क्यासिनोमा आगलागी हुँदा कम्बोडियामा १० जनाको मृत्यु

कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। थाइल्यान्डको सीमासँग जोडिने पोइपेमा आगलागी भएको हो।

कम्बोडियामा एक क्यासिनोमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ।

त्यस्तै, आगलागीमा परी ३० जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको थाइल्यान्डको विदेश मन्त्रालयले जनाएको छ।

कम्बोडिया र थाइल्यान्डको सीमास्थित पोइपे शहरको ग्रान्ड डायमन्ड सिटी होटल–क्यासिनोमा बुधबार अबेर आगलागी भएको थियो। बिहीबार बिहानसम्म पनि आगो निभाउन सकिएको थिएन। आगो निभाउन थाइल्यान्डबाट दमकल लगिएको थियो।

घटनापछि आकस्मिक सहायताका लागि ३६० जना सहयोगी र ११ वटा दमकल प्रयोग भएका थिए। उद्धार कार्य अझै जारी छ। क्यासिनोका ५० जना कर्मचारी अझै भग्नावशेषमा पुरिएको आशंका छ।

आगलागीको समयमा होटलमा ४ सय जना मानिस रहेको स्थानीय प्रहरीको भनाइ छ। आगलागीको कारण खुलेको छैन।

कम्बोडिया र थाइल्यान्डबीच आवतजावत गर्ने महत्त्वपूर्ण नाकाका रूपमा रहँदै आएको पोइपे क्यासिनोका लागि चर्चित स्थान हो। 

थाइल्यान्डमा जुवा खेल्नु गैरकानूनी भएकाले धेरै जना यहाँ आएर खेल्ने गरेका छन्।

-एजेन्सी