पुसमा निक्षेपको ब्याजदर यथावत् रहने

६ महिनापछि गत असोजमा बैंकहरूले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए।

काठमाडौँ- वाणिज्य बैंकहरूले पुषमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन्। 

सोमबार बसेको बैंकर्स संघको बैठकले पुसमा पनि ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो। 

पुसका लागि पनि बैंकहरुले मंसिरकै ब्याजदर लाई निरन्तरता दिने निर्णय भएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले जानकारी दिए।

यससँगै व्यक्तिगत मुद्दती निक्षेपको १२.१३३ प्रतिशत, बचतको ९.१३३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको १०.१३३ प्रतिशत ब्याजदर कायम हुने भएको छ। 

६ महिनापछि गत असोजमा बैंकहरूले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए। कात्तिक र मंसिरमा सोही ब्याजदर लागु गरेका वाणिज्य बैंकले पुषमा पनि त्यसलाई निरन्तरता दिने भएका हुन्। 

पछिल्लो समय बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको राष्ट्र बैंकले जनाएको छ।