आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हुन्छ। त्यसैले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

तस्वीर : देवराज गुरुङ

काठमाडौँ– गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। 

पर्वका अवसरमा काठमाडौँको टुँडिखेलसहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हुन्छ। त्यसैले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। पर्वमा गुरुङ समुदायका महिलाले शिरबन्दी, मखमली चोली, घलेक पटुकी, छिटको गुन्यू लगाउने गर्छन्। त्यस्तै, पुरुषहरूले परम्परागत टोपी भोटोमाथि भाङ्ग्रो, कछाड र पटुकी बाँध्ने गर्छन्। 

ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन्।