२०१६ को कोपा अमेरिकामा हार बेहोरेपछि सन्न्यास लिएका मेस्सी समर्थकको ‘डन्ट गो लियो’ अभियानले पुनः मैदान फर्किए। २०१८ को विश्वकपबाट पनि चुकेका उनले यसपटक भने अर्जेन्टिनाको ३६ वर्ष लामो सपना साकार पारे।
खेल सकिन केही मिनेट बाँकी रहँदा दर्शकदिर्घामा उत्साह र डरको पारा चढ्दै थियो। कतै पूर्वविजेता फ्रान्स र अर्जेन्टिनाबीचको कतार विश्वकप २०२२ को फाइनल खेल बराबरीमा टुंगिने त होइन? ७९औँ मिनेटसम्म अर्जेन्टिना खेलमा २-० ले अगाडि थियो। लाग्थ्यो, अर्जेन्टिनाले ३६ वर्षपछि सहजै विश्वकप जित्छ र कप्तान लिओनल मेस्सीले आफ्नो कप्तानीमा पहिलो उपाधि उचाल्दै हात हल्लाएर मैदानबाट सुखद सन्न्यास लिन्छन्। तर, सबै आकलन एकाएक गलत साबित भयो। लगत्तै खेलमा रौनकता छायो।
फ्रान्सले खेलमा लगातार दुई गोल गर्दै सुन्दर पुनरागमन गर्यो। फ्रान्सका युवा स्टार केलियन एम्बाप्पेले ८०औँ मिनेटमा पेनाल्टीमा पहिलो गोल गरे। उनले अर्को मिनेटमा दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। खेल ३० मिनेटको अतिरिक्त समयमा ढल्कियो। त्यसको पहिलो हाफ कुनै टोलीबाट गोल हुन सकेन।
अतिरिक्त समयको दोस्रो हाफ (१०८औँ मिनेट) मा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अग्रता दिलाए। खेल यतिमै रोकिएन। खेल सकिन २ मिनेट बाँकी हुँदा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए। र, खेल पेनाल्टी सुटआउटमा पुग्यो।
अन्ततः अर्जेन्टिनाले बाजी मार्यो र सन् १९७८ र १९८६ पछि तेस्रोपटक विश्वकपको उपाधि उचाल्न सफल भयो।
फ्रान्सले पछिल्लोपटक अर्जेन्टिनालाई सन् २०१८ को रसिया विश्वकपअन्तर्गत प्रि-क्वार्टरफाइनलमा ४-३ गोलअन्तरले पराजित गरेको थियो। इतिहास नै थियो फ्रान्सभन्दा अर्जेन्टिना बलियो थियो। यसअघि भएको १२ खेलमा अर्जेन्टिनाले ६ खेल जितेको थियो भने फ्रान्सले ३ खेल। ३ खेल बराबरी सकिएको थियो।
लुसेल रंगशालामा आइतबार राति सम्पन्न खेलको कथा पनि उस्तै रोचक तरिकाले कोरिएको थियो। तर, मेस्सीको कप्तानी रहेको अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा ४ प्रहार नै सदुपयोग गर्दै विश्व विजेताको सपनालाई यथार्थमा परिणत गरे र आफ्नै कप्तानीमा पहिलो उपाधि जिते। तर, ८ वर्ष अगाडिको यही अर्जेन्टिनाको कथा अलिक भिन्न थियो।
रियो दि जेनेरियोको प्रतिष्ठित फुटबल थिएटर माराकानाको आकाशमा भइरहेको आतिशबाजीले वरपरका वातावरणलाई झिलिमिली बनाएको थियो। उक्त प्रकाशले मेस्सीको ‘ड्रेसिङ रुम’लाई पनि अछुतो राख्न सकेन। उनी एक हातले पसिना र आँसु पुछ्दै थिए, उनको अर्को हातमा ‘गोल्डेन बल’ झुन्डिएको थियो।
मेस्सीका लागि सन् २०१४ को विश्वकप यसरी सकिएको थियो। उनले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका थिए, तर विश्वकपको उपाधि जर्मनीले।
गतवर्ष ब्राजिललाई हराएर सोही स्थानमा कोपा अमेरिका कप जितेपछि सञ्चारकर्मीले उनलाई एउटा प्रश्न सोधे, ‘२०१४ को भूत समाप्त भयो?’ उनी रोकिए र आफ्नो स्वरलाई मोटो बनाउँदै भने, ‘छैन।’
सन् २०१४ को विश्वकपमा समूह ‘एफ’मा रहेको अर्जेन्टिनाले बोस्निया र हर्जगोबिना, इरान र नाइजेरियालाई पराजित गर्दै प्रि-क्वार्टरफाइनलमा स्थान बनाएको थियो। प्रि- क्वार्टरफाइनलमा स्वीट्जल्यान्डलाई हराएको अर्जेन्टिनाले क्वार्टरफाइनलमा बेल्जियम र सेमिफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो।
दुवैतर्फबाट गोल नहुँदा फाइनल खेल अतिरिक्त समयमा धकेलियो। ११३औँ मिनेटमा जर्मनीका वैकल्पिक खेलाडी मारियो गोट्जेले निर्णायक गोल गरेपछि अर्जेन्टिना मेस्सीको कप्तानीमा पहिलो उपाधि जित्न चुकेको थियो।
खेल सकिएपछि ड्रेसिङ रुममा पुगेका मेस्सी एउटा कुना समातेर बच्चा झैँ खुब रोए। उक्त रुमको अर्को छेउमा उनलाई सहानुभूतिपूर्वक हेरिरहेका थिए, उनकै सल्लाहकार अल्फ्रेडो पर्नास। “मेस्सीले उक्त गोल्डेन बल फ्याँक्यो। त्यो उसले चाहेको थिएन”, अल्फ्रेड सम्झन्छन्।
उनले उक्त गोल्डेन बललाई घर लगेर राखेका छन्। उनी उक्त बल मेस्सी पुनः खोज्न आउनेमा विश्वस्त छन्। “उसले मलाई यसबारे कहिल्यै सोधेको छैन। तर, उसले मलाई कुनै दिन सोध्नसक्छ भन्ने मलाई थाहा छ”, उनले थपे।
फिफा डटकमको अन्तर्वार्ताकारले एक पटक मेस्सीलाई मैदानबाट रुँदै ड्रेसिङ रुमतिर गएको फुटेज देखाएका थिए। उनले टेलिभिजनबाट नजर हटाउने कोशिस गरिरहे। र, भने, “यो दुःखको कुरा हो। हामीले खेलमा राम्रो मौका सिर्जना गरेका थियौँ। तर, त्यसलाई सदुपयोग गर्न सकेनौँ।”
वर्तमानले विगतलाई बदल्न सक्दैन। तर, अर्जेन्टिनाका समर्थकहरूले उनीमाथि ठूलो विश्वास राखेका थिए। सोही विश्वास पूरा गर्न चार वर्षपछि रसिया उत्रिएका मेस्सीले पुनः निराशा हात पारे। छनोट चरणदेखि नै संघर्ष गरेको अर्जेन्टिना पहिलो खेलमै नवप्रवेशी टिम आइसल्यान्डसँग १-१ को बराबरीमा रोकियो। दोस्रो खेलमा क्रोएसियासँग ३-० गोलअन्तरले पराजित भएको अर्जेन्टिना अन्तिम खेलमा नाइजेरियालाई २-१ गोलले पराजित गर्दै प्रि-क्वार्टरफाइनलमा पुगेको थियो। तर, फ्रान्ससँग भएको खेलमा ४-३ ले पराजित भएपछि अर्जेन्टिना विश्वकपबाटै बाहिरियो।
यो पनिः विश्वकप : मेस्सीले जित्न बाँकी उपाधि
त्यसपछि प्रशिक्षक जोर्जे साम्पोलीले राजीनामा दिए भने मेस्सीले राष्ट्रिय टोलीबाट केही समय विश्राम लिए। फ्रान्ससँग हार बेहोरेपछि मेस्सीको आलोचना बढ्दै गएको थियो। यता, अर्जेन्टिनाका पूर्वप्रशिक्षक तथा लिजेन्ड डिएगो म्याराडोनाले समेत मेस्सीलाई अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिन आग्रह गरेका थिए।
तर, मेस्सीले कसैको सुनेनन्। उनी मुख्य प्रशिक्षक लिओनल स्कालोनीको हात समाउँदै पुनः उठे र शक्तिशाली भएर उदाए। स्कालोनी र मेस्सीको नेतृत्वमा अर्जेन्टिना ३६ खेलसम्म अपराजित रह्यो।
अर्जेन्टिनी टोलीले आफ्ना समर्थकहरूले चाहेको जस्तो सुन्दर फुटबल खेल पस्कियो र माराकानाको पीडालाई भुल्दै कतार विश्वकपको फाइनलसम्म पुनः पुग्यो।
समूह ‘सी’मा रहेको अर्जेन्टिनाले हारबाट प्रतियोगिताको शुरूआत गरेको थियो। पहिलो खेलमा एसियाली राष्ट्र साउदी अरबसँग २-१ को अप्रत्याशित हार बेहोरेको अर्जेन्टिनाले त्यसपछिका खेलमा भने पुनरागमन जित निकाल्यो। अर्जेन्टिनाले त्यसपछि मेक्सिको र पोल्यान्डलाई समान २-० गोलले हराउँदै प्रि-क्वार्टरफाइनलमा स्थान बनायो।
प्रि-क्वार्टरफाइनलमा अस्ट्रेलियालाई २-१ र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराएको अर्जेन्टिनाले फाइनल प्रवेश गर्ने क्रममा क्रोएसियालाई ३-० ले स्तब्ध बनायो।
यी सबै खेलमा मेस्सी कहिन कहीँ नायक बनिनै रहे। उनले साउदी अरब, मेक्सिको, अस्ट्रेलिया र नेदरल्यान्ड्सविरुद्धको खेलमा १/१ गोल गरे। यता, फाइनल प्रवेशका लागि क्रोएसियासँग भएको खेलमा भने २ गोल गर्दै फ्रान्सलाई सतर्क बनाए।
प्रशिक्षक स्कालोनी भन्थे, “जसले एक खेल पनि हार्न मन पराउँदैन, त्यसले हार कहिल्यै बिर्सन सक्दैन। उसले क्लब र देशको लागि हारेको हरेक खेल सम्झन्छ। जितहरू सम्झिन्छ या सम्झिँदैनन् त्यो चाहिँ मलाई थाहा छैन!”
मेस्सीका लागि विश्वकप अर्थ र सान्दर्भिकता थियो। क्लब करिअरमा बार्सिलोनाका लागि उनले सबै उपाधि (३५ उपाधि) जिते। तर, अर्जेन्टिनाका लागि गत वर्ष कोपाको उपाधि जित्नुअघि उनले कुनै प्रतियोगिता जित्न सकेका थिएनन्।
सन् २०१४ मा विश्वकप फुटबलको फाइनल उपाधिविहीन फर्किएको अर्जेन्टिना त्यसको एक वर्षपछि भएको कोपा अमेरिकाको फाइनलमा पुनः चुक्यो। आयोजक चिलीले पेनाल्टी सुटआउटमा अर्जेन्टिनालाई पराजित गर्यो।
मेस्सीकै कप्तानीमा सन् २०१६ को कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिना पुनः चिलीसँगै हार्यो। ठूला प्रतियोगितामा लगातार उपाधिविहीन भएपछि उनले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिए।
उनलाई फुटबलमा फर्काउन संसारभरका समर्थकले ‘डन्ट गो, लियो’ अभियान नै चलाए। त्यसको एक सातापछि मेस्सीले सन्न्यास फिर्ता लिए। १३ वर्षकै उमेरमा फुटबल खेल्न स्पेन पुगेका मेस्सीलाई त्यहीको राष्ट्रिय टोलीबाट खेल्ने प्रस्ताव पनि नगरिएको होइन। तर, उनले सबै प्रस्ताव अस्वीकार गर्दै आफ्नो जन्मभूमि अर्जेन्टिनालाई नै रोजे। एकपटक उनले सुनाएका थिए, “मलाई १५ वर्षको हुँदा स्पेनबाट खेल्ने प्रस्ताव आएको थियो, मैले अस्वीकार गरेँ। स्पेनले विश्वकप जितिसकेपछि बार्सिलोनाका एक साथीले ठट्टा गर्दै भने, यदि तिमीले प्रस्ताव स्वीकार गरेको भए विश्वकप जित्ने थियौँ। मैले उनलाई भनेँ, स्पेनसँग जित्नु अर्जेन्टिनासँग जित्नु जस्तै होइन।”
१३ वर्षको उमेरमा आफ्नो गृहनगर रोजारियो छोडेका उनले सम्पूर्ण समय बार्सिलोनामै बिताए। बार्सिलोनाको ‘सी’ र ‘बी’ हुँदै सन् २००४ मा सिनियर टोलीमा पुगेका उनले ५५२ खेलमा ४८५ गोल गरे।
सन् २०२१ मा फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का पुगेका उनले लिग वान पनि जिते। क्लब करिअरमा यस्तै अविश्वासनीय यात्रा तय गरेको भए होला उनका पूर्वप्रशिक्षक साम्पाओलीले सधैँ भन्थे, “विश्वकप मेस्सीको टाउकोमा तेर्साइएको रिभल्भर जस्तै हो।”
तर, उक्त रिभल्भर उनको टाउकोबाट अहिलेको हटेको छ। सन् २०१८ मा स्कालोनीले टोलीको नेतृत्व सम्हालेपछि मेस्सी र उनको टोलीले एक अर्को गर्दै उत्कृष्ट प्रयोग गर्यो। अर्जेन्टिनाले आफ्नो लामो कोपा अमेरिका खडेरीको अन्त्य गर्यो, च्याम्पियन्स कपमा युरोपियन च्याम्पियन इटालीलाई हरायो र पछिल्ला ३६ खेलमा अपराजित रह्यो।
मेस्सी विश्वकप इतिहासमा अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने। उनले गेब्रियल बाटिस्टुटालाई पछाडि पारे। १३औँ गोलसँगै मेस्सीले ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान पनि तोडे। पेलेले ४ विश्वकपमा कुल १२ गोल गरेका थिए भने मेस्सोले गोल संख्या १३ पुर्याए।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
