बाजुरामा स्कारपियो दुर्घटना हुँदा २ को मृत्यु, ३ जना घाइते

मार्तडीमा आइतबार दिउँसो स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बाजुरा– सदरमुकाम मार्तडीमा आइतबार दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटलनजिकै सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की  राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका उनले बताए।  

उनका अनुसार घटनामा परेर मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ। घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको हेलिकप्टरमार्फत थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजाने पहल भइरहेको उनले जानकारी दिए। 

जिप दुर्घटना हुँदा सात जना घाइते
जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा आइतबार जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। सोही गाउँपालिका–६ स्थित धिम गाउँमा जिप दुर्घटना भएको हो। 

धिममा एभरेस्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घाइते सबैको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि पठाइएको छ । गाडी अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।