ऐन, नियम बनाउँदा दलहरू विभाजित बन्नु हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ऐन, नियम बनाउने कुरामा विभाजित हुन नहुने बताएका छन्। उनले संसद्‌मा रहेका दलहरू नीति निर्माणका लागि एकठाउँ उभिनु आवश्यक भएको बताए।

फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरू विभाजित बन्नु नहुने बताएका छन्।

मंगलबार प्रेस लैंगिक नीति सम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्‌मा रहेका दलहरू नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताएका हुन्। 

उनले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यकता रहेको भन्दै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरूले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिए। 

महामन्त्री थापाले शुरूआतबाटै नीति निर्माणका लागि सम्बन्धित निकायले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको बताए। 

उनले नेपालमा शुरूआती चरणमा कुनै कुरा नराख्ने तर नीति निर्माणको अन्तिम बेलामा आएर विभिन्न तर्क अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानूनको संशोधन र निर्माण हुन नसकेको बताए। 

महामन्त्री थापाले सरकारी पक्षलाई सबै क्षेत्रले आफ्ना क्षेत्रका समस्या समाधानका लागि हुनसक्ने सम्भावित कुराको जानकारी समयसमयमा गराइरहने हो भने नीति निर्माणकर्ताले पनि सोहीअनुसार निर्माणका कुरमा आफ्ना धारणाहरू थप सशक्त र गम्भीरताका साथ उठान गर्नसक्ने बताए।

महामन्त्री थापाले आधारभूत स्वतन्त्रता थप संकुचित भए समुन्नतिको मापनमा पछि परिने बताए।