ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

पूर्वाधार र प्रचारप्रसारकाे अभावमा बागलुङको ताराखोला गाउँपालिका–३ स्थित ‘खिउ बराह ताल’ ओझेलमा परेकाे छ। तालबाट दर्जन बढी हिमश्रृ‌खला देख्न सकिन्छ।

तस्वीर : रासस

बागलुङ– बागलुङको ताराखोला गाउँपालिका–३ स्थित ‘खिउ बराह ताल’ ओझेलमा परेको छ। तीन हजार १०० मिटर उचाइमा रहेको यो ताल आफैंमा सुन्दर छ। यहाँबाट कैयन हिमाल देख्न सकिन्छ। तर, पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ओझेलमा परेको हो। 

पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार हुन नसकेको स्थानीय कृष्ण अठारे मगरको भनाइ छ। “तालसम्म पुग्नका लागि सडकको पहुँच वा पदमार्ग निर्माण हुन सकेको छैन”, उनले भने। स्थानीय नीरज बगालेले आफूहरू ताल संरक्षण र प्रचारप्रसारमा जुटेको बताए।

पछिल्लो समय स्थानीय ताल छेउमा वनभोजका लागि जाने गरेका छन्। बाहिरबाट भने हालसम्म कोही नआएको उनको भनाइ छ। पालिकाले गत आर्थिक वर्षमा ताल संरक्षणका लागि चार लाख रुपैयाँ विनियोजन गरेको थियो। यसवर्ष प्रदेश सरकारले सहयोग गरेको छ। ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पनि पहल शुरू गरेको छ।

यसवर्ष प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँबाट ताल मर्मत सम्भार गरिने ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यक्रम अधिकृत रणबहादुर विकले जानकारी दिए। “बागलुङका तीन वटा ताल यसवर्ष संरक्षण र मर्मत सम्भार हुँदैछन्”, उनले भने, “ताराखोलाको खिउ बराह, ढोरपाटनको रुद्र र तामानखोलाको बराह तालमा काम भइरहेको छ।”

ताराखोलाका उपाध्यक्ष भीमबहादुर रोकाले पालिकाभित्रका तालतलैया र धार्मिकस्थलको प्रवद्र्धनका लागि नीति बनाएर अघि बढाउने बताए। उनले पर्यटन क्षेत्रको विकास गरी स्थानीयको आयआर्जन बढाउने र जीवनस्तरमा उकास्ने योजना बनाएको दाबी गरे।

तालबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायत दर्जन हिमश्रृंखला, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँचीलगायत जिल्ला देख्न सकिन्छ।