अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट दुई दिनमै सकिएपछि आईसीसीले द गाब्बाको पिचलाई एक ‘डिमेरिट’ अंक दिएको छ।
काठमाडौँ– ब्रिसबेन क्रिकेट मैदान (द गाब्बा)को पिचलाई औसतभन्दा कम रेटिङ दिइएको छ। अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट दुई दिनमै सकिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पिचलाई एक ‘डिमेरिट’ अंक दिएको हो।
जम्मा ८६६ बल मात्रै फ्याँकिएको खेलमा ३४ विकेट झरेको थियो। यो खेल अस्ट्रेलियामा खेलिएको दोस्रो सबैभन्दा छिटो समाप्त भएको टेस्ट म्याच थियो। यस टेस्टमा बलरले प्रत्येक २५.५ बलमा एक विकेट लिएका थिए।
“ब्याट र बलको बीचमा उचित प्रतिस्पर्धा कतै थिएन”, दक्षिण अफ्रिकाका कप्तान डीन एल्गरले खेलपछि भने। एल्गरको भनाइमा आईसीसी पनि सहमत देखिन्छ।
“गाब्बाको पिच बलरहरूलाई उचित थियो। अतिरिक्त बाउन्स थियो र कहिलेकाहीँ अत्यधिक सीम मुभमेन्ट थियो। यसले ब्याट्सम्यानहरूलाई साझेदारी बनाउन धेरै गाह्रो बनायो”, टेस्ट म्याच रेफ्री रिची रिचर्डसनले भने, “मैले आईसीसीको दिशानिर्देशअनुसार पिच औसतभन्दा कम पाएको छु। यो ब्याट र बलबीचको निष्पक्ष प्रतिस्पर्धाका लागि अनुकूल थिएन।”
एल्गरले अस्ट्रेलियाको दोस्रो इनिङ्समा मैदान अम्पायर क्रिस गाफ्नी र रड टकरलाई पिचका बारेमा प्रश्न गरेका थिए। तर, उनले जवाफ पाएनन्। अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले पिचको सतह ब्याट्सम्यानका लागि खतरनाक नभएको बताए। यद्यपि, उनले यो पिचमा ब्याटिङ गर्न सजिलो नभएको स्वीकार गरे।
“दुई दिनमा टेस्ट सकिनु सायद उपयुक्त नहुन सक्छ। यद्यपि, व्यक्तिगत रूपमा मलाई पिचमा कुनै आपत्ति छैन। दुवै टोलीका लागि यो समान थियो”, उनले भने।
पछिल्लो चार वर्षमा अस्ट्रेलियाको पिचलाई आईसीसीले नेगेटिभ रेटिङ दिएको यो दोस्रो पटक हो। जनवरी २०१८ मा अस्ट्रेलिया र इंग्ल्यान्डबीच ‘ड्र’ भएको टेस्ट म्याचमा पाँच दिनमा २४ विकेट मात्रै खसेको थियो। त्यसपछि आईसीसीले मेलबर्न क्रिकेट मैदान (एमसीजी)को पिचलाई खराब रेटिङ दिएको थियो।
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको अर्को टेस्ट बक्सिङ डे (डिसेम्बर २६) मा एमसीजीमा शुरू हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
