द्वन्द्वका कारण २०४६ सालमा बन्द भएको टीकापुर विमानस्थलमा नियमित हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिट सुनिश्चितसहित सहमति गरेको छ।
काठमाडौँ– कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ। विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मंसिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो।
पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियतामा विमानस्थल सञ्चालनमा आउन लागेको हो। विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले जानकारी दिए। विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एयरले परीक्षण उडान गरिसकेका छन्।
विमानस्थलमा यही मंसिर ३० गते आइतबार पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी पुस ४ गते बिहीबार हुनेछ। त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक/एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ।
तालिकाअनुसार यति एयरलाइन्सले काठमाडौँ–नेपालगन्ज र नेपालगन्जबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगन्ज–टीकापुर उडान भर्नेछ। टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगन्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौँ ल्याउनेछ। यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एक तर्फी भाडा नौ हजार रुपैयाँ निर्धारण गरिएको छ।
टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ। साथै यात्रुहरूले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन्। टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौँको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ।
विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगन्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ। टीकापुर विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारको छेकबार छ भने धावनमार्गमा ग्राभेल गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने बताए।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रूपमा विकास गर्न सकिने बताए। “टीकापुर विमानस्थलमा भएको सम्पत्ति लामो समयदेखि प्रयोगमा आउन सकेको छैन, विमानस्थल सञ्चालनमा आएपछि त्यहाँको आर्थिक तथा पर्यटकीय गतिविधि बढ्नेछ,” उनले भने।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले काठमाडौँ–नेपालगन्ज–टीकापुर र टीकापुर–नेपालगन्ज–काठमाडौँ उडानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार प्रत्येक साता आइतबार र बिहीबार उडान हुनेछ। काठमाडौँबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगन्जका लागि उडान गर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ। सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगन्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौँ आउनेछ।
त्यसैगरी काठमाडौँदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ। यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ। साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ। अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
