समर्थकको निशानामा फ्रान्सेली खेलाडी

कतारमा सम्पन्न विश्वकप फुटबलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि फ्रान्सेली खेलाडीमाथि रङ्गभेदी टीकाटिप्पणी भइरहेको छ।

काठमाडौँ– कतारमा सम्पन्न विश्वकप फुटबलमा चार वर्षअघिको विश्वविजेता फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भयो।

हारपछि फ्रान्सका खेलाडीमाथि सामाजिक सञ्जालमा ट्रोल गरिएको छ। उनीहरूमाथि रङ्गभेदी टीकाटिप्पणी भइरहेको छ। फ्रान्स फुटबल महासंघले यस्ता कार्य गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

आइतबार राति सम्पन्न फाइनलमा निर्धारित समयसम्म दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले १–१ गोल ​​गरेका थिए। यसरी खेल ३–३ को बराबरीमा सकिएको थियो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो।

पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४–२ ले विजयी भएको थियो। फ्रान्सका लागि पेनाल्टी सुटआउटमा केलियन एमबाप्पे र रान्डल कोलो मुआनीले गोल गरे। तर, किङ्स्ले कोमन र ओरेलियन चौमेनीले गोल गर्न सकेनन्।

फ्रान्स फुटबल फेडेरेसनले आफ्नो सामाजिक सञ्जालबाट फ्रान्सेली टोलीका धेरै खेलाडीमाथि सामाजिक सञ्जालमा रङ्गभेदी टिप्पणी भइरहेको बताएको छ। "महासंघ यसको निन्दा गर्दछ। यो पटक्कै सह्यै छैन। महासंघले त्यस्ता व्यक्तिविरुद्ध उजुरी दिनेछ," महासंघले भनेको छ।

फुटबल खेलाडीलाई यसरी निशाना बनाइएको यो पहिलो पटक भने होइन। यसअघि पनि धेरै टोलीका खेलाडीहरू फुटबल समर्थकको निशानामा परेका छन्। सन् २०२० को युरोकपमा स्विट्जरल्यान्डसँग पराजित भएपछि फ्रान्सका फरवार्ड एमबाप्पे निशानामा परे। तर, कतार विश्वकपमा एमबाप्पेले गोल्ड बुट जिते। उनले सर्वाधिक ८ गोल गरे, फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक नै गरे।

युरोकप २०२० को फाइनलमा इटालीसँग इंग्ल्यान्डले हार बेहोरेको थियो। त्यसपछि इंग्लिस खेलाडी जाडोन सान्चो, बुकायो साका र मार्कस रासफोर्डले पनि समर्थकबाट अपमानको सामना गर्नुपरेको थियो।

उनीहरूले फाइनलमा पेनाल्टी सुटआउटमा गोल गर्न सकेका थिएनन्। उनीहरूमाथि रङ्गभेदी टिप्पणी गर्ने धेरै समर्थकलाई बेलायती प्रहरीले गिरफ्तार गरेको थियो। तीमध्ये एक जनालाई १० हप्ता जेल सजाय भएको थियो।