किंवदन्तीअनुसार पनौतीबाट शुरू भएको योमरीले ‘स्टेपल फास्ट’को रूप लिइरहेको छ। बिहानको ब्रेकफास्टदेखि दिउँसोका खाजामा समेत उपयुक्त हुने योमरी नेवारी खाना पारखीको रोजाइमा पर्छ।
काभ्रे– पनौतीका स्थानीय सत्यनारायण कर्माचार्य छोराछोरी तथा नातिनातिसँग बसेर योमरी खान पाउँदा खुब रमाउँछन्। समय बितेको चालै पाउँदैनन्। योमरी बनाउँदै गरेका नातिनातिना तथा छोराबुहारीको अनुहारमा उनी आफ्नै छवि पाउँछन्। कुनै समय उनी आफै पनि बुबाबाट यसरी नै योमरी बनाउन सिक्थे।
अहिले उनको तेस्रो पुस्ता यसमा अग्रसर छन्। “बाबुनानीलाई सिकाइ रहनैपर्दैन, देख्दै/हेर्दै बनाउन थाल्छन्। मैले पनि त्यसरी नै सिकेको हो। पुस्तान्तरण यसरी नै त हुने हो,” उनी भन्छन्।
उमेरले ६९ पुगेका कर्माचार्य स्वादिलो योमरी बन्नका लागि योमरी धेरै बाक्लो अथवा पातलो बनाउन नहुने सल्लाह दिन्छन्। “योमरी ठिक्क पातलो हुँदा चाकु, तिलको स्वाद पिठोसँग मिल्छ र स्वादिलो बन्छ। मोटो योमरीमा स्वाद छिर्न पाउँदैन,” उनले भने।
उनी हरेक वर्ष योमरी पुन्हि आफ्नो परिवारसँग मनाउँछन्। आफ्नो जीवनकालको ६ दशकमा योमरी बनाउने र योमरी पुन्हि मनाउने चालचलनमा खासै भिन्नता आएको महसुस नगरेको बताउँछन् उनी।
मंसिर पूर्णिमाको दिन पर्ने योमरी पुन्हि नयाँ भित्र्याएको धानलाई चामलमा परिणत गरी पिठोबाट बनाउने गरिन्छ। उक्त पिठोबाट गणेश, कुबेर लगायतका देवताका आकृतिको योमरी बनाउने गरेको उनी सम्झन्छन्।
देवताको आकृतिको योमरी भने खानेभन्दा पनि धानका भकारीमा पूजा गरेर राख्ने गरिन्छ। यसले धनधान्य र श्री भित्र्याउने जनविश्वास छ। पून्हिको चौथो दिन भकारीमा रहेको प्रसाद निकालेर ग्रहण गर्ने चलन रहेको उनले बताए। “सोही दिन विवाह भएका छोरीचेलीलाई नखट्या (चाडपर्वपछिको भोज) मा बोलाइन्छ,” कर्माचार्यले भने।
योमरीको शुरुआत पनौतीबाटै भएको किंवदन्ती छ। पनौतीबाटै योमरी उत्पत्ति भएको विषयमा भने आफूलाई खासै ज्ञान नभएको उनले बताए।

यस विषयमा पनौती मूल जात्रा व्यवस्थापन समितिका कृष्णधन कर्माचार्यले पनौतीमा प्रचलित किंवदन्ती सुनाए। उनले सुनाएको किंवदन्तीअनुसार, सुचन्द्र नामका एक किसान तत्कालीन पाञ्चाल (पनौती)मा बस्थे। खेती किसानीबाट घरपरिवार धान्थे। एक पटक अन्न (धान) बाली भित्र्याएपछि श्रीमती कृतालाई सोही धानबाट मीठो परिकार बनाउन आग्रह गरे। कृताले पनि चामलको पीठो मुछेर त्यसभित्र चाकु र तिलको मिश्रण हालेर परिकार तयार पारिन्। सुचन्द्रलाई उक्त परिकार अत्यन्त मिठो लाग्छ र मुखबाट बोली निस्कन्छ, योमरी।
नेपाल भाषामा ‘यो’ को अर्थ मन पर्ने र ‘मरी’को अर्थ रोटी हो। यसरी मनपर्ने रोटीका रूपमा योमरीलाई बुझिन्छ। यो देखिरहेका धनका देवता कुबेरले भिक्षुको रूप बदलेर भिक्षा माग्न पुग्छन्। सुचन्द्र र कृताले उनलाई सोही योमरीको भोजन गराउँछन्। सामान्य किसानको उदारता देखेर प्रसन्न भएका कुबेरले आफ्नो वास्तविक स्वरूपमा आएर हरेक मार्ग शुक्ल पूर्णिमाका दिन योमरी बनाएर भकारीमा राखी गणेश, कुबेर र सुभद्रा देवीको पूजा गरेमा घरमा फलिफाप हुने आशीर्वाद दिनेगरेको किंवदन्ती छ।
सोही कथनअनुसार हालसम्म पनि योमरी बनाउने, खाने, खुवाउने र पूजा गर्ने चल्दै आएको पनौतीवासी बताउँछन्। उनीहरू योमरी पुन्हिको शुरूआतको किंवदन्तीसँगै योमरी पुन्हिका दिन मनाइने देउसी परम्पराको पनि गौरवसाथ वर्णन गर्छन्। समितिका अध्यक्ष कर्माचार्यका अनुसार धेरै नेवार समुदायमा यो चलन हटिसक्दा पनौतीमा भने अझै प्रचलनमा छ। यस दिन अन्य सम्प्रदायले तिहारमा देउसी खेलेजस्तै गरी योमरीको गीत गाउँदै घरघरमा माग्न जाने गरिन्छ।
उनका अनुसार केटाकेटी हाकुपटासीमा सजिएर ‘त्यछिं त्य वकर्छी त्य,.......यःमरी च्वामु, उके दुने हामु ब्युसा माकु, मब्युसा फाकु ब्युसा ल्यासे, मब्युसा बुढीकुटी’ गीत गाउँदै घरघरमा योमरी माग्न पुग्छन्। जसको अर्थ सारांशमा ‘पाकिरहेको मिठो योमरी देऊ, योमरी दिएमा तिमी सुन्दर युवती, नदिए बुढी’ भन्ने हुन्छ। देउसी जसरी खेल्न जाँदा घरधनीले योमरीसहित धान, चामल, पैसा, पाकेको फलफूल दिन्छन्।
यसको अर्को सांस्कृतिक महत्व पनि छ। जस्तो कि, योमरी गर्भवतीलाई खुवाउनुपर्छ भन्ने गरिन्छ। यसबाहेक व्रतबन्ध, २, ४, ६, ८, १० गरी १२ वर्षसम्मको जन्मदिनमा योमरीको माला बनाउने चलन नेवार समुदायमा छ। पनौतीमा यसै दिन काठे गणेशको पनि जात्रा पनि हुने कर्माचार्य बताउँछन्।
योमरीको व्यवसायीकरण
पनौती बसपार्कबाट नेवार बस्ती छिर्ने मुख्य ढोकामा ठूलो फ्लेक्स देखिन्छ। फ्लेक्समा लेखिएको छ- ‘हाट बजार एवं योमरी महोत्सव’। पनौतीबाहेक अन्य नेवार बस्तीमा योमरी पुन्हिका दिन कार्यक्रम गरी मनाउन थालेको लामो समय भइसक्यो। तर पनौतीमै यसरी बृहत् रूपमा पहिलो पटक महोत्सव आयोजना भयो। जसको आयोजक हो, पनौती मूल जात्रा व्यवस्थापन समिति।

“अघिल्ला वर्षमा सानातिना कार्यक्रम र हाट बजार लाग्यो, यसपटक भने हामीले महोत्सव नै आयोजना गरेका हौँ,” अध्यक्ष कर्माचार्य भन्छन्, “महोत्सवका लागि स्टल लायकु क्षेत्रमा तयारी गरेका छौँ।” यो महोत्सवमा बालबालिकालाई योमरीका बारेमा जानकारी दिनुका साथै चित्रकलालगायतका सिर्जनात्मक कलासमेत सिकाइयो।
हुन त योमरी नेवार समुदाय मात्र नभई गैरनेवार समुदायमा पनि उत्तिकै रुचाइन्छ। योमरीको रोजाइ र रुचि दैनिक खानपिनमा समेत जोडिन थालेको छ। सांस्कृतिक पृष्ठभूमिबाट आएको योमरीको कथाले अहिले व्यावसायिक टेको टेकिसकेको छ।
अभियन्ता आलोकसिद्धी तुलाधर कीर्तिपुरस्थित किपु हाउसमा योमरी बनाउने वर्कसप चलाइरहेका छन्। यो सशुल्क वर्कसप शनिबार सञ्चालन हुन्छ। जसमा राम्रै संख्याका मानिसको उपस्थिति छ।
योमरी नेवाः परिकारमा सबैभन्दा रुचाइएको परिकार हो। यसका लागि अहिले तिथिमिति कुरिरहन नपर्ने खोकनाका व्यवसायी हरिनाथ डंगोल बताउँछन्। उनको लाछिः नामको आफ्नै रेस्टुराँ छ, जहाँ नेवारी खाना तथा परिकार पाइन्छ। उनको रेस्टुरेन्टको मेन्युमा योमरी पनि समावेश छ। छिटोछरितोमा योमरी बनाउन सजिलो हुने उनी बताउँछन्।

“योमरी बिहान चियाको सेटमा पनि मिल्छ। दिउँसो खाजाका रूपमा पनि खान मिल्छ,” उनले भने, “हाम्रोमा चिया, कफी खाने चलन बढेको छ। हुन त त चिया कफीसँग ब्रेड तथा अन्य ब्रेकफास्ट छन्। तर यस्ता मौलिक परिकार सांस्कृतिक मात्र नभई स्वस्थवर्द्धक पनि हुन्छन्।”
खाना पारखीमाझ प्रिय बन्दै गएको योमरीले अन्य स्टेपल (मुख्य) फास्टफुड बन्न सक्ने सम्भावना उनी देख्छन्। हरेक वर्ष योमरी पूर्णिमाको दिन उनी लाछिःमा योमरी बनाउने कार्यक्रम गर्छन्। “यो चाड नै त्यस्तो हो कि सबैलाई एक स्थानमा ल्याउँछ। जो कोही सहभागी पनि उत्सुकतासाथ आउनुभएको हुन्छ,” उनी भन्छन्।
पनौतीका हरिनाथ डंगोलका अनुसार योमरी पुन्हि प्रत्यक्ष रूपमा कृषि पेसासँग सम्बन्ध छ। यस चाडले कृषिको महत्त्व र प्रवर्द्धन प्रस्ट्याउने उनी बताउँछन्। जाडो महिनामा चाकुले शरीरमा न्यानोपन दिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
