वीरगन्जको सानो पाइला सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धानका लागि सोमबार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सा पुर्याइएको छ।
पर्सा– सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पर्सामा ल्याइएको छ।
वीरगन्जको सानो पाइला सहकारीको रकम ठगी प्रकरणको अनुसन्धानका लागि सोमबार लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सामा ल्याइएको हो। प्रहरीले सभापति लामिछानेलाई सोमबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिमरा विमानस्थलसम्म हवाई उडानमार्फत ल्याइएको हो। पर्सा प्रहरीले लामिछानेलाई सिमराबाट भने सवारीसाधनमा राखेर पर्सा ल्याएको हो।
गत मंसिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो। सो पक्राउ पुर्जीको आधारमा थप अनुसन्धानका लागि लामिछानेलाई पर्सा ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले सोमबार बेलुकीपख लामिछानेलाई थप अनुसन्धानको लागि पर्सा ल्याइएको जानकारी दिए। “रास्वपाका सभापति लामिछानेलाई सानो पाइला सहकारीको विषयमा थप अनुसन्धानका लागि पर्सा जिल्ला ल्याइएको हो”, उनले भने, “आवश्यक कानूनी प्रक्रिया पूरा गरेर सरकारी वकिलको कार्यालयमा बयानका लागि लैजानेछौँ।”
यसैबीचमा रास्वपाका सभापति लामिछानेलाई वीरगन्ज ल्याउने क्रममा रास्वपाका कार्यकर्ताले सिमरा र वीरगन्जमा विरोध प्रदर्शन गरेका थिए। पर्सा प्रहरीले सानो पाइला सहकारी प्रकरणमा जोडिएका गोर्खा मिडिया तत्कालीन उपाध्यक्ष छविलाल जोशी बन्जाडे र रामबहादुर खनाललाई स्थलमार्गबाट आइतबार मध्यरातमा पर्सामा ल्याइएको जानकारी दिए।
सरकारी वकिलको कार्यालयमा सोमबार जोशी र खनालको बयान कार्य भइरहेको छ। पर्सा जिल्ला अदालतले गत मंसिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो।
तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रुपैयाँ रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ। कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्ला–जिल्लामा बयान लिने क्रम जारी छ।
मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
मानवअधिकार आयोगले रास्वपा सभापति लामिछानेमाथि प्रहरीले गरेको दुर्व्यवहारबारे अनुसन्धान शुरू गरेको छ।
सहकारी प्रकरणमा अनुसन्धानको क्रममा हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई चितवनबाट कास्की लैजाने क्रममा अमानवीय व्यवहार गरेको र मानवअधिकार हनन भएको भन्दै आयोगमा उजुरी परेको थियो।
उजुरीमा उल्लेख भएअनुसार मध्यरातमा कास्की लैजाने क्रममा प्रहरी महानिरीक्षकको आदेशले लामिछानेमाथि अमानवीय व्यवहार गरेको विषयमा अनुसन्धान शुरू गरेको आयोगले सोमबार विज्ञप्तिमार्फत जनाएको छ।
“उक्त घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितको प्रहरी उच्च अधिकारीसँग आज आयोगले जानकारी लिएको छ”, विज्ञप्तिमा भनिएको छ।
यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धान जारी राखेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
