रौतहटमा स्कर्पियो दुर्घटना, ८ जनाको मृत्यु

बाराको गढीमाई दर्शन गरेर फर्किँदै गरेका दर्शनार्थी बोकेको स्कर्पियो चन्द्रपुर–४ धन्सारपुल नजिक जंगलमा मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।

काठमाडौँ– रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा स्कर्पियो दुर्घटना हुँदा चालकसहित आठ जनाको मृत्यु भएको छ। 

चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर फर्किँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो मंगलबार बिहान दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईले जानकारी दिए। जिप अनियन्त्रित भई रुखमा ठोकिएको थियो। 

दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको डीएसपी राईले जानकारी दिए। मृतकको चन्द्रनिगाहपुर अस्पतालमा सनाखत गरिएको हो। 

दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।