रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र जोड्न सक्यो। 

काठमाडौँ– नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ। कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनमा मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो। 

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र जोड्न सक्यो। 

चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए। कप्तान कुशल मल्लले १७ बलमा २० रन तथा रवि बोपाराले १६ बलमा १२ रन बनाए। 

लुम्बिनीका लागि कप्तान रोहितले ४ विकेट लिए। रामोन सिमोन्डसले २ तथा साद विन जफर र अभिषेस गौतमले समान १–१ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। 

लुम्बिनी लायन्सका लागि रोहितले ५७ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ८० रन बनाए। जफरले ३५ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५२ रनको योगदान दिए।

चितवनका रिजन ढकालले ३ तथा कुशल मल्ल र रञ्जित कुमारले समान १–१ विकेट लिए।