म्याग्दीको मुनामा संकटापन्न रेडपाण्डा भेटिएपछि संरक्षणमा जुट्दै स्थानीय

धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बञ्चरेडाँडा जंगलमा भेटिएको संकटापन्न रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाइने बताएका छन्।

म्याग्दी– धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जंगलमा संकटापन्न जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ।

समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ। मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्ड भेटाएका हुन्।

धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्वीर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गरेका थिए। साबिक मुना गाविसको जंगलमा पहिलोपटक रेडपाण्डा भेटिएको स्थानीय पुनले जानकारी दिए।

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बञ्चेडाँडामा भेटिएको उक्त जनावर रेडपाण्डा भएको पुष्टि गरे। “भिडियो र तस्वीरका साथै त्यहाँ भेटिएको दिसाका आधारमा म्याग्दीको धौलागिरि क्षेत्रमा रेडपाण्डाको वासस्थान रहेको पुष्टि भएको छ”, उनले भने, “रेडपाण्डा संरक्षणका लागि मन्त्रालय र दातृ निकायका परियोजनामा कार्यक्रम प्रस्ताव गर्छौं।”

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो। रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालका अनुसार यसअघि रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन।

“आठ वर्षअघि लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जंगलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको वासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन”, उनले भने, “संरक्षणका लागि जनचेतनामूलक कार्यक्रमको प्रभावका कारण रेडपाण्डाको संख्या वृद्धि भएर देखिन थालेका हुन्।”

रेडपाण्डाका वासस्थान पहिचान गरेपछि तत्कालीन समयमा जिल्ला वन कार्यालय तथा स्थानीयसँगको सहकार्यमा गुर्जा र लुलाङका विद्यार्थी, समुदायलाई समेत सचेतनामूलक कार्यक्रमसहित रेडपाण्डाको महत्त्वबारेमा जानकारी गराइएको थियो।

रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगामा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको महत्त्वबारेमा जानकारी पाएपछि समुदाय स्तरमा पनि संरक्षणमा चासो बढेको छ।

गुर्जा, लुलाङ र मुनाको जंगलमा रहेका रेडपाण्डाको गणना नभए पनि प्रशस्तै रहेको अनुमान गरिएको छ। विश्व वन्यजन्तु कोषको सहयोगमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ र मुदीमा हाब्रेको वासस्थानको विषयमा अध्ययन भएको थियो।

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले रेडपाण्डाको संरक्षणमा डिभिजन वन कार्यालय र संघसंस्थासँग समन्वय गरेर सचेतनामूलक अभियान सञ्चालन गरिने बताए। “रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाउँछौँ,” उनले भने, “रेडपाण्डा अवलोकनका लागि पर्यटक भित्र्याउने सम्भावना पनि छ।” रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा पालिङ्गो र टोट्का परेका रुख, गुर्जा, लुलाङ र मुनाको जंगलमा पर्याप्त छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो। रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ। रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई एक वर्षदेखि १० वर्ष कैद र रु एक लाखदेखि रु पाँच लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ। 

पछिल्लो अध्ययनअनुसार हाब्रेको संख्या नेपालमा पाँच सयदेखि एक हजार वटा रहेको अनुमान गरिए पनि २३७ वटाको मात्र यकिन भएको छ। विश्वमा नेपाल, चीन, भारत, भुटान र म्यानमारमा मात्र हाब्रेको वासस्थान छ। नेपालमा एलुरेन्स फ्युजन्स जातको हाब्रे रहेको छ। नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ।