अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। दिवसको यस वर्षको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।

काठमाडौँ– मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै मंगलबार विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ। 

हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। दिवसको यस वर्षको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।

नेपालमा २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको सरंक्षण र सम्वर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ। ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो।

यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्पष्ट पारेको छ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र ५०० भन्दा बढी भाषामा उपलब्ध छ। नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्वर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ।