विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भएकाले स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको कृषक खेमराज जोशीको भनाइ छ।
डडेलधुरा– अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले ६ वर्षअघि दुई लाख ५० हजार रुपैयाँ लगानी गरेर व्यावसायिक च्याउखेती शुरू गरेका थिए। उनले वार्षिक च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा बिदेसिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि पेसामा भविष्य खोजिरहेका छन्। विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उनले बताए।
जोशी अहिले ३३ वर्षका छन्। कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजनासहित काठमाडौँ गएको जोशीले सुनाए। काठमाडौँ रहँदा विभिन्न किसिममा कृषि फार्मको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएको उनले बताए।
दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गरिरहेको कृषक जोशीले बताए। ६ वर्षअघि शुरू भएको च्याउखेतीबाट उनी अहिले जिल्लाको नमूना कृषकका रूपमा स्थापित भएका छन्।
च्याउखेतीमा भविष्य राम्रो देखेर आफू लागेको जोशीले बताए। “पहिले च्याउको बीउ लिन काठमाडौँ जानुपर्ने बाध्यता थियो। अहिले आफैँले फार्ममा उत्पादन गरिरहेको छु”, उनले भने, “अधिकांश साथीहरू रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक पलायन भएका छन्। आफू कृषि पेसामा रमाइरहेको छु।”
उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने जनाउँदै जोशीले बजारीकरणको समस्या नरहेको बताए। एक पटकमा तीन सय किलोसम्म च्याउ बिक्री हुने उनले जानकारी दिए। कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उनले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिने उल्लेख गरे।
“डडेलधुराको च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु,” जोशीले भने, “वर्षमा तीन पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ।” च्याउखेतीबाट सबै खर्च कटाएर वार्षिक सात–आठ लाख रुपैयाँसम्म बचत भइरहेको उनले जानकारी दिए।
“विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने रहेछ। अहिले प्रतिकिलो दुई सय रुपैयाँका दरले च्याउ बिक्री गरिरहेको छु,” जोशीले भने। फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उनले आगामी दिनमा च्याउखेती विस्तार गर्दै लैजाने योजना रहेको उनले बताए।
स्थानीय सरकार तथा सरोकार भएका निकायले युवालाई स्वरोजगारका अवसर सिर्जना गर्न, सीप विकास गर्न तालिमसहित आर्थिक, प्राविधिक सहयोग गर्नुपर्नेमा जोशीले जोड दिए। स्थानीयस्तरमा आम्दानीका स्रोत बनाउन सके युवाको विदेश पलायनदरमा कमी आउने उनको बुझाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
