फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा संकटमा

जलारी दिदीबहिनी समूहकी अध्यक्ष मिना जलारीले जालमा परेका माछाले जीविका धान्न कठिन हुन थालेको बताइन्। अहिले एक परिवारको भागमा दैनिक दुई केजी माछा पनि मुस्किलले पर्ने उनको भनाइ छ।

कास्की– पोखरा–१८ खपौंदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छन्। जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ। 

“१३ वर्षको उमेरमा विवाह भयो, श्रीमान् पनि उमेर छँदै बित्नुभयो, दुई छोरा छन्, उनीहरू पनि भिन्दै बस्छन्, छोराहरूले जाल थापेर मारेका माछा बिक्रीका लागि जान्छु। पछिल्ला वर्ष जालमा माछा पर्न पनि कम भइसकेको छ, दशौँ वर्ष भयो स्थानीय जातमा शहर, असला र नैनी माछा देख्न पाइएको छैन, फेवातालमा माछा घट्दा हाम्रा पेसा संकटमा परेको छ।”

पोखराको फेवाताल किनार खपौंदी, वैदाम, गाईघाटमा रहेका जलारी समुदायको एक सय परिवारमध्ये एकदुई परिवारबाहेक अन्य सबै यही पेसामा आबद्ध छन्।

हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीका अनुसार फिरन्ते जीवन स्थापित त भयो तर यो समुदायमा गरिबी भने हट्न सकेको छैन। पछिल्ला वर्ष फेवाताल वरपरका खेतमा विषादीको प्रयोग हुँदा माछा लोप भएका कारण जलारीको पेसा थप संकटमा परेकोमा उनले चिन्ता व्यक्त गरे।  

आयातित माछाकै कारण रैथाने माछा संकटमा पारेको र पछिल्ला वर्ष जालमा माछा पर्न कम भएपछि जलारीको पेसालाई बचाउन स्थानीय सरकारले फेवातालका माछा संरक्षणमा जोड दिन आवश्यक भएको उनले बताए। फेवाताल संरक्षण गर्दे परम्परागत रूपमा माछा मार्ने पेसामा संलग्न जलारी समुदायको जीविकोपार्जनका लागि पनि तालमा बढीभन्दा बढी माछाका भुरा छाडेर सहयोग गर्न उनले सरकारसँग आग्रह गरे। 

पछिल्ला वर्षमा स्वास्थ्यप्रति मानिसहरू सचेत हुँदा स्थानीय जातको माछा प्रयोगमा आकर्षण बढेकाले सरकारले पनि यस्ता माछाको संख्या वृद्धि र संरक्षणमा जुट्नुपर्ने भनाइ उनको छ। फेवाताल किनारमा बसोबास गर्ने जलारी समुदायका अधिकांश युवा माछा मार्ने व्यवसायमा छन् भने केही रोजगारीका लागि खाडी मुलुकमा भएका छन् भने पुरानो पुस्ता भने यही पेसामा छ। फेवातालबाहेक बेगनास तालमा पनि केही मात्रमा जलारी समुदाय माछा मार्ने व्यवसायमा नै लागेका छन्।

जलारी दिदीबहिनी समूहकी अध्यक्ष मिना जलारीले जालमा परेका माछाले जीविका धान्न कठिन हुन थालेको बताइन्। अहिले एक परिवारको भागमा दैनिक दुई केजी माछा पनि मुस्किलले पर्ने उनको भनाइ छ। माछाको मूल्य जातअनुसार प्रतिकेजी चार सयदेखि एक हजार ५०० रुपैयाँसम्मका छन्। तर अधिकांश माछा तिलिपिया भएकाले मूल्य निकै कम हुने उनले बताइन्।

जलारी समुदायका महिलाको जीवनस्तर सुधार गर्न राज्यले अन्य बाटाहरू खोज्नुपर्नेमा उनले जोड दिइन्।  फेवातालमा जलारी समुदायबाहेक अन्य व्यक्तिले लुकिछिपी बल्छी थापेर माछा मार्ने गर्दै आएकाले त्यस्तो कार्यलाई रोक्न समेत उनले आग्रह गरिन्। 

मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा. मोहमत इक्वाल हुसेनले पोखराको फेवातालमा २४ प्रजातिका माछा रहेको जानकारी दिए। फेवाताल वरपरको खेतबारीमा प्रयोग भएको विषादीका कारण माछा मात्र संकटमा परेका छैनन् त्यसबाट आश्रित जलारी समुदायका पेसा समेत संकटमा पर्दै गएको उनको भनाइ छ। पोखराको फेवातालमा मत्स्य अनुसन्धान केन्द्र तथा विभिन्न संघ संस्थाले वार्षिक १० देखि १२ हजारको संख्यामा विभिन्न जातका माछा छाड्ने गरेको बताए।