सत्ता गठबन्धनमै रहने लोसपाको निर्णय

अध्यक्ष महन्थ ठाकुरले लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको बताएका छन्।

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्ता गठबन्धनमै रहने भएको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने आवश्यकता औँल्याएको हुन्।

लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको उनले जानकारी दिए। उनले भने, “सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ। सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, कमसेकम राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ।”

उनले कोभिड–१९ महामारीलगायतका कारण जुनसुकै सरकार बने पनि राजनीतिक स्थिरता र मुलुकको समग्र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिए।

अध्यक्ष ठाकुरले सत्ता गठबन्धनमा सहभागी हुनेलगायत समसामयिक विषयमा मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी हुने पनि जानकारी दिए। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम मंगलबार सार्वजनिक हुने र त्यसपछि नयाँ सरकार गठनका लागि दलहरूले पहल कदमी अघि बढाउने बुझिएको छ।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले सत्ता गठबन्धनमा सहभागी हुनेबारे पार्टीका शीर्ष नेताहरूको बैठकले निर्णय गरिसकेको बताए। उनले भने, “हिजो हामी निर्वाचनमा पनि गठबन्धन गरेर गएका थियौँ, अहिले निर्वाचनपछि पनि स्वाभाविक रूपमा सत्ता गठबन्धनमा रहन्छौँ, नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहन्छ।”

सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको छिट्टै कार्यकारिणी समितिको बैठक बोलाइएको पनि नेता भण्डारीले जानकारी दिए। लोसपाको कार्यकारिणी समितिको बैठक पुसको पहिलो साता बस्ने जनाइएको छ। लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ।