर्णरूपमा सो क्षेत्रबाट पूर्ण रूपमा लखेटेको बताइएको थियो। तर पनि सो क्षेत्रमा सधैँभरि खतरा रहिरहने राष्ट्रसंघले बताएको थियो। त्यसपछि पनि इराक र सिरियाका ग्रामीण क्षेत्रमा आक्रमण, एम्बुस थाप्ने र सडक आसपासका क्षेत्रमा विस्फोट हुने क्रम जारी रहेकाले त्यहाँ ६ हजारदेखि एक लाखसम्म आइएसका लडाकुहरू रहेको राष्ट्रसंघले अनुमान गरेको थियो।

राष्ट्रसंघको एक प्रतिवेदनमा त्यस क्षेत्रमा महत्त्वपूर्ण नेतृत्व गुमाएपनि आइएसले अझै पनि आतंकवादलाई प्रश्रय दिने, संगठनमा नयाँ भर्ती गराउने र ठूला आक्रमणको योजना बनाउने कार्यलाई निरन्तरता दिएको उल्लेख गरेको थियो। 

-एजेन्सीको सहयोगमा