गुगलले बनायो नयाँ ‘कम्प्युटिङ चिप’, १० सेप्टेलियन वर्ष लाग्ने काम मिनेटभरमै

विलोको सहायतामा क्वान्टम कम्प्युटर यति शक्तिशाली हुनेछन् कि सुपर कम्प्युटरले खर्बौं वर्ष लगाएर गर्ने काम क्षणभरमै गर्न सक्नेछन्।

काठमाडौँ– गुगलले सोमबार नयाँ क्वान्टम कम्प्युटिङ चिप ‘विलो’ ल्याएको छ। यसले क्वान्टम कम्प्युटर प्रणाली (कम्प्युटिङ)लाई अझ शक्तिशाली बनाउने गुगलको दाबी छ। विलोको सहायतामा क्वान्टम कम्प्युटर यति शक्तिशाली हुनेछन् कि सुपर कम्प्युटरले खर्बौं वर्ष लगाएर गर्ने काम क्षणभरमै गर्न सक्नेछन्।

गुगल क्वान्टम एआईका संस्थापक हार्टमुट नेभेनका अनुसार एउटा तीव्र गतिको सुपर कम्प्युटरले १० सेप्टिलियन वर्ष लागाउने काम विलोले पाँच मिनेटमै गर्न सक्छ। १० सेप्टिलियन वर्ष भनेको १० का पछाडि २५ शून्य हो। यो समय ब्रह्माण्डको आयु १३.८ बिलियन वर्षभन्दा पनि करोडौँ गुणा बढी छ। क्वान्टम कम्प्युटरले अब कति गाह्रो र जटिल काम पनि गर्न सक्नेछन् भन्नका लागि सेप्टेलियन वर्षको गणनासँग तुलना गरिएको हो।

नेभेन्सको ३०० जनाको टोलीले असम्भव समस्या समाधान गर्न सक्ने क्वान्टम कम्प्युटर बनाउने लक्ष्य राखेको छ। सुरक्षित फ्युजन ऊर्जा, जलवायु परिवर्तन रोक्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ। साथै औषधिको खोज र एआईका क्षेत्रमा यसले अभूतपूर्व खोज र विकास गर्न र भविष्यमा धेरै क्षेत्रमा क्रान्ति ल्याउन सक्ने वैज्ञानिकहरूको विश्वास छ।

क्वान्टम अनुसन्धानलाई अमेरिका र चीन दुवैले रणनीतिक क्षेत्र मानेका छन्। दुवैले यसमा ठूलो लगानी गरेका छन्। योसँगै अमेरिकाले यस प्रविधिको निर्यातमा नै प्रतिबन्ध लगाएको छ।

क्वान्टम टेक्नोलोजी विशेषज्ञ ओलिभर इजरातीका अनुसार पछिल्लो पाँच वर्षमा यस क्षेत्रमा निजी र सरकारी लगानी २० अर्ब डलर पुगेको छ। एआई पनि यस दिशामा महत्त्वपूर्ण प्रविधि साबित भइरहेको छ। 

क्वान्टम कम्प्युटिङ के हो?
क्वान्टम कम्प्युटिङ एक गणना प्रविधि हो जुन हामीले प्रयोग गरिरहेका परम्परागत कम्प्युटरहरू भन्दा धेरै फरक छ। सामान्य कम्प्युटरहरू ‘बिट्स’मा काम गर्छन्, अर्थात् बाइनरी तरिकामा काम गर्छन्। तिनीहरू डेटाका साना टुक्राहरू (बिटहरू) प्रयोग गरेर काम गर्छन्, जुन या त १ वा ० हुन्। तर क्वान्टम कम्प्युटरको डेटा (क्युबिट्स) एकैसाथ १ र ० दुवै हुन सक्छ। यसबाट, यसले एकैसाथ धेरै सम्भावित परिणामहरू निकाल्न सक्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, गुगलको यो चिप (विलो) गल्तीहरू कम गर्न अधिक सक्षम छ। यसका लागि विगत ३० वर्षदेखि अनुसन्धानकर्ताहरू खोज गरिरहेका थिए। यो सफलता जर्नल ‘नेचर’ मा प्रकाशित भएको थियो। जसमा थप क्युबिट्स थप्दा त्रुटिहरू कम भएको देखाइएको छ। त्यसैले यो क्वान्टम कम्प्युटरलाई शक्तिशाली बनाउनका लागि आवश्यक कदम हो।

गुगलका क्वान्टम हार्डवेयर निर्देशक जुलियन केलीका अनुसार त्रुटि सुधार नै ‘अन्तिम लक्ष्य’ हो र गुगल यस मार्गमा आत्मविश्वासका साथ अगाडि बढिरहेको छ। भविष्यमा क्वान्टम कम्प्युटिङ जटिल समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ, जस्तै नयाँ औषधिहरू पत्ता लगाउन, मौसम पूर्वानुमान, साइबर सुरक्षा, र ठूलो डाटा विश्लेषण। त्यसैले यसलाई भविष्यको प्रविधिको रूपमा लिइएको छ।

यद्यपि, क्वान्टम कम्प्युटरहरू अझै प्रारम्भिक चरणमा छन्। तिनीहरूलाई बनाउन र चलाउन निकै चुनौतीपूर्ण छ, किनभने क्युबिट्स धेरै संवेदनशील छन्। यो प्रविधि खर्चिलो पनि छ। तर वैज्ञानिकहरूले आगामी दिनमा यस प्रविधिले सम्पूर्ण विश्वलाई नै परिवर्तन गर्न सक्ने विश्वास गरेका छन्। –एजेन्सीहरूको सहयोगमा