सोमबार पनि घट्यो नेप्से परिसूचक, साढे ५ अर्बको कारोबार

सोमबार नेप्से परिसूचक १२.८७ अंकले घटेर २६७६.१२ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चार कारोबार दिनयता लगातार गिरावट देखिएको छ। गत बुधबारदेखि देखिएको लगातारको गिरावटले सोमबार पनि निरन्तरता पाएको हो।

नेप्सेका अनुसार सोमबार परिसूचक १२.८७ अंकले घटेर २६७६.१२ को विन्दुमा सीमित भएको हो। यसअघि आइतबार ४५.९३, बिहीबार १५.९६ र बुधबार २४.९७ अंकले घटेको थियो। 

सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि निरन्तर घटिरहेको घटेको छ। सोमबार विभिन्न ३१७ कम्पनीको एक करोड १४ लाख ५० हजार ५०३ कित्ता शेयर ६२ हजार ३३७ पटक खरिदबिक्री भयो। जसबाट पाँच अर्ब ५९ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

यसअघि सात अर्ब ४६ करोड तीन लाख, बिहीबार आठ अर्ब ३६ करोड ९६ लाख र बुधबार नौ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा वित्त ०.१५, लगानी ०.७६, उत्पादन तथा प्रशोधन १.०६, म्युचुअल फन्ड ०.१४, अन्य समूहको उपसूचक ०.११ प्रतिशतले बढेको छ। यीबाहेक आठ समूहको उपसूचक भने घटेको छ।

सर्वाधिक व्यापार समूहको उपसूचक ३.०७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको उपसूचक पनि १.१६ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा एउटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको हो। त्यस्तै, खानीखोला हाइड्रो पावर ८.२१, लाइफ इन्स्योरेन्स कर्पोरेसन ७.२५, ९.५% एनसीसी डिभेन्चर २०८६ ४.४४ र सुपर माई हाइड्रो पावरका लगानीकर्ताले ३.८७ प्रतिशतले गुमाएका छन्।

यस दिनको कारोबारमा इमर्जिङ नेपालको ८.७६, महिला लघुवित्त ७.१४, १०.२५% सिटिजन्स बैंक डिभेन्चर ६.११, एनआरएन ६.०३ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले ५.९९ प्रतिशतले कमाएका छन्।

कारोबार रकमका आधारमा सोमबार हिमालयन डिस्टिलरीको सर्वाधिक २७ करोड ८६ लाख २४ हजार ८२२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा आरबीबी म्युचुअल फन्ड २ को पाँच लाख १७ हजार ४०० कित्ता किनबेच भएको छ।