सिरिया स्वतन्त्र भएको विद्रोही समूहको दाबी, देश छाडेर कहाँ गए बसर अल असद?

राष्ट्रपति बसर र उनको परिवार सिरियाबाट भागेसँगै विद्रोहीले सिंगो देश कब्जा गरिसकेका छन्। यससँगै सिरियामा करिब ५३ वर्षसम्म रहेको असद परिवारको शासन समाप्त भएको छ।

सरकारी कार्यालयबाहिर टाँगिएका बसर अल असदका तस्वीरमा समेत विद्रोहीले गोली प्रहार गरेका छन्।

काठमाडौँ– सिरियाका विद्रोही समूहले राजधानी दमास्कसमा प्रवेश गरेको दाबी गरेका छन्। यसका भिडियो फुटेजहरू पनि सार्वजनिक भएका छन्, जसमा गोली चलेको पनि देख्न सकिन्छ।

यसैबीच, समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल–असदले दमास्कस छोडेको बताएको छ, तर उनी कहाँ गएका छन् भन्ने अझै स्पष्ट छैन। 'सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स'ले पनि राष्ट्रपति असदलाई बोकेको हुनसक्ने एक निजी विमान दमास्कस विमानस्थलबाट निस्किएको जनाएको छ।

यसअघि विद्रोहीहरूले दमास्कसको उपनगरमा राष्ट्रपतिका पिता हाफेज अल-असदको प्रतिमा ढालेका थिए। 

सिरियाका विद्रोही समूहहरूले हालसम्म हामा, डेराका अधिकांश भाग र तेस्रो ठूलो शहर होम्स कब्जा गरेका छन्। इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल–शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक क्षण भनेका छन्। साथै यस समूहले राजधानी दमास्कसमा प्रवेश गरी सिरियालाई स्वतन्त्र घोषणा गरेको छ। एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा 'एउटा कालो अध्याय समाप्त भएको र नयाँ शुरूआत भएको' दाबी गरेको छ।

होम्स शहर कब्जा गर्नु सिरियाली राष्ट्रपति बसर अल–असदको विरोध गर्ने विद्रोहीहरूका लागि निकै महत्त्वपूर्ण क्षण हो। सन् २०११ मा शुरू भएको विरोध प्रदर्शन र त्यसपछिको गृहयुद्धमा यो शहर विपक्षीहरूको गढ भएको थियो। होम्सका केही भाग तीन वर्षसम्म विद्रोहीको घेराबन्दीमा थिए। त्यसपछि सन् २०१५ मा संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको सम्झौतापछि पूरै शहर सरकारको नियन्त्रणमा थियो। यसअघि पनि सिरियाको ३० प्रतिशत भूभाग विद्रोहीको नियन्त्रणमा थियो तर अहिले सबै भूभाग विद्रोहीको कब्जामा छ।

यसैबीच विपक्षी नेता हादी अल बहराले दमास्कस सुरक्षित रहेको बताएका छन्। बहराले अरबी समाचार च्यानल अल–अरेयिबासँग भनेका छन्, "असदको सरकार पतन भएको छ र यससँगै सिरियाली इतिहासको कालो युग समाप्त भएको छ।"

साथै प्रधानमन्त्री घाजी अल जलालीले अब सार्वजनिक संस्थानको जिम्मा लिने बताइएको छ। जलालीले पनि विपक्षीसँग मिलेर सरकार चलाउने घोषणा गरिसकेका छन। 

सिरियाका शहरमा प्रवेश गरेका विद्रोही समूहका लडाकु।

विद्रोहीहरूले विगत पाँच दशकदेखि असदको शासनबाट विस्थापित भएका वा जेलमा परेकाहरू अब फर्कन सक्ने बताएका छन्। सैदनाया जेलबाट हजारौं कैदीहरूलाई रिहा गरिएका छन्। यस जेलमा असदका विपक्षीहरूलाई यातना दिइएको थियो।

असदलाई सहयोग गर्दै आएको इरान समर्थित हिजबुल्लाहले पनि सिरियाका केही क्षेत्रबाट आफ्ना लडाकुहरूलाई फिर्ता लिएको बताएको छ।

५३ वर्षको शासन अन्त्य
राष्ट्रपति बसर र उनको परिवार सिरियाबाट भागेसँगै विद्रोहीले सिंगो देश कब्जा गरिसकेका छन्। यससँगै सिरियामा करिब ५३ वर्षसम्म रहेको असद परिवारको शासन समाप्त भएको छ। आफ्ना बुवा हफिज अल असदको निधनपछि सन् २००० मा बसरले सत्ता सम्हालेका थिए। हफिज २९ वर्ष सत्तामा रहेका थिए। दमास्कसको सडकमा बसरको सरकारको पतन भएकोमा ठूलो संख्यामा मानिसहरूले उत्सव मनाइरहेका छन्।

मुस्लिम बाहुल्य सिरियामा ७४ प्रतिशत सुन्नी छन्, जबकी असद परिवार सिया सम्प्रदायबाट आउँछ। त्यसैले पनि बाहुल्य सुन्नी मुस्लिमहरूले कम संख्याको सिया असद परिवार सत्तामा रहेको स्वीकार्न सकेको थिएन। त्यसैमाथि असद परिवारको निरंकुशताका कारण पनि सिरियामा आन्तरिक द्वन्द्व व्याप्त थियो। विद्रोही समूहले असद परिवारलाई निशाना बनाउँदै आएका थिए।

असद सरकार र विद्रोही समूहहरूबीच जारी द्वन्द्वमा हालसम्म पाँच लाखभन्दा बढी मानिस मारिएको दाबी गरिएको छ। साथै विगत १३ वर्षमा सिरियाबाट करिब ६८ लाख मानिसले देश छोडेका छन्। यीमध्ये अधिकांश टर्की र युरोपेली देशहरूमा बसोबास गरिरहेका छन्।