नेप्से परिसूचक १.६७ प्रतिशतले घटेर २६८९ अंकमा सीमित

आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा सीमित भएको छ भने सात अर्ब ४६ करोड बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उच्च अंकको गिरावट देखिएको छ। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

नेप्से परिसूचक तीन कारोबार दिनयता लगातार घटिरहेको छ। नेप्सेका अनुसार आइतबार परिसूचक ४५.९३ अंक अर्थात् १.६७ प्रतिशतले घटेर २६८९ को विन्दुमा सीमित भएको हो। अघिल्लो कारोबार दिन बिहीबार १५.९६ अंकले र त्यसअघि बुधबार २४.९७ अंकले घटेको थियो।

आइतबार विभिन्न ३२१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर ८१ हजार ४०४ पटक खरिदबिक्री हुँदा मात्रै सात अर्ब ४६ करोड तीन लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि बिहीबार आठ अर्ब ३६ करोड ९६ लाख र बुधबार नौ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। सर्वाधिक जीवन बीमाको ३.०७ प्रतिशतले घटेको छ भने व्यापार समूहको उपसूचक पनि २.१३ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा तीन वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन र जोशी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको हो। त्यस्तै, सामुदायिक लघुवित्त ९.९७ र दिव्याश्वरी हाइड्रोका लगानीकर्ताले ७.०९ प्रतिशतले गुमाएका छन्।

यस दिनको कारोबारमा खानीखोला हाइड्रो पावर ९.९८, डोल्टी पावर कम्पनी ८.७७,१० प्रतिशत केबीएल डिभेन्चर ८.१४, स्वाभिमान लघुवित्त ७.८९, र मोलुङ हाइड्रो पावरका लगानीकर्ताले ६.५० प्रतिशतले कमाएका छन्।

कारोबार रकमका आधारमा आइतबार एनआरएन इन्फाइस्टक्चर डेभलपमेन्टको सर्वाधिक ३२ करोड ६४ लाख ६१ हजार ५६९ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा लक्ष्मी उन्नति कोशीको दुई लाख पाँच हजार १०० कित्ता किनबेच भएको छ।