पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल दुई हप्तापछि संचालन गर्ने तयारी भइरहँदा सराङकोटबाट प्याराग्लाइडिङ गर्न मिल्ने वा नमिल्ने अझै निर्क्योल भएको छैन।
पोखरा– आगामी पुस १७ गतेबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारी भइरहँदा प्याराग्लाइडिङको भविष्य भने अन्योलमा परेको छ। प्याराग्लाइडिङका लागि उडान भरिने सराङकोट विमानस्थल टावरको हवाई नियन्त्रण क्षेत्रभित्र पर्छ।
विमानस्थल संचालनका लागि तयारी हुँदै गर्दा पोखराको प्याराग्लाइडिङ सार्ने वा त्यहीँ स्थानबाट सुरक्षित ढंगमा चलाउने भन्ने निर्क्योल हुन बाँकी छ। यो साहसिक खेल पोखरा–१८ सराङकोटबाट उडान हुने गरेको छ।
विमानस्थलबाट साराङकोट चारदेखि पाँच एरनोटिकल माइलको दूरीमा पर्छ। त्यहाँबाट प्याराग्लाइडिङ उडान हुँदा कुनै दुर्घटना नहोस् भनेर सावधानी अपनाउनुपर्ने विमानस्थलका एक कर्मचारीले बताए। तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा विमान उडान र अवतरण रुट परिवर्तनबारे अध्ययनसमेत भएको थियो।
अन्नपूर्ण क्षेत्रमा टेन्डम फ्लाइट (यात्रुसहित गरिने उडान) गर्ने गरी २६ वर्षअघि पोखरामा सनराइज प्याराग्लाइडिङ कम्पनी दर्ता भएको थियो। यही कम्पनीले पहिलोपटक प्याराग्लाइडिङ उडान गरेको थियो। अहिले प्याराग्लाइडिङ सराङकोटबाट फेवातालमाथि उडान भरेर ताल किनारको मैदान खपौदीमा अवतरण हुन्छ।
फेवातालमाथि पोखरा र हिमालको दृश्य हेर्दै उडान गर्न मिल्ने भएको हुँदा प्याराग्लाइडिङका लागि उत्कृष्ट गन्तव्य रहेको हवाई खेलकुद संस्थाका अध्यक्ष सुनील भट्टराई बताउँछन्। उनका अनुसार प्याराग्लाइडिङका लागि चाहिने हावाको बहाबको हिसाबले पनि सराङकोट उपयुक्त छ। “प्याराग्लाइडिङका लागि सराङकोट संसारकै उत्कृष्ट गन्तव्य हो। मौसमदेखि मनोरम दृश्य हेर्न यहाँभन्दा उपयुक्त ठाउँ अन्त कतै छैन”, उनले भने।
विमानस्थल निर्माण कम्पनीले विमान उडान र अवतरण गर्दा बायाँ मोड्नुपर्ने जनाएको छ। त्यसो गर्दा प्याराग्लाइडिङ हुने क्षेत्र सराङकोट हुँदै विमान आवतजावत गर्नुपर्छ। तर, व्यवसायीहरूले नागरिक उड्डयन प्राधिकरणलाई विमान दायाँतर्फबाट मोड्दा उडान अवतरणमा समस्या नपर्ने भएकाले त्यसरी नै उडान तयारी गर्न सुझाव दिएका थिए।
अध्यक्ष भट्टराईले भने, “त्यस्तो भयो भने प्याराग्लाइडिङको अस्तित्व बाँच्छ भनेर हामीले भन्यौं। पोखरामै व्यवस्थित गरेर चलाउन सकिने हामीले देखेका छौँ। त्यसका लागि विभिन्न चरणमा हामी डलिगेसन जाने र वार्ता गर्ने पनि गरेका छौँ।”
उनका अनुसार त्यसपछि उड्ययन प्राधिकरण र नेपाल हवाई खेलकुद संस्थाले संयुक्त रूपमा त्यसबारे अध्ययन गरेका थिए। प्रतिवेदन आइसकेपछि मात्रै अहिलेकै स्थानबाट प्याराग्लाइडिङ सञ्चालन हुने वा नहुने स्पष्ट जानकारी हुने उनले बताए। “जीपीएस जडान गरेर पाइलट र विमानस्थलसँग सम्पर्क गराएर विमान आउने र जाने समयको ग्यापमा प्याराग्लाइडिङ गराउन सकिने सम्भावना पनि हुनसक्छ। त्यसका लागि सबै कम्पनी मर्ज हुने अथवा अरू कुनै उपाय हुनसक्छ”, उनले भने।
रेडियो कम्युनिकेसन गरेर जहाज आइपुग्नुभन्दा १० मिनेटअगाडि प्याराग्लाइडिङ रोकी आकाश खाली गर्न सकिन्छ कि भन्ने छलफल पनि भएको भट्टराईको भनाइ छ। तर, प्राधिकरणले भने प्याराग्लाइडिङका लागि सराङकोटको विकल्पका रूपमा तोरीपानी, मान्द्रेढुंगा, तामागी र भदौरेलाई अघि सारेको छ। त्यहाँबाट उडान गरेर पामे वा चंखपुरमा अवतरण गर्न सकिन्छ।
पोखरामा हाल ६० प्याराग्लाइडिङ कम्पनी र २५० पाइलट नेपाल हवाई खेलकुद संस्थामा दर्ता छन्। ६० मध्ये ५० कम्पनीले सेवा दिने गर्छन्। प्याराग्लाइडिङ क्षेत्रमा मात्रै २ अर्ब रुपैयाँ लगानी रहेको अध्यक्ष भट्टराईले बताए।
ठूलो लगानीमा सञ्चालन हुन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्याराग्लाइडिङ हटाउनै पर्ने भए हठ गर्न नहुने उनले बताए। तर, वैकल्पिक ठाउँ हुनुपर्ने उनको भनाइ छ। “व्यवस्थित गर्ने मोडेलमा जानुपर्छ। सकभर सराङकोटमै भनेका छौँ”, भट्टराईले भने, “हामीले त्यहीँ (सराङकोटमा) हुनुपर्छ भनेर अडान लिएको होइन। तर विस्थापित हुनुभन्दा व्यवस्थित हुनुपर्छ।”
विकल्पका रुपमा सारिएका गन्तव्यबाट भए पनि प्याराग्लाइडिङ पोखरामा चलिरहने उनले बताए। पोखराको पर्यटनको प्रमुख गन्तव्य भएकाले बन्द गर्न नहुने उनको भनाइ छ।
यो पनि- सञ्चालन नहुँदै समस्याका चाङ : के होला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य?
प्याराग्लाइडिङ व्यवसायी तथा पाइलट राजेश बम्जन नागरिक उड्ययन प्राधिकरणको प्रतिवेदन नआएसम्म केही बोल्न नमिल्ने बताउँछन्। “व्यवसायीहरू डेलिगेसन गएका थियौं। प्राधिकरणले के भन्छ, रिपोर्ट नआएसम्म बोल्न मिल्दैन”, उनले भने।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले विमानस्थल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बताए। प्याराग्लाइडिङको विषयमा भने प्राधिकरणले अध्ययन गरिरहेकाले प्रतिवेदन आएपछि मात्र भन्न सकिने उनले बताए।
विमानस्थलले आगामी पुस १७ बाट उडान गर्ने तयारी गरिरहे पनि सञ्चालनका लागि हुनसक्ने जटिलताको सम्बोधन गरिएको छैन। विमानस्थलबाट तीन किलोमिटर दूरीमा रहेको ल्यान्डफिल्ड साइटले विमानस्थलमा गिद्ध, चराचुरुङ्गी लगायतका गतिविधि हुने भए पनि तत्काल सार्न नसकिने भएको छ।
विमानस्थल संचालनका लागि नागरिक उड्डयन प्राधिकरणले क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) पनि गराइसकेको छ। थाइल्यान्डको एरो थाई विमानले क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन बुझाउँदै विमानस्थल उडानयोग्य रहेको जनाइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
