भन्सार छलीको गाडी प्रयोगको आरोपमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकसहित तीन जनाबाट भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजार रुपैयाँ बरामद भएको जनाएको छ।

काठमाडौँ– प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजारसहित तीन जनालाई पक्राउ गरेको छ। 

भन्सार छलीको गाडी निर्बाध रूपमा गुडिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट एक चिनियाँ नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकालाई मंगलबार सार्वजनिक गरेको छ। सो प्रकरणमा अर्घाखाँचीका ४३ वर्षीय चिरञ्जीवी पौडेल, धनुषाका ३० वर्षीय रञ्जन जैसवाल र २४ वर्षीय चिनियाँ नागरिक सुइजुम्लुङ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

प्रहरीले उनीहरूको साथबाट भन्सार छलीको बा २४ च ३२९३ नम्बरको गाडी, बीएए ७७७९ नम्बरको कार, १४ लाख ६० हजार नगद, ल्यापटप पाँच थान, मोबाइल आठ थान र स्मार्ट वाच २३ थान बरामद गरेको छ। 

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी यूएईबाट पक्राउ
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (यूएई)बाट पक्राउ परेका छन्।

एनसीबी अवुधावी यूएईको समन्वयमा पक्राउ परेका रुकुम पश्चिम आठबिसकोट नगरपालिका–५का नीराजन नेपालीलाई सम्बन्धित मुद्दामा कारबाही प्रयोजनार्थ मंगलबार  नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत साउन ७ गते रेड नोटिस जारी भएको थियो।

यसैगरी प्रहरीले घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ बस्ने २६ वर्षीय धर्म तामाङ र ३९ वर्षीय टीकाराम तामाङ रहेका छन्।

पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलबाट खटिएको प्रहरीले धर्मलाई लमजुङ मर्स्याङ्दी गाउँपालिका र टीकारामलाई कास्कीको पोखराबाट पक्राउ गरेको हो।

उनीहरूले पीडितलाई ‘फ्री भिसा फ्री टिकट’मा कुवेतमा मासिक १२० केडी कमाई हुने घरेलु काममा लगाइदिने प्रलोभनमा पारी २०८० साउन ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई र त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याई ९०० केडीमा बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।