एनपीएलमा कर्णालीको दोस्रो जित, विराटनगर ७ रनले पराजित

एनपीएलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेको छ। एनपीलअन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको हो।

चार खेलमा कर्णालीको यो दोस्रो जित हो। शुरूआती दुई खेलमा पराजित कर्णाली त्यसयता लगातार दुई खेलमा विजयी भएको हो। जारी प्रतियोगितामा विराटनगरको यो तेस्रो पराजय हो।

कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले २० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। 

विराटनगरका लागि नोकिलस क्रिटोनले बनाएको ४० रन नै सर्वाधिक उच्च स्कोर रह्यो। उनले ३९ बलको सामना गर्दा ४ चौका र १ छक्का प्रहार गरे। 

लोकेश बमले ९ बलमा १ चौका र २ छक्का प्रहार गर्दै १९ रन बनाए। दीपक बोहराले १३ बल खेल्दै १ चौकाको मद्दतमा १८ रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन्।

बलिङतर्फ कर्णालीका नन्दन यादवले सर्वाधिक ३ विकेट लिए। विपिन शर्माले २ विकेट लिँदा सोमपाल कामी, विलिम बोसिस्टो र युनिश ठकुरीको नाममा समान १/१ विकेट रह्यो।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा १३३ रन बनायो। 

कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टा अर्धशतक प्रहार गरे। देव ४८ बलमा ५३ र बोसिस्टा ४९ बलमा ६६ रन बनाएर आउट भए। 

९ रनमा २ विकेट गुमाएको कर्णालीको ब्याटिङ देव र बोसिस्टोले सम्हालेका थिए।

बलिङमा विराटनगरका प्रतीश जिसीले ४, क्रिस सोल र बसिर अहमदले २–२ र अकिव इल्यासले एक विकेट लिए।