धनुषा र महोत्तरीमा गहुँखेतीका लागि डीएपी मल अभाव

पहिलो चरणमा प्राप्त डीएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए।

जनकपुरधाम– धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि डीएपी मल अभाव भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डीएपी मल खपत भइसकेको छ।

दुवै कार्यालयबाट पहिलो चरणमा प्राप्त डीएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए।

पहिलो चरणमा धनुषामा ७५४ मेट्रिकटन तथा महोत्तरीमा ७१६ मेट्रिकटन डीएपी मल बिक्री भइसकेको छ। कृषि ज्ञान केन्द्र र स्थानीय तहको सिफारिसमा उक्त मल सहकारी संस्थाहरूमार्फत किसानलाई बिक्री गरिसकेको निमित्त प्रमुख साहले बताए।

हाल यी दुई जिल्लामा गहुँखेतीका लागि थप पाँच हजार मेट्रिकटन डीएपी मल आवश्यक रहेको जनाइएको छ। थप डीएपी मल माग गरिए पनि प्राप्त नभएको प्रमुख साहले बताए। अन्तर्राष्ट्रियस्तरमा डलरको मूल्य बढेकाले ठेकेदार कम्पनीले ढुवानी गर्न नसक्दा मल अभाव भएको उनको भनाइ छ।

साल्ट ट्रेडिङ कर्पोरेसन जनकपुरमा पनि डीएपी मल मौज्दात नरहेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए। “हामीसँग युरिया मल मौज्दात छ, तर डीएपी छैन,” उनले भने।

ती दुवै जिल्लाका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत मल बिक्री वितरण गर्दै आएको छ।

धनुषामा ३३ हजार ५०० हेक्टर जमिनमा गहुँखेती हुँदै आएको छ। उक्त क्षेत्रफलमा भएको खेतीबाट एक लाख ५०० मेट्रिकटन गहुँ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनुषाका सूचना अधिकारी प्रदीप यादवले बताए।